काठमाडौं, साउन १३ (नागरिक)- विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल नौजना समावेशी महिला आरोहीले अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल आरोहण गरी काठमाडौं आएका छन्। आरोही शैली बस्नेतको नेतृत्वमा ‘एभरेस्ट ओमेन सेभेन समिट्स इको एक्सन' दल एक महिनाअघि अस्ट्रेलिया गएको थियो।
दलकी नेतृ बस्नेतले जलवायु परिवर्तनबाट नेपालको हिमाल र हिमाली भेगमा पारेको प्रभावबारे त्यहाँका विभिन्न विद्यालय र समुदायमा जानकारी दिएको बताइन्। ‘अस्ट्रेलियका लागि १४ लाख रुपैयाँ खर्च लाग्यो,' बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सहयोग र प्रोत्साहन दिने सबैप्रति आभारी छौं। युरोपका लागि ३० लाख रुपैयाँ खर्च लाग्छ।'
समावेशी दल सगरमाथा आरोहणपछि सात महादेशका सात उच्च शिखर चढ्ने अभियानमा रहेको छ। सगरमाथापछि दोस्रो हिमाल चढ्न अस्ट्रेलिया गएको हो। ‘यसपछि आगामी अगस्टमा युरोपको उच्च शिखर रुसस्थित ५ हजार ६ सय ४२ मिटर अग्लो एल्ब्रस आरोहण गर्न जान्छौं,' बस्नेतले भनिन्।
दलमा बस्नेतसहित माया गुरुङ, पूजन आचार्य, उषा विष्ट, आशाकुमारी चौधरी, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा, नवाङफुटी शेर्पा र पेमाडिकी शेर्पा छन्।
उनीहरूले युरोपछि अफ्रिकाको ५ हजार ८ सय ९२ मिटर उचाइको किलिमन्जरो, ओसिनियाको ४ हजार ८ सय ८४ मिटर अग्लो कार्स्टेन्स्ज पिरामिड, अन्टार्कटिकाको ४ हजार ८ सय ९२ मिटर उचाइको भिन्सन म्यासिफ, दक्षिण अमेरिकाको ६ हजार ९ सय ६२ मिटर अग्लो एकोन्कागुआ र उत्तर अमेरिकाकै अग्लो ६ हजार १ सय ९४ मिटरको माउन्ट मेक्किन्ले आरोहण गर्ने जानकारी दिए।
उनीहरूको अभियानमा सहयोग गरिदिन नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष निमानुरु शेपा, नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट शरद प्रंधान लगायतले आग्रह गरेका थिए।
उनीहरूको अभियानलाई सरकार, पर्वतारोहण संघ, पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नर्थ फेस, भेज क्लाइमेट अलायन्स, क्रसिङ ल्यान्ड एजुकेसन ट्रस्ट, आउटडेर एजुकेसन ग्रुप, इसिमोड, गैरआवासीय नेपाली लगायत संघसंस्थाले सहयोग गरेका छन्।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





