गिरीश गिरी/भोजराज भाट, काठमाडौं, माघ २५- जमीम शाहलाई नेपाल र भारतका सञ्चार माध्यमले दाउद इब्राहिम र पाकिस्तानी गुप्तचर संस्था आइएसआइसँग जोड्ने गरेका थिए। त्यस्तो आरोप किन लगाइयो भन्ने कहिल्यै जान्न नसकेको जमीमका दाजु मुकिम शाह बताउँछन्।'तर, हामी बारम्बार प्रताडित बनाइदै आयौं,' पानीपोखरीस्थित जमीमकै निवासमा भाइको शव छेउ उभिएका मुकिमले आइतबार नागरिकलाई भने, 'मिर्जा दिलसाद वेगको हत्याका बेला पनि प्रहरीले बोलाएर सोधपुछ गरेको थियो,
कान्दाहारमा इण्डियन एयरलाइन्स अपहरणको बेला पनि बयान दिन जानु पर्यो, हुँदा हुँदा इराकमा नेपाली मारिएको बेला पनि हामीलाई लक्षित गरेरै आक्रमण गरियो।'
केहि समयअघि जमीम स्वयंले दिएको आफ्नै टेलिभिजन च्यानललाई दिएको अन्तवार्तामा सञ्चार उद्योगमा लगानी भित्र्याएदेखि आफूमाथि यस्तो आरोप लाग्न थालेको बताएका थिए।
सञ्चार व्यवसायमा हात हालेपछि धेरै 'इन्ट्रेस्ट' भएकाहरूसँग अल्भि्कनु पर्ने भएकाले आफूलाई त्यस्तै केन्द्रहरूबाट दाउद इब्राहिमसँग जोड्ने गरिएको उनले बताएका थिए।
२०५२ सालमा स्पेसटाइम केबुल नेटवर्कको प्रकृया सुरु भएदेखि जमीम बढी चर्चामा आएका हुन्। बानेश्वरस्थित उनकै घरमा डेरा लिएर बस्ने विजय गच्छदार सञ्चार मन्त्री भएकै बेला उनले केबुलको लाइसेन्स मात्र पाएनन्, त्यो जारी गर्ने बेला सरकारलाई आउने पाँच वर्षसम्म अन्य कसैले त्यस्तो लाइसेन्स लिन नपाउने प्रावधान समेत लागू गराउन सफल भएका थिए। केबुलमा पछिल्लो समय एक सय १० करोड रुपैयाँको लगानी रहेको उल्लेख गरेका उनले त्यसमध्ये ७७ करोड रुपैयाँ बैंकको ऋण रहेको बताएका थिए। मुलुककै सबैभन्दा ठूलो दाबी गरिने उनको केबल नेटवर्कले अहिले काठमाडौंका अन्दाजी २८ हजार घरमा सेवा दिइरहेको छ।
४७ वर्षअघि काठमाडौंको ओटु टोलमा जन्मिएका रैथाने काश्मिरी मुश्लिम परिवारका सदस्य जमीम स्वयंले निकै अघि केहि लाख रुपैयाँ भन्सार छलेको स्वीकार गरेका थिए। 'तर आइएसआइ वा दाउदसँग जोडिएका मेरा कुरा पूर्णत गलत हुन्,' उनले अन्तर्वार्तामा भनेका थिए,'कसैले एक पैसा मात्र पनि विदेशी लगानी प्रमाणित गरिदिन्छ भने म व्यापारै छाडेर हिँड्न तयार छु।'
कृषि अनुसन्धान परिषदमा महानिर्देशक र कृषि मन्त्रालयमा सह सचिवबाट अवकाश पाएका डा. मोइन शाहका तीन छोरामध्येका माहिला जमीम प्रारम्भमा पाइलट बन्ने इच्छा राख्थे। लेबोरेटरी हुँदै दरबार हाइस्कूलबाट एसएलसी गरेका उनी पाइलट पढ्नकै निम्ति ताइवान पुगेका थिए। बीचैमा पढाइ त्यागेर फर्केपछि उनले भिडियोका चक्काको व्यापार थाले। हङकङबाट चक्का मगाएर बेच्ने तथा भाडामा दिने त्यो व्यवसायसँगै उनले थोक व्यापारमा समेत हात हालेका थिए। त्यसपछि उनले स्पेसटाइम केबुल नेटवर्कमा लगानी गरेका हुन्। यसको निम्ति आफूले एक करोड ४८ लाख र बैंकबाट पनि एक करोड ४८ लाख नै ऋण लिएर काम थालेका थिए।
'एकातिर मलाई दाउदसँग पैसा लिएको आरोप लगाउँछन्,' उनले भनेका थिए,'यता आफ्ना कर्मचारीलाई समयमा तलब दिन नपाएको देख्दा दुःख लाग्छ।'
मुसलमान परिवारमा जन्मेको भए पनि आफ्ना ९९ प्रतिशत साथीसंगत हिन्दू भएको बताउँदै उनले भनेका थिए, 'म मन्दिरहरूले घेरिएको टोलमा जन्मे" र हुर्के", त्यसैले अहिले पनि प्रवचन सुन्न जान्छु।' उनले नेवार युवतीसँग प्रेम विवाह गरेका थिए। उनकी पत्नी इण्डोनेशियामा बहिनीसँग बस्दैछिन् भने एक्ला छोरा अमेरिकामा 'एनिमेसन फिल्म' पढ्दैछन्।
दुई पटक हृदयाघात
४७ वर्षकै उमेरमा दुई पटक हृदयाघात बेहोरेका उनको नर्भिक र गंगालाल अस्पतालमा उपचार चलिरहेको थियो। 'पछिल्लो पटक भने ऊ स्वास्थ्यलाई लिएर निकै उत्साहित भएको थियो,' उनका व्यापारिक साझेदार तथा पुराना साथी बहादुरकृष्ण ताम्राकारले भने, 'अस्ति भर्खर मलाई फोन गरेर आफू २० वर्षको उमेर जस्तै तन्नेरी महशुस गर्न थालेको बताएको थियो।'
आफ्नो समस्या हत्तपत्त कसैलाई नसुनाउने बानी भए पनि पुरानो साथी भएकाले उसका कुरा थाहा पाउने गरेको ताम्राकार बताउँछन्। 'तर, यो आक्रमणको उसलाई रत्तिभर जानकारी थिएन,' उनले भने, 'नत्र मैले संकेतसम्म भए पनि पाउथे।'
जमीमका अर्का साथी बसन्त भट्टराइका अनुसार उनलाई बिना प्रमाण दाउद र आइएसआइसँग जोडेर धेरै दुःख दिइएको थियो। 'आजै मलाइ १२ बजे घरमा बोलाएको थियो तर, मेरी बहिनीको बिहे परेकाले आउन नसक्ने बताएको थिए,' भट्टराईले भने, 'शायद म आइदिएको भए उसको ज्यान जोगिने थियो होला।'
आफ्ना पिता र भाइ मसुदका साथ जमीम आइतबार घरबाट निस्केका थिए। गाडीले उनलाई याक एण्ड यती होटलमा छाडेपछि पिता र भाइलाई पुननिर्माण हुँदै गरेको बागबजारस्थित घरमा छोड्न गएको थियो। प्रायः याक एण्ड यती होटलको क्लबमा गएर समय बिताउने जमीमलाई लिन फेरि गाडी पुगेको थियो। होटलबाट घर जाँदै गर्दा उनीमाथि प्रहार भएको थियो। तिघ्रामा गोली लागेका चालक भने घाइते छन्।
'ड्राइभरलाई गोली लाग्यो भन्ने सुनेर म दौडादौड शिक्षण अस्पताल पुगेको थिए,' जमीमका दाजु मुकिमले भने,'तर, त्यहाँ त मेरै भाइ देखेँ त्यो पनि चिकित्सकले मृत घोषित गरिरहेको अवस्थामा।' भाइको हत्या कसले र किन गर्यो भन्ने बुझ्नै नसकेको उनले सुनाए। 'न कसैलाई नराम्रो गरेको थियो न त कसैसँग रिसइवी थियो,' उनले भने, 'सहयोगी भावनाको मेरो भाइलाई कसले र किन हत्या गर्यो भन्ने थाहा नपाउँदा थप यातना महशुस भइरहेको छ।'
सुनसान च्यानल नेपाल
हत्याको जानकारी पाएपछि के गर्ने कसो गर्ने भन्ने अलमलमा परेको च्यानल नेपालका कर्मचारीले बताए। हत्तपत्त सबै कार्यक्रम रोकेर प्रवन्ध निर्देशक शाहको तस्बिरसहित समवेदना देखाउन थालेको सात वर्षदेखि कार्यरत सदिपमान सिंहले बताए।
कार्यालय परिसरमा पत्रकार तथा कर्मचारी स्तब्ध देखिन्थे। त्यस्तै समस्या कार्यक्रम लिएर आउनेहरूको पनि थियो।
'बेलुकी छ बजे प्रसारण हुने कार्यक्रमको क्यासेट बुझाउन आएको थिए,' मनोरञ्जक कार्यक्रम 'लोकमाला' का निर्माता निर्देशक टीका लोकान्द्री अँध्यारो अनुहार पारेर भन्दै थिए,'यहाँ आएर घटनाबारे सुन्ने बित्तिकै क्यासेट बोकेरै फर्किन लागेको छु।'
निजी टेलिभिजन च्यानल सञ्चालकहरूले हत्याको भर्त्सना गर्दै यसले सञ्चार क्षेत्रमा लगानी गर्नेलाई आतंकित पारेको बताएका छन्।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



