आगामी फागुनमा तय गरिएको विस्तारित बैठकमा लाने पार्टी कार्यदिशामा श्रेष्ठ संस्थापन पक्षको 'बढी वकालत' गरेर भट्टराईविरुद्ध उत्रेपछि उनीहरूबीच बैठकमै चर्काचर्की परेको हो।
अहिले अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'जनविद्रोह'को तयारीमा जाने कार्यदिशा लिनुपर्ने बताएपछि त्यसको वकालत अहिले श्रेष्ठले गरेका छन्।
'जनविद्रोह'को कार्यदिशालाई वकालत गर्र्दै श्रेष्ठले भट्टराईलाई व्यक्तिगत लाञ्छनासमेत लगाएपछि उनीहरूबीच व्यक्तिगत तकराव बढेको हो।
अध्यक्ष दाहालले खन्ना गार्मेन्टमा एकाएक 'बाबुरामलाई भारतले प्रधानमन्त्री बनाउन खोजेको' भन्ने सूचना दिने र उकास्ने योजना श्रेष्ठले गरेको आरोप भट्टराई पक्षले लगाएको छ। 'नारायणकाजीले उनका सहयोगी गिरिराजमणि पोखरेलमार्फत् भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन खोजेको भनी खबर पुर्याएका हुन्', एक स्थायी समिति सदस्यले नागरिकसित भने।
यसै विषयलाई लिएर अघिल्लो बैठकमा भट्टराई र श्रेष्ठबीच बैठकमा चर्काचर्की भएको थियो। 'बाबुरामजीलाई पनि भारतले प्रधानमन्त्री बनाउन खोजेको छ। यो के हो?' भनेर पोखरेलले बैठकमै कुरा राखेका थिए। त्यसलगत्तै दाहालले भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन खोजेको बताएका थिए।
बैठकमा वरिष्ठ उपाध्यक्ष बैद्यले पार्टी सुधारवादतिर जान लागेकाले यही अवस्थाबाट संविधान बनाएर जाने मात्रै भन्दा पनि 'जनविद्रोह'को तयारी गर्दै जाने धारणा राखेका थिए। त्यसैबेला श्रेष्ठले एक्कासी बैठकमै 'बाबुरामजीको केही फरक धारणा छ कि?' भनेर प्रश्न गरेका थिए। जबाफमा भट्टराई चर्केर श्रेष्ठप्रति खनिएको ती सदस्यले बताए।
'पार्टीभित्र मेरो फरक मत छ, छैन भनेर व्यक्तिगतरुपमा सोध्ने को हो तपाईँ? यो मेरो कुरा हो', श्रेष्ठको भनाइप्रति भट्टराईको आक्रोशलाई उद्धृत गर्दै ती सदस्यले भने। पार्टी एकीकरणसँगै भट्टराईले श्रेष्ठलाई संसदीय दलको उप-नेता छोड्नुपरेको थियो।
संविधानसभाको सभा-हलमा बस्ने क्रममा समेत पार्टीको पदीय मर्यादा बस्ने स्थान मिलाइएको छ। श्रेष्ठ उप-नेता भए पनि अध्यक्ष दाहालपछि वैद्य, भट्टराई हुँदै श्रेष्ठको बस्ने स्थानमा मौखिक सहमति भएको थियो। वैद्यले पछि सभासदबाट राजिनामा दिएका थिए।
माओवादीले राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चताका लागि जारी आन्दोलनमा नयाँ चरणको कार्यक्रम आइतबार घोषणा गर्ने भएको छ। जारी स्थायी समिति बैठकमा उठेका प्रश्नको जबाफ दिदै संश्लेषण गरेर संघर्षका कार्यक्रम तय गरिने प्रवक्ता दिनानाथ शर्माले बताए। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि १६ सदस्यीय स्थायी समिति सदस्यले बोल्नेक्रम शनिबार सकिएको छ।
'भोलि(आइतबार) संघर्षका ठोसरुपमा तय हुन्छ,' प्रवक्ता शर्माले भने, 'कार्यक्रम शान्तिपूर्ण हुनेछ।' उनले फेरि अनिश्चितकालीन राजनीतिक आम हड्ताल जस्ता कार्यक्रम ल्याउने कि भन्ने प्रश्नको जबाफमा नआउने संकेत गर्दैं भने, 'राष्ट्रिय स्वाधिनता केन्द्रमा राखेर शान्तिपूर्ण आन्दोलन हुने छ।'
माओवादीले आफ्ना कार्यकर्तालाई सिन्धुली झाँगाझोलीमा शुक्रबार एमालेले सशस्त्र आक्रमण गरेको आरोप लगाएको छ। एमाले केन्द्रीय सदस्य केशव देवकोटाको नेतृत्वमा पूर्व युथफोर्स अध्यक्ष महेश बस्नेतसहितको टोलीले हतियारसहित हमला गरेको दाबी माओवादीको छ। माओवादीले घटनास्थलमा फेला परेको एक थान पेस्तोल, सोको गोली १६ राउन्ड, दुई थान खोका, दुई थान तरबार, थुप्रै रडसहित केन्द्रीय सदस्य देवकोटालाई स्थानीय पत्रकारको रोहबरमा प्रशासनलाई बुझाएको जनाएको छ।
'वास्तविक घटनालाई तोडमोड गरी एमालेले जारी गरेको विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको छ,' ताम्सालिङ इन्चार्ज अग्निप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यसले उल्टा चोर कोतवालाको डाँटे भन्ने भनाइ चरितार्थ गरेको छ।'



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



