Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

डा. पाण्डेको फरक प्रेस्क्रिप्सन

smaller text tool iconmedium text tool iconlarger text tool icon
गुणराज लुइँटेल, काठमाडौं पुस १४ - नेपाल चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्था बन्द गर्दा स्वास्थ्यकर्मीको नियुक्ति सुविधाका साथै तिनको सुरक्षालाई प्रमुख मुद्दाका रुपमा उठाएको छ। चिकित्साकर्मी र स्वास्थ्य संस्था बिरामीका आफन्तको आक्रमणमा पर्ने समस्याको समाधान के होला मेडिकेयर अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डेको प्रेसक्रिप्सन प्रष्ट छ।

 सबै उपचार सफल हुँदैनन्। उपचारका क्रममा कुनै बिरामीको मृत्यु भयो भने उनी आफूले लिएको शुल्क फिर्ता गरिदिन्छन्। ‘सिद्धान्ततः सेवा पाइसकेपछि पैसा तिर्नै प‍र्‍यो  ' उनले सोमबार नागरिकसँग भने ‘बिरामीको मृत्यु भएपछि परिवारका सदस्य रोइरहेको देख्दा संवेदनशील अवस्थालाई ध्यानमा राखेर शुल्क फिर्ता गरिदिन्छु।'

बिरामीको उपचारका क्रममा पहिलो शल्यक्रिया सफल नभएर दोस्रो गर्नु पर्ने भयो भने उनी पुनः शुल्क लिँदैनन्। ‘दोस्रो अप्रेसन गर्दाको शुल्क म लिदिँन,' उनी भन्छन् ‘हाम्रा गरिब दाजुभाइले घरबाट १० हजार ल्याएर मृत्यु भइसकेका सदस्यका लागि शुल्क तिर्दा मनमा थप चोट पर्नु स्वाभाविक हो।'

उनले आफ्नो यो अभियानलाई आफ्नै ‘लोभविरुद्धको लडाइँ'को नाम दिएका छन्। ‘पैसा पाएसम्म नछोडौं भन्ने हामीलाई लाग्छ' उनी भन्छन् ‘यो त्यही लोभविरुद्धको मेरो कुस्ती हो।'

बिरामी र आफन्तलाई सम्झाउन नसक्दा पनि यस्ता आक्रमणका घटना हुने गरेका छन्। ‘हामीमा कमजोरी छैनन् भन्ने होइन', उनले भने ‘हामीले राम्ररी बुझाउन सके तिनले अवश्य बुझ्छन्।'

बिरामीका परिवार र चिकित्सकबीचको विवादको एउटा कारण समयमा चिकित्सकले हेरिदिएनन् भन्ने हो। पाण्डे भन्छन् ‘म राति १२ बजे पनि खबर पाउनासाथ अस्पताल पुग्छु' उनी भन्छन् ‘फोक्सो बाहिर निस्केका बिरामीलाई समयमा उपचार गरेर बचाउनु कम होइन।'

बिरामीले चिकित्सकलाई खोज्दा कतिबेला पुगियो भन्ने धेरै महत्वपूर्ण पक्ष हुने उनी ठान्छन्। त्यसमा पनि बिरामीको आकस्मिक उपचार गर्नुपर्ने बेला पहिले डिपोजिट राख अनि उपचार गरौंला भन्ने उनको बानी छैन। ‘उपचार मानवताका लागि गर्ने हो' पाण्डे भन्छन् ‘मैले उपचार गरेका १० जनामध्ये पाँच जनाले तिरेनन् भने पनि म भोकै पर्दिन।'

‘नेपालमा सबैसँग पैसा छैन', उनी भन्छन् ‘तैपनि मेरा कतिपय बिरामी मरेर जाँदा पनि तिनका परिवारले पैसा तिर्छु भनेका छन्।'

उनी आफू एउटामात्र अस्पतालमा काम गर्छन्। सरकारी अस्पताल र निजी अस्पताल वा क्लिनिकमा कार्यरत चिकित्सकले आवश्यकता पर्दा बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्छन्। ‘मैले बिरामीलाई लैजाने ठाउँ कतै छैन', उनले भने ‘म आफूकहाँ आउने सबै बिरामीलाई खुसी पार्न प्रयास गर्छु।'

उनी आफूलाई कहिल्यै ठूलो देखाउँदैनन् र बिरामी तथा तिनका परिवारप्रति आदरपूर्वक कुरा गर्छन्। उनको शारीरिक कद र सादापन देखेर कतिपय बेलामा दुई तीन पटक बिरामीले उनलाई ‘डा. पाण्डे तपाईं नै हो ‘ भनेर सोध्छन् पनि।
‘डाक्टर भनेको घमण्डी अग्लो वा मोटो मान्छे हुनुपर्छ भन्ने धेरैलाई लाग्दो हो' उनी हाँस्दै भन्छन् ‘आज मैले १५ हजार अपरेसन गरेँ भगवानको कृपा सबैबाट स्याबासी पाएको छु।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer