प्रधानमन्त्रीद्वारा ध्वजावाहकको ‘बेवास्ता'

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, पुस १७ (नागरिक)- राष्ट्रिय ध्वजाबाहकको नियमित उडान हुँदाहुँदै प्रधानमन्त्रीको टोली बिहीबार राति हङकङदेखि ड्रागन एयरबाट बंगलादेश हुँदै काठमाडौं फर्केको छ। नेपाल वायुसेवा निगमको बिहीबारको नियमित उडानभन्दा दश पन्ध्र मिनेटको अन्तरालको ड्रागन एयरमा सवार हुँदा प्रधानमन्त्रीको भ्रमण टोली ढाकामा एक घन्टा रोकिनुपरेको थियो। यद्यपि ढाका विमानस्थलमा बंगलादेशका विदेश मन्त्री टिपु मोनी र प्रधानमन्त्रीका विशेष दूतले प्रधानमन्त्रीको स्वागत गरेका थिए।

३७ जनाको चीन भ्रमण टोली विदेशी विमानबाट अनावश्यक रूपमा बंगलादेशको बाटो ढिलो गरी राजधानी फर्किँदा ध्वजाबाहकको जहाजको १९० सीटमा जम्मा ४० जना यात्रु थिए। निगमको काठमाडौं-हङकङ उडानका क्याप्टेन युवराजकुमार भट्टराईले भने प्रधानमन्त्रीबाटै ‘राष्ट्रिय ध्वजावाहकलाई वेवास्ता गरिएको र चुनौती दिइएको' प्रतिक्रिया दिए।

नेपाल एयरलाइन्स पाइलट एसोसियसनका अध्यक्षसमेत रहेका भट्टराईले हङकङ उत्रेपछि नागरिकसँग भने, ‘सरकार प्रमुखले नै यसरी राष्ट्रिय ध्वजाबाहकको वेवास्ता गरेर हामीलाई के सन्देश दिनुभएको हो बुझ्न सकिएन। यसबाट राज्यको पैसा अनावश्यकरूपमा विदेशी वायुसेवामा खर्च भयो। हामीले प्रधानमन्त्रीको भीभीआइपी उडान गराउन पनि पाएनौं।'

प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार साङ्घाइबाट हङकङ आइ करीब दुई घन्टा बिताएका थिए। प्रधानमन्त्रीले नयाँ वर्ष २०१० को पूर्वसन्ध्यामा स्वदेश फर्किन हङकङमा एक रात बस्ने पूर्व निर्धारित कार्यक्रम छोट्याएको उनका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन्। शुक्रबार निगमको हङकङ उडान छैन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति