Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
May 17th

नेपालमा २५ प्रतिशत जनता गरिब : तथ्याङ्क

E-mail Print
(0 votes, average 0 out of 5)
सुर्खेत, फागुन ११- नेपालमा अझै पनि २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। सबैभन्दा धेरै गरिब मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा छन्। केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जीवनस्तर सर्भेक्षणमा नेपालका २५ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको जनाइएको हो।
 

सहरमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा २७ जना जनसङ्ख्या गरिबीको रेखामुनि छन्। सर्भेक्षणमा क्षेत्रगत हिसाबमा सबैभन्दा बढी गरिब सुदूरपश्चिममा ४५.६१ प्रतिशत र त्यसपछि मध्यपश्चिम क्षेत्रमा ३१.६८ प्रतिशत छन्। पश्चिमाञ्चलमा २२ प्रतिशत, मध्यमाञ्चलमा २१प्रतिशत र पूर्वाञ्चलमा २१ प्रतिशत गरिब रहेको जनाइएको छ।

कुल जनसङ्ख्यामा सुदूरपश्चिममा ८.८ प्रतिशत र मध्यपश्चिममा १३ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कमा छ। त्यस्तै, भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा सबैभन्दा बढी गरिब छन्, जहाँ ४२ प्रतिशत गरिब छन् भने पहाडी क्षेत्रमा २४ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत गरिब छन्।

यसैगरी, गरिबीसँगै कृषियोग्य जमिन पनि क्रमशः घट्दै गएको छ। गरिबीको रेखामुनि रहेका २५ प्रतिशत जनतामध्ये २२ प्रतिशतसँग जग्गाजमिन छैन। दुई हेक्टरसम्म भएका १९ प्रतिशत र सोभन्दा माथि भएका छ प्रतिशतमात्रै छन्। जग्गा नभएकामध्ये ग्रामीण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १७ प्रतिशत जनता भएको सर्भेक्षणमा उल्लेख छ।

पहाड र तराईका दलित सबैभन्दा गरिब
गरिबमा पनि सबैभन्दा बढी पहाड र तराईका दलित छन् भने कममा पहाडका ब्राह्मण र नेवार जाति छन्। पहाडी दलित ४४ प्रतिशत र तराईका दलित ३८ प्रतिशत गरिबीको रेखामुनि छन्। सर्भेक्षणमा विगतभन्दा अहिले १५ देखि ५९ वर्ष उमेरको जनसङ्ख्या बढेको जनाइएको छ। महिला घरमूली भएका परिवारको सङ्ख्या पनि दोब्बर भएको छ।

यस्तै, बिजुलीबत्ती र शौचालयको पहुँचमा वृद्धि भए पनि आयोडिनयुक्त नुनको प्रयोगमा भने कमी आएको जनाइएको छ। यस्तै, मध्यपश्चिम क्षेत्रको १५ वर्षमाथिको साक्षरता दर ५४ प्रतिशत छ भने १६ प्रतिशत विद्यार्थी निजी स्कुल तथा कलेजमा जाने गरेको पाइएको छ।


यस क्षेत्रमा पाँचमा एकजना दीर्घरोगी पाइएका छन् भने तीनमा एकजनालाई अन्य रोग लाग्ने गरेको छ। त्यतिमात्र होइन अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा चिकित्सकसँग जँचाउन जानेहरू पनि सबैभन्दा कम १७ प्रतिशत मात्रै रहेको सर्भेक्षणमा उल्लेख छ।

परिवार नियोजनमा मध्यपश्चिम अगाडि
यति हुँदाहुँदै पनि परिवार नियोजनको साधन प्रयोग गर्नेमा मध्यपश्चिम क्षेत्र सबैभन्दा अगाडि छ। यहाँ ४१ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्छन्।

यसैगरी, यस क्षेत्रमा २६ प्रतिशत मानिस बसाइँ सरेर आएका छन्। यस क्षेत्रका बासिन्दा सडक सुविधाप्रति बढी असन्तुष्ट देखिएको सर्भेक्षणमा उल्लेख छ।

४१ प्रतिशत बालबालिका होचापुड्का
नेपालमा ४१ प्रतिशत बालबालिका होचापुड्का भएको पनि तथ्याङ्कमा जनाइएको छ। यस्तै, ३१ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको र १४ प्रतिशतको उचाइ अनुसारको तौल नभएको पाइएको छ।

सर्भेक्षणले बिजुली, पिउने पानी, सडक सुविधामा नेपाली बढी असन्तुष्ट भएको पाइएको देखाएको छ। जीवनस्तर सर्भेक्षणले देशको गरिबीको स्थिति तथा गरिबीका अनुमान अद्यावधिक गरेको र गरिबीको सूचक मापनबारे प्रस्ट पारेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले दाबी गरे। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज