केपी ढुंगाना, काठमाडौं, पुस १६- प्रहरीले काठमाडौंका ६ स्थानलाई यौन व्यवसाय फस्टाएको क्षेत्र किटान गर्दै विशेष कार्ययोजना निर्माण गरेको छ। ती स्थानको नियमित अनुगमन गर्ने, सादा पोसाकका प्रहरी खटाएर निगरानी बढाउने र शंकास्पद होटल गेष्ट हाउस र घरहरूमा छापा मार्ने कार्ययोजनामा उल्लेख छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश केसीका अनुसार यौनकर्मीको चहलपहल बढी भएका क्षेत्रमा ठमेल, नयाँ बसपार्क क्षेत्र, पुरानो बसपार्क, बालाजु-नार्गाजुन क्षेत्र, कोटेश्वर र सुन्धारा रहेका छन्।
प्रहरीले ठमेल क्षेत्रको सूची बनाई कारबाही सुरु गरेको छ। एसपी केसीले पर्यटकीय क्षेत्रको आवरणमा यौनधन्दा चरमोत्कर्षमा पुगेकाले ठमेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कारबाही सुरु गरेको बताए।
ठमेल क्षेत्रमा सञ्चालित २१ वटा गेष्ट हाउसमध्ये आठ वटामा यौनधन्दा हुने गरेको दाबी गर्दै कालोसूचीमा निर्माण गरी कारबाही सुरु गरेको प्रहरीले जनाएको छ। मंगलबार बेलुका ठमेलको २ वटा गेष्ट हाउसमा छापा मारेर प्रहरीले १५ जना यौनकर्मीलाई पक्राउ गरेको थियो। प्रहरीले ठमेलको सिद्धार्थ र रिगल गेष्ट हाउसमा छापा मारेर प्रहरीले १० जना ग्राहकलाई समेत पक्राउ गरेको छ।
गेष्ट हाउसको आवरणमा यौनव्यापार सञ्चालन गरेको सुराकीको आधारमा छापा मार्दा आपत्तिजनक अवस्थामा भेटिएका युवा युवतीलाई पक्राउ गरेको परिसर प्रमुख गणेश केसीले बताए। पक्राउ परेका २५ जनालाई हिरासतमा राखेर समाजमा विकृति फैलाएको अभियोगमा कारबाही अगाडि बढाइएको केसीले बताए। उनले भने, '११/१२ बजे ठमेल पुग्ने हो भने सडकमा १५/१६ वर्षका यौनकर्मीहरू भेटिन्छन्। गेष्ट हाउस भनेका छन् तर यौनकोठीमा रूपमा चलेका छन्। पर्यटन क्षेत्रको नाममा लज्जास्पद व्यवहार गर्न त पाइन्न नि?'
प्रहरीले पुस महिनामै ठमेलको ६ वटा गेष्ट हाउसमा छापा मारी ९२ जनालाई पक्राउ गरेको थियो। पुस ४ गते ठमेलको स्टार होटल र श्रीगेष्ट हाउसमा छापा मारेर प्रहरीले १७ युवती र १६ जना युवकलाई पक्राउ गरेको थियो। त्यसअघि चार वटा गेष्टहाउसमा छापा मारेर प्रहरीले ५९ जनालाई पक्राउ गरेको थियो।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



