इटहरी, फागुन २९ (नागरिक)- संरक्षित सूचिमा राखिएको दुर्लभ अजिङ्गर मोरङको सुन्दरपुरमा फेला परेको छ। जंगलमा गस्ती गर्न गएका गाउँलेले सुन्दरपुर-२ मा १३ फिट लम्बाई र ४० केजी तौलको अजिङ्गर फेला पारेका हुन्।
गर्मी मौसम शुरु भएकाले अजिङ्गर बाहिर निस्केको हुनसक्ने राष्ट्रिय निकुन्जका प्रवक्ता शिवराज भट्टले बताए । उनका अनुसार हरेक वर्ष गाउँलेले जंगल आसपास र खेतमा सरदर ४०-४५ वटा अजिङ्गर फेला पर्ने गरेका छन्। त्यसरी गाउँलेले फेला पारेका अजिङ्गरलाई वन्य जन्तु आरक्षमा बुझाइने गरेको उनले बताए।
अजिङ्गर पर्सा राष्ट्रिय निकुन्ज, कोशी टप्पु , चितवान राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज र शुल्लाफाटा वन्य जन्तु आरक्ष क्षेत्रमा अजिङ्गर पाइने गरेको छ। डेढ वर्षअघि कोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा भने अजिङ्गरको संख्यामा कमी आएको संरक्षण अधिकारीहरु बताउँछन्।
उनले भने, 'गर्मी मौसममा आहाराको खोजीमा भौतारिर्दै बाहिर निस्किने भएकाले यसको संरक्षणमा सवैले ध्यान पुर्याउनुपर्छ।'
पछिल्लो दुई महिनामा मोरङ र सुनसरीमा मात्र चार वटा अजिङ्गर फेला परेको कोशी टप्पु वन्य जन्तु आरक्षले जनाएको छ। माघ र फागुन महिनामा मोरङ्को सुन्दरपुर क्षेत्रमा ३ वटा र सुनसरीमा एउटा फेला परेको हो। सुन्दरपुरमा यसअघि फेला परेका अजिङ्गर मध्ये एउटा ५ फिट ३ इन्चको र अर्को ३ फिट ५ इन्चको रहेको थियो। यो क्षेत्रमा दुई महिनाको अन्तरमा ३ वटा अजिङ्गर फेला परेपछि अन्य अजिङ्गर पनि हुन सक्ने अनुमान गरिएको छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





