Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

'पाकिस्तानमा क्रिकेट फर्कन दुई वर्ष लाग्नसक्ने'

smaller text tool iconmedium text tool iconlarger text tool icon
इस्लामावाद, साउन १२ (एपी)- पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) गत वर्ष लाहोरमा श्रीलंकाली टोली चढेको बसमा भएको आतंकवादी आक्रमणसम्बन्धी प्रकरणमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष प्रतिवेदन बुझाउन सरकारी अनुमतिको प्रतीक्षामा छ।

  पिसिबी प्रवक्ता नदीम सरवारले सरकारी अनुमति पाउनासाथ प्रतिवेदन आइसिसीलाई पठाउने बताए। सरवारले यस सम्बन्धमा समय सिमा भने तोक्न चाहेनन्।

यसअघि आइसिसीको अध्यक्ष रहिसकेका पाकिस्तानी एहसान मणिले पिसिबी देशमा अन्तर्राष्ट्रिय क्रिकेट भित्र्याउन असफल भएको आरोप लगाएका थिए।

आतंकवादी आक्रमणपछि क्रिकेट खेल्ने राष्ट्रका लागि पाकिस्तान जान नहुने क्षेत्र हुन पुगेको छ। ८ जना मारिएको उक्त आक्रमणमा ७ श्रीलंकाली खेलाडी र उनीहरूका सहायक प्रशिक्षक घाइते भएका थिए।
तर सन् २००३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्ष रहेका एहसान मणिले पिसिबीले उक्त आक्रमणका सम्बन्धमा प्रतिवेदन बुझाउन नसकेको बताएका थिए। उनले त्यसको अर्थ पाकिस्तानमा विश्व क्रिकेटको विश्वास जगाउने सम्बन्धमा उचित कदम चालिन अझ बाँकी रहेको बताए।

'लाहोर आक्रमणका सम्बन्धमा पिसिबीले आफ्नो प्रतिवेदन बुझाउन बाँकी नै छ। उनीहरूले त्यसो नगर्दासम्म विदेशी टोलीले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्ने छन्,' मणिले भनेका थिए।
'प्रतिवेदन नबुझाएका कारण पिसिबी आइसिसीसँग रणनीति तयार पार्न सकेको छैन र सदस्य राष्ट्रले उक्त प्रतिवेदन अध्ययन नगर्दासम्म पाकिस्तान भ्रमण गर्न संकोच मान्ने छन्,' पाकिस्तानमा जन्मे पनि लामो समयदेखि इङ्ल्यान्डमा बस्दै आएका मणिले भनेका थिए।

आगामी वर्ष हुने विश्वकपका केही खेल पाकिस्तानले आयोजना गर्ने भनिएको थियो, त्यो आक्रमणपछि प्रतियोगिताको आयोजना एसियाली टेस्ट राष्ट्र भारत, बंगलादेश र श्रीलंकामा मात्र हुने भएको छ।
सुरक्षा स्थितिले पाकिस्तानलाई अस्ट्रेलियाविरुद्धको घरेलु शृङ्खला इङ्ल्यान्डमा खेल्न बाध्य बनाएको थियो। उक्त शृङ्खलाअन्तर्गत शनिबार हेडिङ्लेको टेस्ट पाकिस्तानले ३ विकेटले जितेको थियो। पछिल्लो दुई वर्षदेखि पाकिस्तानका घरेलु खेल संयुक्त अरब इमिरेट्स र न्युजिल्यान्डमा पनि खेलिएका छन्।

मणिले केही सामान्य टिमहरूको भ्रमण गराएर पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन सकिने बताएका छन्। 'मेरो विचारमा पाकिस्तानमा क्रिकेट फर्कन दुई वर्ष लाग्नेछ। त्यसका लागि पहिला केन्या, जिम्बावे, अफगानिस्तानजस्ता टिमलाई बोलाएर विश्वासको वातारवरण बढाउन सकिन्छ,' उनले भनेका थिए।

पाकिस्तानले बिहीबार टेन्टब्रिजमा सुरु हुने इङ्ल्यान्डविरुद्धको शृङ्खलामा चार टेस्ट, दुई ट्वान्टी-२० र पाँच एक दिने अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

पाकिस्तानको लाहोर उच्च न्यायालयका न्यायमूर्तिहरूले आतंकवादी आक्रमणपछि प्रतिवेदन बुझेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल