सरकारप्रति चीनको सदिच्छा र शुभेच्छा छः प्रधानमन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
लेखनाथ पाण्डे, काठमाडौं, पुस १६-  वर्तमान सरकारले शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउन अघि बढाएका काममा चीनको सदिच्छा र शुभेच्छा रहेको प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन्।

 उत्तरी छिमेकी चीनको ६ दिने सद्‌भावना भ्रमण पूरा गरी बिहीबार राति स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै भने, 'यस पटकको भ्रमण दुई देशबीचको सम्बन्ध अझै प्रगाढ आपसी विश्वास बढाउन र सम्बन्धको दायरा फराकिलो बनाउन सफल भयो।'

माओवादीसहित सबै राजनीतिक दल मिलेर शान्तिप्रक्रिया निश्कर्षमा पुर्‍याउने विश्वास चीनले लिएको प्रधानमन्त्रीले बताए।

उनले भने,' तिब्बतको सम्बन्मा चीनको अत्यन्त ठूलो चासो रहेको पायौँ। प्रधानमन्त्रीले चीनलाई तिब्बतविरोधी गतिविधि नेपालमा नहुने कुरामा आश्वस्त पार्दै तिब्बत र ताइवान चीनको अभिन्न अंग भएको नेपालको अडान दोहोर्‍याएको बताए।

४९७ सामानलाई शून्य भन्सार दरमा चिनियाँ बजारमा पहुँच दिन नेपालले गरेको आग्रहमा चीनले प्राथमिकताका आधारमा भन्सार छुट दिँदै जाने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीले बताए। प्राथमिकताको क्रम नेपालले तोक्नेछ।

जलविद्युत, विकास, पूर्वाधार निर्माणमा लगानी गर्न चिनियाँ पक्षलाई आह्वान गरेको र चीन त्यसमा सकारात्मक रहेको उनले बताए।

चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई नेपालको राजकीय भ्रमणका लागि र प्रधानमन्त्री वेन जियाबाओलाई नेपालको औपचारिक भ्रमणको निम्ता गरेकोमा उनीहरुले निम्तो स्वीकार्दै 'उपयुक्त समयमा शीघ्र गर्ने' बताएको प्रधानमन्त्रीले बताए।

चिनियाँ समकक्षी वेन चियावाओको निमन्त्रणामा गत शनिबार तिब्बतको ल्हासा हुँदै चीन भ्रमण थालेका प्रधानमन्त्रीले ऐतिहासिक सहर शियान, राजधानी बेइजिङ र औद्यौगिक सहर संघाई गएका थिए। उनी सङघाइबाट हङकङ हुँदै शनिबार राति ११ बजे त्रिभुवन विमानस्थल उत्रिएका हुन्।

भ्रमण दलमा उपप्रधान तथा परराष्ट्र, अर्थ र उर्जामन्त्री, ती मन्त्रालयका सचिव, प्रधानमन्त्री पत्नी गायत्री नेपाल, परराष्ट्र सल्लाहकार, उद्योगी-व्यापारी लगायत ३६ सदस्यीय थिए। प्रधानमन्त्रीसँगै उनीहरू पनि फर्किएका छन्।

प्रधानमन्त्री नेपालले चिनियाँ राष्ट्रपति हु चिन्ताओ, प्रधानमन्त्री वेन चियावाओ, राष्ट्रिय जनकांग्रेसका अध्यक्ष उ पाङको, कम्युनिष्ट पार्टीका बैदेशिक विभाग प्रमुख वाङगु च्या रुईसँग भेट गरी नेपाल र चीनबीचका सम्बन्ध र सहयोग आदान-प्रदानबारे वार्ता गरेका थिए।

प्रधानमन्त्रीले नेपालले लगानी मैत्री नीति अपनाएको र मुलुकमा प्रत्यक्ष बैदेशिक लगानी आकर्षित गर्न चिनियाँ उद्योगी व्यवसायीलाई आग्रह गरेको जानकारी दिए। उदाउँदो आर्थिक शक्ति राष्ट्र चीनका सरकारी र निजी क्षेत्रलाई नेपालको अपार जलस्रोत, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका थिए।

चीन भ्रमणका क्रममा चीनले नेपाललाई सालिन्दा १५ करोड युआन (करिब पौने २ अर्ब रूपैंयाँ) बराबरको आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यसअघि चीनले वार्षिक १० करोड युआन बराबरको आर्थिक सहयोग गर्दै आएको थियो।

त्यसैगरी, चीन र नेपालका झण्डै १ सय युवाले वर्षेनी एक अर्का देशको भ्रमण गरी आपसी संस्कृति, विकास, प्रविधिलगायत विषयवस्तुको जानकारी लिने सम्बन्धी 'युथ एक्सचेन्ज' सम्बन्धी सझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

गत मंगलबार चिनियाँ समकक्षी जियाबाओसँग द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्य अनुसार दुई देशबीच राजनीतिक र व्यापारिक क्षेत्रमा सम्बन्ध अभिबृद्धि गरी दुई पक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने सहमती समेत भएको छ।

स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्रीसहितका अधिकारीहरूले नेपालमा आधारभूमि बनाएर भइरहेका चीनविरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि आग्रह गरेका थिए। प्रधानमन्त्री नेपालले भ्रमणका क्रममा यस्ता गतिविधि नियन्त्रणमा नेपाल सरकार निरन्तर सक्रिय रहेको र रहने विश्वास दिलाए।

प्रधानमन्त्री नेपाल र चिनियाँ सककक्षीबीचको भेटवार्तामा चीनले नेपालको 'गरिबी निवारण, स्वास्थ्य, शिक्षा कृषि तथा पूर्वाधार विकासलगायत सहयोग गर्ने' सहमती भएको परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालबाट तिब्बत हुँदै चीन निकासी हुने ४ सय ९७ सामग्रीमा भन्सार छुट दिने नेपालले गर्दै आएको आग्रहलाई चिनियाँ पक्षले 'बिस्तारै भन्सार हटाउँदै लैजाने' वक्तव्यमा उल्लेख छ। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति