Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

अपहरण र यौन दुर्व्यवहारको आरोपमा महिला ट्राफिक पक्राउ

smaller text tool iconmedium text tool iconlarger text tool icon
केपी ढुंगाना, काठमाडौं, फागुन २८- सहकर्मीकै भतिजीको अपहरण गरी यौन दुर्व्यबहार गरेको आरोपमा महिला ट्राफिक जवान पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण र यौन दुर्व्यवहारको अभियोगमा थापाथाली ट्राफिक पोस्टमा कार्यरत महिला प्रहरी रुविना हुसेनलाई पक्राउ गरेको हो।

परिसर अधिकारीका अनुसार उनीमाथि १६ वर्षीया किशोरीलाई तीन महिनादेखि आफ्नो कोठामा बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा उनीमाथि लागेको अभियोग पुष्टि भएपछि प्रहरीले बिहीबार मानव अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा चलाउन न्यायिक अनुमति लिएर हिरासतमा राखेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार थापाथालीमै कार्यरत सई पदकी महिला ट्राफिककी भतिजी हराएपछि खोजी गर्दै जाँदा उनलाई रुविनाको ठमेलस्थित कोठामा उनी भेटिएकी थिइन्। भतिजी सहकर्मीको कोठामा रहेको जानकारी उनले प्रहरीलाई जानकारी गराएपछि महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेबाट गएको प्रहरी टोलीले दुवैलाई पक्राउ गरेको थियो।

रुविनाले १६ वर्षीया किशोरीलाई तीन महिनादेखि कोठामा जबर्जस्ती थुनेर यौन दुर्व्यवहार गरेको खुलेपछि परिसरले रुविनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ। पक्राउ परेकी रुविना काठमाडौं परिसरको हिरासतमा छिन्। उनलाई परिसरले बिहीबारै काठमाडौं जिल्ला अदालतमा पेश गरी अनुसन्धानमा लागि थप समय लिएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ११ कक्षामा पढ्ने पीडित किशोरीले 'रुविनाले आफूलाई कोठामा राखेर यौनदुर्व्यवहार गर्ने गरेको' बताएकी छिन्। उनले बयानमा 'कोठाबाट कतै गए, गोली हानेर मारिदिन्छु' भनेर धम्क्याउने गरेको र नियमित यौनदुर्व्यवहार गर्ने गरेको' बताएपछि प्रहरीले रुविना समलिंगी भएको आशंका गरेको छ।

काठमाडौं परिसर प्रमुख गणेश केसीले किशोरीलाई नियन्त्रणमा लिएर यौन दुर्व्यवहार गरेको देखिएकाले उनलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको बताए।
ट्राफिक पोस्ट थापाथलीमा कार्यरत सईले काठमाडौं परिसरमा आफ्नी भतिजी हराएको जानकारी दिएपछि प्रहरी उनको खोजीमा जुटेको थियो। प्रहरीका अनुसार भतिजी र रुविनाबीच बाक्लो हिमचिम रहेकाले उनलाई हराएकी किशोरीबारे सोध्दा 'मलाई के थाहा कहाँ पोइल गई होली' भन्ने गरेकी थिइन्।

रुविना ती किशोरीलाई भेट्न उनी पढ्ने क्याम्पसमा जाने, उनको पढाइमा सहयोग गर्ने गरेकाले उनीमाथि नै शंका भएपनि किशोरीका आफन्तले अन्त कतै गएकी हो कि भनेर सोधखोज गरेनन्। किशोरी हराएको समयमा पनि रुविना भने नियमित ड्युटीमा आउँथिन्। उनी २०६३ देखि थापाथलीमै कार्यरत थिइन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer