विनोद पाण्डे, काठमाडौं, फागुन २८- दस दिनअघि युवा राष्ट्रिय टोलीमा पर्नुलाई नै सफलता मानेका १६ वर्षीय निश्चल पाण्डेले खेलेको चार दिनमै दुईवटा अन्तर्राष्ट्रिय कीर्तिमान राखिसकेका छन्। भैरहवा क्षेत्रबाट यही वर्षदेखि राष्ट्रिय क्रिकेटको स्वाद चाखेका चितवनवासी निश्चलले चार दिनअघि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिँदा राम्रो बलिङ वा ब्याटिङ गर्नेसम्मको लक्ष्य राखेका थिए।
नेपालले यु-१६ इलाइट कप सुरु गर्दा प्रशिक्षक रोय लुक डायस आफैं अन्योलमा थिए। उनलाई आफ्नै खेलाडीको क्षमताबारे राम्रो जानकारी थिएन। तर, प्रत्येक खेलमा नेपालले जित हासिल गर्दै डायस हौसिए, नेपाली खेलाडीले पनि क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा स्थापित हुने अवसर पाए। प्रशिक्षक डायस निश्चलको एकल प्रदर्शन राम्रो भए पनि कहिलेकाहिँ यसले टोलीको प्रदर्शनमा असर पार्ने धारणा राख्छन्।

हङकङविरुद्धको पहिलो खेलमा सोमबार ४ रनमात्र बनाए पनि ४ विकेट लिँदै म्यान अफ द म्याच चुनिए निश्चल। कुवेतविरुद्ध मंगलबारको खेलमा उनले ५८ रन बनाए, ५ विकेट लिँदै। एकै खेलमा ५ विकेट र ५० रनको कीर्तिमान बनाउने पहिलो नेपाली खेलाडीको पहिचान बनाएका निश्चलले यो कौशल बिहीबार पनि दोहोर्याए, ७४ रन बनाएर ५ विकेट लिँदै।
उनले प्रतिखेल ४५.३३ को औसतमा १ सय ३६ रन बनाउनुका साथै ३.५ को लोभलाग्दो औसतमा १४ विकेट लिइसकेका छन्।
'सोचेभन्दा धेरै राम्रो खेलें। पहिलो खेलपछि धेरै आत्मविश्वास बढेको छ,' चितवन शिवघाटका निश्चलले बिहीबारको खेलपछि नागरिकसँग भने। निश्चल अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल दोस्रा चितवनवासी हुन्। यसअघि इशान बानियाँले सन् २००५ मा मलेसियामा एसिसी यु-१७ कप खेलेका थिए। नारायणगढको बालकुमारी कलेजमा ११ कक्षामा व्यवस्थापन पढिरहेका निश्चलको आगामी लक्ष्य नेपालको यु-१९ मा अहिलेको प्रदर्शन दोहोर्याउनु हो।
चितवन जिल्ला क्रिकेट संघ एकेडेमीका उत्पादन निश्चलको सफलताको श्रेय एकडेमीका प्रशिक्षक एवम् नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्कालाई जाने चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान बताउँछन्। प्रतियोगितामा म्याच रेफ्री पनि रहेका तिनै राजुले बिहीबार निश्चलको नाम म्यान अफ द म्याचका रूपमा घोषणा गरेका थिए।
'दुई वर्षअघि ऊ ब्याट्सम्यानका रूपमा एकेडेमी छिरेको थियो, कहिलेकाहिँ बलर नआउँदा कामचलाउमा उसलाई खेलाउँथे। देब्रे हाते स्पिनको धेरै फाइदा लिन सकिन्छ भनेर नियमित बलिङ गर्न लगाएको हुँ,' निश्चलको प्रदर्शनले सबैभन्दा खुसी राजु भन्छन्, 'कुनै समय पावर र आत्मविश्वास नहुँदा म आफैंले बलिङ गरेर उसलाई खेलाएको थिएँ।'







Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



