'भारतीय माओवादीसँग नेपालीको निकट सम्बन्ध'

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ १८- प्रहरी हिरासतमा रहेका भारतीय माओवादीका वरिष्ठ नेता कोबद गान्धीले नेपालको माओवादी पार्टीसँग निकट सम्बन्ध रहेको खुलासा गरेका छन्। गान्धीको भनाइले दुवै देशका माओवादीबीचको सम्बन्धलाई पहिलोपटक सतहमा ल्याइदिएको छ।

इन्डियन एक्सप्रेस दैनिकमा आइतबार प्रकाशित समाचार भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का शक्तिशाली पोलिटब्युरो सदस्य गान्धीले सन् २००२ देखि सन् २००६ सम्म किशनजीसहित अन्य वरिष्ठ माओवादी नेतासँग चारपटक नेपालको भ्रमण गरेको बयान प्रहरीलाई दिएका छन्।

नेपाल भ्रमणका बेला फिलिपिन्सका अन्य २ व्यक्ति समेत भएको उनले बताएका छन्। फिलिपिनीले भारतीय माओवादीलाई जंगल युद्ध तथा विष्फोटक पदार्थको सञ्चालनबारे जानकारी दिएको बयानमा छ।

गान्धीले सन् २००३ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्यहरुसँग वार्ता गरेको बताएका छन्। उनले नेकपा माओवादीका वसन्त भनिने अशोक (दीनानाथ शर्मा) सँग सम्भावित सहकार्यका लागि बृहत् स्तरमा वार्ता गरेको बताए। गान्धीले प्रशान्त भनिने पार्थ (राम कार्की)सँग पनि वार्ता गरेको बयान दिएका छन्।

सुरुमा सन् २००२ मा गान्धीले सुब्रमण्यम भनिने सुकान्तसँग गोरखपुर हुँदै नेपाल भ्रमण गरेको उल्लेख गरेका छन्। 'सो भ्रमण एक साताको थियो र त्यसका लागि नेपाली माओवादीको निमन्त्रणा प्राप्त भएको थियो,' गान्धीले भनेका छन्- 'बैठकमा नेपाली माओवादीले उनीहरुलाई संगठित गर्न आवश्यक सहयोग सहयोग चाहेका थिए।'

सन् २००६ मा पनि उनले नेपाल भ्रमण गरेको उल्लेख गरेका छन्। भारतीय माओवादीका अर्का नेता किशनजी भनिने मालोजुला कोटेश्वर रावसँग भएको त्यस भ्रमण जनमुक्ति सेना नेपालको निमन्त्रणमा भएको उनले बताए।

सबै भ्रमण दुवै पक्षले संस्थापनमाथि गर्ने आक्रमण र सम्बन्धित सरकारलाई पराजित गर्ने रणनीतिबारे केन्द्रित रहेको उनको दाबी छ।

गान्धीले सन् २००७ मा झारखण्डको जंगलका भएको १२ दिने बैठकको विवरण पनि बयानमा दिएका छन्। माओवादीका सबै उच्च नेता सहभागी भएको सो बैठकले विशिष्ट व्यक्ति, विशेष फौज तथा प्रहरी हत्या गर्ने, भारतभर ठूलो परिणाममा हिंसात्मक घटना गराउने प्रस्ताव पारित गरेको उनले बताएका छन्।

सन् २००८ नोभेम्बर २ मा पश्चिम बंगालको मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य तथा केन्द्रीय स्टिल मन्त्री रामविलास पासवानमाथि लक्षित पश्चिम मदिनाको आक्रमण त्यही बैठकको परिणाम थियो। आक्रमणमा दुवै नेता जोगिएपनि ६ प्रहरी गम्भीर घाइते भएका थिए। स्रोतले पश्चिम बंगाल प्रहरीले सो आक्रमणको सम्बन्धमा दिल्लीको तिहार कारागारमा सोधपुछ गरेको बताएको छ।

६३ वर्षे माओवादी नेता गान्धीले दिल्ली प्रहरीका वरिष्ठ अधिकारी तथा गुप्तचर अधिकारीसमक्ष दिएको गोप्य बयान द इन्डियन एक्सप्रेसले आइतबारे परिशिष्टांकमा छापेको छ। तर, गान्धीका कानुन व्यवसायी राजेश त्यागीले उनको 'स्वीकारोक्ति' बलपूर्वक आएको दाबी गरेका छन्।

सन् २००८ सेप्टेम्बर २० मा पक्राउ परेको गान्धीलाई गैर कानुनी गतिविधि (रोकथाम) सम्बन्धी संशोधन ऐन, २००८ विभिन्न धारा अनुसार अभियोग लगाइएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति