त्यसो होइन, नियन्त्रणमा लिएर हत्याः स्थानीय-
कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन २८- बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन महिलाको सेनाको गोलीबाट बुधबार राति मृत्यु भएको छ।
कोइरालाका अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्न निकुञ्ज गएको थियो। बर्दिया ठाकुरद्वारास्थित ज्वालादल गणबाट गस्तीमा निकुञ्ज आएको सेनाको टोलीले उनीहरूलाई भेटेपछि तीनलाई पक्राउ गरेको थियो। पक्राउ गरेको केही बेरमै उनीहरूको हत्या भएको भाग्न सफल स्थानीय गोपाल बिकले बताए। उनका अनुसार पक्राउ परेलगत्तै महिलाहरू चिच्याएका थिए।
सेनाले भने उनीहरू चोरी-सिकारी भएको र मुठभेडमा मारिएको दाबी गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार राति विज्ञप्तिमार्फत घटनास्थलबाट तीन थान भरुवा बन्दुक, चार राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरेको जनाएको छ।
सिकारीहरूले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरका आधारमा खटिएको टोलीको सिकारीहरूसँग जम्काभेट भएको र चेतावनी दिँदादिँदै फायर गरेपछि आत्मसुरक्षाका लागि प्रतिकारात्मक कारबाही गर्दा तीनजनाको मृत्यु भएको सेनाको विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्न चार जना भागेको र एकलाई टोलीले नियन्त्रणमा लिएको सेनाले बताएको छ।
स्थानीयवासीले सेनाको भनाइमा सत्यता नभएको जनाएका छन्। स्थानीय तु्लादेव भारतीले बुधबार बिहानै गाउँबाट स्थानीय महिला र पुरुषहरू काउलोको बोक्रा लिन गएको र दिउँसै सेनाले पक्राउ गरेको बताए। 'महिला र बालबालिकाहरू बन्दुक बोकेर सिकारमा गएका हुन् भनेर पत्याउने आधार छैन, फेरि तिनीहरूलाई पक्राउपछि हत्या गरिएको छ,' स्थानीयले भने।
निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले निकुञ्ज क्षेत्रभित्र चोरी-सिकारीको उद्देश्यले हतियारसहित देखिएका सिकारीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो भिडन्त हुँदा सेनाको गोलीले तीनजना महिला मारिएको दाबी गरे।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



