Friday 17 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

कविताको सहर पोखरा

(1 Vote)
पोखरा एक पटक मात्रै पनि घुम्नु भएको छ भने पोखरा सुन्नासाथ अन्नपूर्ण हिमशृङ्खला मुस्कुराउँछ हृदयमा । सुन्दर नगरी पोखराका मनमोहक दृश्य र त्यसैलाई म्यूजिकल चेयरका कुर्चीहरूले झैं घेरि बसेका आकर्षक थुम्काथुम्कीमा पनि ठोकिन सक्नु हुन्छ । के त्यही भूगोल मात्रै हो त पोखरा ?
nepalipatr-april
धर्मराज, झलकमान, अलिमियाँ, सरोजगोपाल, सोम, हरिदेवीदेखि पुरुषोत्तमहरूसम्मको लोकजीवनको भाखा हुँदै अमृत, कर्णदास, रामभक्तदेखि विनोद बानियाँसम्मको गायकी अथवा नेपाली कलाका शिखर पुरुष दुर्गा बराल र उनका अनुयायीहरूले बनाएको पानी रङको सहर पनि त पोखरा हो । कहिले नाटक मञ्चन त कहिले मुक्तक वाचनका कार्यक्रमहरूले चर्चामा आइरहने यो सहरको परिचय शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता, संस्कृति या पर्यटनसँग पनि त जोडिएको छ ।

त्यसो त, लेखनाथ पौड्यालले स्थापित गरेको परिष्कारवादी काव्य लेखनको ऐतिहासिक पृष्ठभूमिमा पोखरामै रहेर अलग्गै साहित्यिक परिचय बनाएका सरुभक्त, मुकुन्दशरण, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, विनोद गौचन तथा प्रकट पगेनी 'शिव' र उनका समवयी तथा अनुयायीहरूले खनेको साहित्यिक राजमार्ग अथवा यो क्षेत्रको अग्रणी वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवार र त्यस्तै प्रकृतिका अन्य वाङ्मयिक सङ्घ संस्थाहरूको रचनात्मक क्रियाशीलताले पनि पोखराको परिचय स्थापित गर्न अहम् भूमिका खेलेको छ ।

त्यसैले पोखरा चिन्ने, चिनाउने, बुझ्ने, बुझाउने अनेकन आयाम हुन सक्छन् । यो आलेखमा यी तमाम विषयलाई गर्भमैै छाडेर पोखरामा पछिल्लो समय क्रियाशील केही प्रतिनिधि कविको कवितागत प्रवृत्ति मार्फत पोखरा खोज्ने कोसिस गरिएको छ ।

सुन्दर र आकर्षक ढङ्गले सजाउँदैमा झुम्राको पुतलीमा प्राण कहाँबाट भरिन्छ र ? कविताको प्राण भनेकै त्यसको कवित्व हो, भाव हो, विचार हो । कविता आत्मसम्बोधन पनि हो । जतिजति व्यापक र गम्भिर संवेदना समेट्छ कविताले, कविता उतिउति जीवन्त र कालजयी बन्छ । जुनकीरी नै सहि, कविता आँफै बल्ने उज्यालो हो । हृदयको सुखानुभूति, आक्रोशको अग्नि वर्षा वा विद्रूपको रन्को सबै भोगेको हुन्छ कविताले । कविता जीवन हो र जीवन कविता पनि । कविताको कुनै निर्दिष्ट व्याकरण, बाटो या परिभाषा हुँदैन र हुनु हुँदैन । त्यसैले कविता भनेको कविता हो र यो कविता जस्तै हुनुपर्छ ।

आफू र आफ्नाले जे लेखे पनि कविता भयो तर अरू र अरूकाहरूले जस्तो लेखे पनि कविता भएन भनेर नाक खुम्च्याउनेहरूको ठूलै जत्था छ नेपाली कवितामा । जाति, धर्म या नश्लको घेराबन्दीमै रमाउनेहरूको जमात पनि छँदै छ । कवितालाई भारदार बनाउनेहरूदेखि सत्ताको सत्तोसराप गर्ने र आफ्नै भजन मण्डलीमा रमाउने प्रचलन पनि चलेकै छ । मौलिकपन अभावको आरोप पनि झेल्दै आएको छ कविताले ।

यी सबैको छिटफुट प्रभाव सायद पोखरेली कवितामा पनि कताकति देखिएला र पनि औसतमा पोखरेली कविका कविता त्योभन्दा माथि छन् भन्ठान्छु म । पोखरा जस्तै सुन्दर छन् पोखरेली कविता । पोखरेली कविताको आफ्नै सुवास छ ।

आजभोलि कविताको कुरा होस् र त्यहाँ सरस्वती प्रतीक्षाको कुरा नहोस्, सायद त्यस्तो नहोला । पोखरामै रहेर नेपाली कविताको केन्द्रमा हस्तक्षेपकारी भूमिका खेल्ने समकालीन कवि मध्येकी एक कवि हुन् सरस्वती । उनी अहिले पूर्णकालीन लेखक जस्तै भएकी छिन्–

तपाई नै भन्नुस् श्रीमान् ।
सास फेर्नु मात्रै बाँच्नु कसरी हुन्छ हँ ?
यी तमाम अपराधहरु मैले केबल बाँच्नका लागि गरेकी छु
बाँच्नु अपराध हो भने म अझै हजारौँ हजार अपराध गर्न तयार छु ।
– अपराधी

गृहस्थी, घर व्यवहार र पारिवारिक माया पनि त कविता हो । नारी, सृष्टि या आमाभन्दा महान् कविता अरू के हुन सक्छ ? पोखरामै रहेर कविता कर्ममा लागेका थुप्रै नारी स्रष्टा छन्, कोही पारिवारिक जञ्जालले ओझेल परेजस्ता पनि लाग्छन् र पनि नेपाली कवितामा आफ्नो स्पष्ट उपस्थिति जनाइसकेकी कवि सरस्वती श्रेष्ठ 'सरु' शिष्ट, शालिन, सरल अनि मर्मस्पर्शी कविता लेख्ने कविको नाम हो–

आमा हुनु भनेको
पाठेघर सजाउनु मात्र कहाँ हो र ?
आमा हुनु भनेको हृदय सत्तलबाट
मातृत्वको अनुराग छचल्काउनु पनि हो
नानीहरूका सँगसँगै मेरो पनि त आमा भएका छन् उनी
मसँग जत्तिकै रत्तीनजानेछ उनीसँग पनि
यो भान्सा, यो चुल्हो अनि चुलेसी
– उनी अचेल आमा भएका छन्

जङ्गलका सबै विरुवा रुख बन्छन् या बन्दैनन्, बन्न पाउँछन् या पाउँदैनन्, त्योत भन्न कठिन छ तर साँच्चै रुख बन्ने तरखरमा छन् धेरै विरुवा पोखरेली कवितामा । जस्तो कि, अमृत सुवेदी 'गुराँस' –

मागेर पनि कसैले पाएन
जस्तो कि
रगतको मूल्य
पसिनाको भाउ
लिलामी घर खेत
सिउँदोको सिन्दुर
बेपत्ता खसम
र पनि
वर्षाैदेखि उही मागिरहेछन्– मान्छेहरू !
– तयारी

भूइँचालो, नाकाबन्दी, कालोबजारी, मूल्य वृद्धि, इन्धन सङ्कट आदि÷इत्यादि पनि निकै छायो कवितामा । समय सचेत कविहरू समय टिप्छन् कवितामा र समयलाई खबरदारी पनि गर्छन् । गीत लेखनमा बढी रमाउने कवि जीवन सागर भण्डारी लेख्छन्–

त्यहीँ देखिन्छन्, भोका पेट
त्यहीं देखिन्छन्, नाङ्गा घर
घाइते तन र विदिर्ण मनहरू
सायद
छातीभरि देश मनग्ये धड्किएको छ तिनको ।
– राहत

सामाजिक विकृति, विसङ्गति माथि खबरदारी गर्दै समयसँगै पौठेजोरी खेल्ने र अझै पठन संस्कृतिको पक्षमा लागि परेका लेखक तथा अध्येता गनेस पौडेल सापेक्षमा कविता अलिक कम लेख्छन् तर जमेर लेख्छन्–

यहाँ जत्ति नुहाए पनि पाइन्छ
तातो आँसु वा चिसो पसिना दुवेैको व्यवस्था छ
आलो रगतको व्यवस्था त इतिहास देखुन कै छ
ढुक्क हुनु
यहाँबाट फर्कंदा
मज्जाले पाइन्छ दुधले पखाल्न
म धेरै बोलेँ ?
यति त बोल्नै पथ्र्याे !
– 'तनाबोटल' मा स्वागत छ ।

पछिल्लो समय पोखरामै रहेर कवितामा आफ्नो अलग्गै मुहार बनाउने यात्रामा लागिपरेका भरोसा लाग्दा युवा कवि हुन्– सुमन लम्साल । 'इन्सास' को नामबाट क्रियाशील उनी र उनका साथीहरुको जमात कवितामा सधैँसधैँ केही फरकपन खोजिपस्छन् । यो समूहबाट धेरै आशा गरेको छ, पोखरेली कविताले । साउदी अरबमा फाँसीको प्रतीक्षामा बसेका प्यालेस्टाइनी कविलाई सम्बोधन गर्दै सुमन लेख्छन्–

म तिम्रो देशभित्र
एक टुक्रा रोटीका निम्ति
लाइनको अन्तिममा बसेको एक शरणार्थी
धन्य ! तिमीले मलाई मार्ने वचन दियौ
नर्क छाडेर म
मेरो देश जान पाउने भएँ ।
त्यसो त, असरफ फयादप्रति नै समर्पित गर्दै कवि कल्पना चिलुवाल लेख्छिन्–
फरफराइरहेको झन्डा
हावाले हो
यति सजिलो कुरा पनि
नबुझेर
झन्डा नै थुतेर फाल्ने
मुर्खहरू हो
सक्छौ भने
हावालाई बहनबाट रोक ।

केमिकल र इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका एक जोर कविहरु क्रमशः चैतन्य अधिकारी र वसन्त गौतम पनि समकालीन युगका बिम्बहरू टिपेर साना कद र काँटीका सरल, सहज तर बौद्धिक गहिराइयुक्त कविता लेख्न रुचाउँछन्– लमजुङमा जन्मेर अध्ययनको सिलसिलामा पोखरा झरेर पोखरेली जस्तै बनेका रुपिन्द्र 'प्रभावी' जोशी समाजको कुरीति र कुप्रथाका विरुद्ध सशक्त कलम चलाउने युवा लेखकको नाम हो । उनी खास गरी आगोको कविता मन पराउँछन् । विद्रोह बढी रुचाउँछन् र अँध्यारोको विरुद्ध जेहाद छाड्छन् कवितामा–

अज्ञात जस्तो भूमिगत रात सम्झेर
आगत र विगतका अक्षरहरूको सम्मानमा
जति पोख्नु हुन्छ तपाईं पसिना माटोमा
उति नै फल्छ आगोमा
उज्यालोको दाना ।

'बाटोहरू' शीर्षकमा शृङ्खलाबद्ध कविता लेखिरहेका र समसामयिक राजनैतिक तथा सामाजिक विषयलाई टपक्कै टिपेर छोटा, छरिता कविता लेख्ने र रोचक ढङ्गले सुनाउने सौगात पोखरेलको शैली रोचक लाग्छ–

यो बाटोमा हिँडेका
हरेक मान्छेहरूको अनुहार पढेकी छु मैले
तर भेटेकी छैन
मेरो छोरो जस्तो अनुहार
जो वर्षाै पहिले
देश बनाम्छु भनेर
यही बाटो गएको थियो ।

यतिखेर, नेपालको अग्रणी वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा रहेका सुरेश रानाभाट जीवनवादी कविता लेख्न रुचाउँछन् । उनको रातो प्रेम र सङ्घर्ष प्रेम दुवै प्रिय लाग्छन्–

जीवन आफ्नै रङ्गसम्म
रुपियाँमा साटिने सुन होइन
सत्ताको स्तुतिमा बज्ने धून होइन
जीवन त सङ्घर्ष हो सङ्घर्ष
सङ्घर्ष अर्थात् लालुपाते
लालुपाते अर्थात् सङ्घर्ष
– लालुपाते

प्रेम, जीवन र कविता एक अर्काबाट छुट्याउनै मुश्किल लाग्छ । 'प्रेम कविता र कवितामा प्रेम' दुवै उत्तिकै जमेको छ पोखरामा । कवि मन छेत्रीको 'योजना' पनि रमाइलो छ–

बेइमानीले
हरदम दिलमा उडिरहने
रंगिन पुतलीको हत्या गरे पछि
यही शरीरलाई घार बनाएर
अब,
भँवरापालन सुरु गरुँ कि
सोच्दै छु ।

सपाट वर्णन हुन्न कवितामा । कविताको आफ्नै भाषा हुन्छ । कतिपय प्रसङ्गमा कवितामा प्रयुक्त बिम्ब, प्रतीक र त्यसको गुरुत्वमा रहेको सन्दर्भहरू पनि बुझ्नु जरुरी हुन्छ कविता बुझ्न । त्यसैले त कविताले केही खास पाठकको अपेक्षा राख्दछ । त्यस्तै कोटिका कविता लेख्न रुचाउनेहरू पनि थुपै छन् पोखरामा । त्यहि पङ्क्तिमा देखिन्छन् कवि शरण आँसु–

विषय सुखमा आशक्त
राजा ययाति
छोरासित
कहिले यौवन माग्छ
यो असमयको प्रतीक
समयसितको प्रतिसोध हो ।
– असमय

कुनै बेला पोखरामै रहेर नेपाली कविताको मेलो पसेका भूपिन, सरिता, भोजराज या निष्प्रभ सजीहरूका कवितामा पोखरेली सुवास स्पष्ट भेटिन्छ । त्यसो त एकताका, पोखरेली कविता कर्ममा क्रियाशील कविहरू युमा, रोशन शेरचन, राजकुमार बगर, धनप्रसाद तामाङ, तीर्थ गुरुङ र जे. अस्मिताहरू अहिले कवितामा छन् या छैनन्, पाठकहरूलाई हम्मेसी थाहा हुँदैन । र पनि, उनीहरूका कवितामा पाइने शक्ति र सुवास पनि पोखरेली चामल जस्तै छ । पोखरा जहाँ कविताका कार्यक्रमहरु भइरहन्छन् र पोखरेली कविताको मेलामा भेटिने उर्जाशिल कविहरु जसको कविताको शक्ति र सामथ्र्यले पोखरा कविताको सहर जस्तो लाग्छ, त्यस्ता कविहरुको लामैलर्काे छ । त्यही लर्काेमा भेटिन्छन् – लक्ष्मण थापा, इन्द्र राना 'प्रतीक', कृष्ण उदासी, दीपक समीप, अल्पज्ञानी, राजेन्द्र पौडेल, प्रकाश ज्ञवाली, रीता अधिकारी 'ऋतु', लक्ष्मी थापा, सुरज उपाध्याय र अन्य थुप्रै कविहरु । लाग्दैछ, सम्झिएका भन्दा छुटेका धेरै छन् नामहरु ।

'आजकल कविता लेख्नै छाडियो त ! किन हो ?' यसो भन्दा कहिलेकाहीँ कतिपय कवि साथीहरू भन्छन्– 'कविता लेख्नु के कुनै जागिर हो र ? नियुक्ति लिएर थाल्नु पर्ने अनि खबर गरेरै छाड्नु पर्ने ? मन लागे लेखिन्छ, नलागे लेखिन्न !' यसो सोच्यो, हो पनि !

पोखरा, जहाँ कविताका कार्यक्रम भैरहन्छ्न । कविता उत्सव, कविता कन्सर्ट, समता काव्य सन्ध्या तथा कविता केन्द्रित रचना वाचन शृंखला, कविता विमर्श तथा गोष्ठी एवं अन्तरक्रियामा देखिएको कविता प्रेमीको उत्साह र कविको प्रस्तुति हेर्दा पोखरा र कविता वीचको दोस्ती जमेको प्रतीत हुन्छ । यहाँका छापा तथा विधुतीय मिडियामा कविताले प्राप्त गरेको स्थान र महत्व सन्तोषजनक नै मान्नुपर्छ ।

पोखरा आफैंमा आफ्नो केन्द्र पनि हो । यति हुँदाहुँदै पनि कविता कर्ममा लागि परेका हामी अधिकांश कविमा समकालीन नेपाली कविता तथा विश्व साहित्यमा कविताको आधुनिक ट्रेन्ड तथा मान्यताको गहन अध्ययन गर्ने रुचि तथा धैर्यताको भने अलिक अभाव छ । कविता लेखन आफैमा साधना हो, त्याग हो र एक जटिल अनुष्ठान पनि हो ,जुन त्यति सहजै प्राप्त हुँदैन जो हामी सोचिरहेछौं ।

टुङ्ग्याउनु अघि, कवि मुकुन्दशरण उपाध्यायको कृति 'प्राकृत पोखरा' बाट दुई पङ्क्ति साभार–

मिल्काऊ यात्री यो काव्य आऊ हेर्न छिटोछिटो
पढेको पोखरा भन्दा देखेको पोखरा मिठो ।

Leave a comment

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...