८ वैशाख २०८१ शनिबार
समाज

कहिले हट्ला माइतीघर-थापाथली ट्राफिक जाम?

ललितपुर- काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो समस्यामध्ये प्रमुख हो सडकमा ट्राफिक जाम। ट्राफिक जामबाट सबैभन्दा बढी सास्ती दैनिक खेप्नुपर्छ विद्यार्थी, कर्मचारी र सर्वसाधारणले। राजधानीको सबैभन्दा बढी जाम हुने सडकखण्डमा पर्छ माइतीघर–थापाथली र त्रिपुरेश्वर–टेकु–थापाथली। यहाँ गुड्ने सवारीसाधन ट्राफिक जाममा नफसी धर पाउँदैनन्। माइतीघर–थापाथली जामले कहिलेकाहीँ सिंहदरबारसम्म सवारीसाधन दोहोरीलत्त देखिन्छन्। हालै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको सर्वेक्षणमा पनि उपत्यकामा सबैभन्दा बढी ट्राफिक जाम हुने माइतीघर–थापाथली सडकखण्ड हो। कोटेश्वर–बानेश्वर–माइतीघर सडकखण्ड ६ लेनको छ। तर माइतीघर–थापाथली सडकखण्ड ४ लेनको मात्र भएकाले कोटेश्वर र सिंहदरबारतर्फबाट आउने सवारीसाधन माइतीघरमै ट्राफिक जाममा पर्छन्।

यो सडकखण्डमा एक मिनेटमा १ सय ५० भन्दा बढी चारपांग्रे सवारी र २ सय मोटरसाइकल गुड्ने गरेको ट्राफिक प्रहरीको सर्वेक्षणले देखाएको छ। सडक साँघुरो भएकाले थापाथली सडकखण्डमा जाम हुने ट्राफिक प्रहरीको निष्कर्ष छ। 'यो सडकखण्ड उपत्यकाको बढी ट्राफिक जाम हुने खण्डमध्ये पर्छ,' ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज इन्स्पेक्टर सिताराम हाछेंथुले भने, 'यसको समाधानको उत्तम उपाय सडकमा ट्राफिक लाइट जडान गर्ने र सुन्धारा–बागबजार–त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन एकतर्फी सञ्चालन गर्नु हो।'

पाटन र भक्तपुबाट राजधानी भित्रिन र सुन्धारा, सिंहदरबार, न्युरोडलगायत मुख्य ठाउँमा पुग्न माइतीघर–थापाथली नाका नै प्रयोग गर्नुपर्ने बाध्यता छ। यहाँबाट गुड्ने सवारीसाधनलाई वैकल्पिक सडकमार्ग नहुँदा माइतीघर–थापाथली सडकखण्ड सबैभन्दा व्यस्त भएको हो। ललितपुर र भक्तपुरबाट राजधानीको प्रमुख भित्री सहर प्रवेश गर्न सर्वसाधारणले यो सडकखण्डबाट यात्रा गर्नुपर्छ।

ट्राफिक जामबारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकन्द्र मल्लले एक्लो ट्राफिक प्रहरीले मात्र समस्या समाधान गर्न नसक्ने बताए। उनले भने, 'माइतीघर–थापाथली सडकखण्डमा हुने जाम न्यून पार्न सडक विस्तार गर्नु नै उत्तम उपाय हो। हामीले यसका लागि सडक विभागसँग छलफल थालेका छौं।'

अहिले यो सडकखण्डमा देखिएको ट्राफिक जाम घटाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार जनशक्ति परिचालन गरिने एसपी मल्लले जानकारी दिए। उनका अनुसार राजधानीमा सबैभन्दा बढी ट्राफिक परिचालन भएको क्षेत्र पनि यही हो।

सडकमा सवारीसाधनको ठूलो लर्को हुने हुँदा बटुवाले सडक वारपार गर्न पनि धेरै समय पर्खनुपर्छ। यसबारे सडक विभागका प्रवक्ता दयाकान्त झाले सडक विभागसँग यो सडक सुधारको कुनै योजना नभएको बताए। उनले भने, 'यो सडकको यथेष्ट मापदण्ड छैन। काठमाडौं उपत्यका विकास प्राधिकरणले स्वीकृति दिएपछि मात्र हामीले काम थाल्ने हो, तर प्राधिकरणले यसतर्फ कुनै चासो दिएको छैन।'

काठमाडौं उपत्यका विकास प्राधिकरणले यो सडकखण्डमा आकासेपुल राख्न जाइकाले अध्ययन गरेको जनाएको छ। 'जाइकाले प्रतिवेदन दिएपछि मात्र हामी काम थाल्छौं,' प्राधिकरणका कार्यकारी प्रमुख भाइकाजी तिवारीले भने, 'आकासेपुलको डिजाइन हामीले तयार गरिसकेको छौं, तर जाइकाको प्रतिवेदन सकारात्मक आयो भने मात्र हामी काम अघि बढाउँछौँ।'

यो सडकखण्ड अत्यन्त व्यस्त हुँदा ट्राफिक प्रहरीलाई ट्राफिक नियन्त्रण गर्न समेत हम्मेहम्मे परेको ललितपुरका ट्राफिक इन्चार्ज हाछेंथु बताउँछन्। उनका अनुसार यो समस्या तत्काल समाधान हुने देखिँदैन। ट्राफिक प्रहरीका अनुसार सडक विभागको सक्रियता नहुनु र काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको जाम न्यून पार्न नयाँ कदम नचाल्नुले पनि ट्राफिक जामको सकसबाट सवारीचालक र सर्वसाधारणले तत्काल उन्मुक्ति पाउने सम्भावना छैन।

प्रकाशित: २१ मंसिर २०७३ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App