बन्दको कार्यक्रम ४ बजेपछि सकियो

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, पुस १७ (नागरिक)- आदिवासी/जनजाति वृहत् मोर्चाको आह्वानमा भएको आजको नेपाल बन्द अपराह्न ४ बजेपछि सकिएको छ। 'चार बजेपछि हाम्रो कार्यक्रम सकियो,' आयोजक मोर्चाका सदस्य दिनेश घलेले नागरिकन्युजलाई बताए।
बन्दको कार्यक्रम सकिएपछि राजधानी काठमाडौँमा सवारी साधन चल्न थालेको छ। 

आदिवासी/जनजाति बृहत मोर्चा नेपालले संविधानसभामा स्वतन्त्र, पुर्व जानकार मञ्जुरीको संयन्त्र निर्माण गरी सयुक्त राष्ट्र संघीय महासन्धी १ सय ६९ कार्यान्वयन गर्न माग गर्दै शुक्रबार नेपाल बन्दको आह्वान गरेको थियो।नयाँ संविधानमा आदिवासी/जनजातिको आत्म निर्णयको अधिकार, सामूहिक अधिकार, ऐतिहापसिक पृष्ठभुमि र पुख्यौली भूमिको पहिचानसहितको जातीय स्वायत्तता लगायतका विषयहरु पुस १९ गतेभित्र संविधानको मस्यौदामा समावेश गर्न माग राख्दै मोर्चाले विगत एक महिनादेखि आन्दोलन जारी राखेको छ।

शुक्रबारको बन्दका क्रममा औषधि पसल, प्रेस, मानवअधिकारकर्मी, रेडक्रस र कुटनीतिक नियोगका सवारी साधनको आवगमनमा कुनै रोक अवरोध नगरिने बिहीबार विज्ञप्ति जारी गरी मोर्चाले जनाएको थियो।

 
बन्दले माओवादी बैठक स्थगित
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समितिको आज बस्नुपर्ने बैठक आदिवासी जनजातिको नेपाल बन्दको कारण स्थगित भएको छ।

सो बैठक हिजै अपराह्न तीन बजे बस्नु पर्ने बैठक पार्टीको पोलिटव्युरो बैठक सम्पन्न नभएको कारण आज बस्नुपर्ने थियो। तर आज बन्द भएका कारण भोलि बिहान एघार बजेसम्मका लागि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव विकेश श्रेष्ठले जानकारी दिए। रासस 

 


बन्द फिर्ता लिन आग्रह

यसैबीच आदिवासी/जनजाति बृहत् मोर्चाले शुक्रबार आयोजना गरेको बन्द कार्यक्रम फिर्ता लिन गृह मन्त्रालयले आग्रह गरेको थियो।

गृह मन्त्रालयले  विज्ञप्ति प्रकाशन गरी इस्वी सन्अनुसारको नव वर्षको दिन पारेर आह्वान गरिएको बन्द कार्यक्रमले नयाँ वर्षलाई चाडका रुपमा मनाउने समुदायको स्वतन्त्रता, रीति र संस्कृति सञ्चालन गर्न पाउने मौलिक हकमा आघात पुग्न जाने भएकाले सो बन्द कार्यक्रम फिर्ता लिन आग्रह गरेको राससले जनाएको छ।

बन्दका बखत कुनै किसिमको अप्रिय घटना हुन नपाओस् भनी पर्याप्तमात्रामा सुरक्षाकर्मीको परिचालन मन्त्रालयबाट गरिएको हुँदा सम्पूर्ण देशवासीलाई आ-आफ्नो पेसाव्यवसाय सदाझैँ निर्धक्क भई सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याई तोकिएको समयावधिभित्रै संविधान निर्माण गरिसक्ने महत्वपूर्ण कार्यमा देश अघि बढिरहेको बेला बन्द, हडताल आदिजस्ता क्रियाकलापले गम्भीर असर पुर्‍याउने भएकाले मानवअधिकार, लोकतन्त्र र शान्ति सुव्यवस्था कायम राख्न सरकार, दृढ रहेको जनाइएको छ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति