Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

आफ्नै भूमिमा पहिलो पटक फाइनल हार्‍यो नेपालले

smaller text tool iconmedium text tool iconlarger text tool icon
विनोद पाण्डे, काठमाडौं, चैत ३- घरेलु मैदानमा खेलिएका सबै फाइनल नेपालले दोस्रो ब्याटिङ गरेर जितेको थियो। सिंगापुरले मंगलबार टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दा नेपालसामु एसिसी यु-१६ एलिट कप क्रिकेट हात पार्दै इतिहासलाई निरन्तरता दिने राम्रो संयोग जुरेको थियो।

त्रिविवि क्रिकेट मैदानमा १ सय ४७ रनको चुनौतीपूर्ण लक्ष्य पाए पनि नेपालले ५ ओभरमा २९ रन बनाएर राम्रो सुरुवात गर्‍यो, तर त्यसपछि कुनै समय पनि खेल नेपालको हकमा रहेन र घरेलु टोली २२ ओभरमा ७८ रनमा सिमित भयो। नेपालले फाइनल खेल ६८ रनले गुमायो। नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैखाले प्रतियोगितामा सिंगापुरसँग पहिलो पटक पराजित भएको हो। घरेलु मैदानमा यसअघि सबै किसिमको उमेर समूहको प्रतियोगिता जितेको नेपालको यो पहिलो घरेलु पराजय थियो।

नेपालका लागि आफ्नै मैदानमा पराजय भोगेको यो पहिलो फाइनल हो भने टोलीले खेलेको १४ नक आउट प्रतियोगिताको फाइनलमा यो तेस्रो पराजय हो। नेपालले सन् २००१ र २००५ मा गरी दुई पटक एसिसी यु-१९ तथा गत वर्ष एसिसी यु-१७ एलिट कप घरेलु मैदानमै जितेको थियो। सिंगापुरले एसियाली क्रिकेट परिषद (एसिसी) को उपाधि दोस्रो पटक जितेको हो। पहिलो उपाधि पनि समुन्द्री टापुको राष्ट्रले २००७ मा काठमाडौंमै एसिसी यु-१५ एलिट कपको रुपमा जितेको थियो। नेपालले समूह चरणका सबै खेल जिते पनि बढी उमेरका खेलाडी खेलाएको भनी नेपालसहित सात राष्ट्रलाई तीन वर्ष अगाडीको प्रतियोगिताबाट निस्कासित गरिएको थियो।

'हामी राम्रो टोलीसँग पराजित भएका हौं, सिंगापुर उपाधिका लागि हकदार हो', नेपालका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले भने, 'सिंगापुरले प्रतियोगिता भरी नै राम्रो खेल्यो र सबै खेल सजिलै जित्यो। मैले प्रतियोगिता सुरु हुदादेखि नै हाम्रो ब्याटिङ कमजोर छ भनेर भन्दै आएको थिए, त्यो आज प्रमाणित भयो। ब्याटिङकै कारण फाइनल हार्दा म निराश छु, बलरहरुले निकै राम्रो गरेका थिए, तर दुई ब्याट्सम्यानमा नै हाम्रो टोली टिकेको थियो।'

सातौं ओभरमा देब्रे हाते स्पिनर अभिराज सिंहले शरद खड्का (८ रन) लाई स्टम्प आउट गरेपछि ३० रनमा नेपाललाई पहिलो धक्का लागेको थियो। त्यसको तीन बल पछि निश्चल पाण्डे ११ रनमा विकेट पछाडी क्याच आउट भए लगतै नेपालको सम्भावना पातलिएको थियो। आठ बलमा खाता खोलेका निश्चलले ११ रन बनाए। उनी म्यान अफ द फाइनल नविन पारामको पहिलो शिकार बने। अफ स्पिनर पारामले ८ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेका थिए। निश्चल बाहेक नेपालका लागि दोहोरो स्कोर बनाउने अर्का खेलाडी सनम श्रेष्ठ (१०) थिए।

नेपालले राम्रो सुरुवात गरेपछि सिंगापुरले छैठो ओभरमै स्पिन आक्रमण सुरु गरेको थियो। त्यसको दोस्रो ओभर देखि नै उनिहरु नेपाली ब्याट्सम्यानमाथी हावी भए र सबै १० विकेट स्पिनरकै नाममा रहयो। 'नेपालले राम्रो सुरुवात गरे पनि यो विकेटमा स्पिनरहरुले धेरै गर्न सक्छ भन्ने हामिले बुझेका थियौं', पारामले म्यान अफ द म्याचको उपाधि थापेपछि भने।

सिंगापुरलाई १४६/६ को स्थितिमा रोक्न सक्नु नेपालको फाइनलमा एकमात्र सफलता थियो। सुरुमै दुई विकेट गुमाएपनि विकास राजगोपालले अर्को अर्धसतक बनाउदै सिंगापुरको इनिङ सम्हालेका थिए। उनले १ सय ७ बलको सामना गरी दुई चौकाको मद्धतले ५८ रन बनाए। प्रतियोगिताको पाँच इनिङमा यो उनको चौथो अर्धसतक हो। २३ र ४१ रनमा उनको क्याच छाडनु नेपालका लागि घातक बन्यो। त्यसतै साम फ्रान्कले २६ रन बनाए। नेपालका लागि देबेन्द्र सोमारे, सतिश भगत, निश्चल, विवेक चौधरी र सुशनभारी श्रेष्ठले १/१ विकेट लिए।

'लामो समय देखि आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न नसकेको अवस्थामा सिंगापुरका लागि यो उपाधिको बेग्लै महत्व छ, हाम्रो ब्याटिङ, बलिङ र फिल्डिङ सबै राम्रो थियो, त्यसैले हामी उपाधिको हकदार थियौं', सिंगापुरका प्रशिक्षक अर्जुन मेनोनले भने, 'इमानदार भएर भन्नु पर्दा नेपाली बलरहरुले राम्रो भुमिका निर्वाह गरे, हामीले १ सय ८० भन्दा बढी रन बनाउने लक्ष्य राखेका थियौं, त्यसपछि हामीले दोस्रो योजना प्रयोग गर्‍यौं, सो अनुरुप स्पिनबाट नेपालमाथी हावी भयौं।' 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल

Nagarik Offer