coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चक्रपथभित्र नयाँ ट्राफिक नियम

काठमाडौं- काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम घटाउन यातायात व्यवस्था विभागले चक्रपथ (रिङरोड)भित्र नयाँ ट्राफिक नियम लागू गर्ने तयारी गरेको छ। नयाँ नियमअनुसार विद्यार्थी बोक्ने सवारीसाधन बिहान ९ बजे विद्यालय पुगिसक्नुपर्ने हुन्छ। दिउँसो ४ः३० बजे विद्यार्थी घर पुर्‍याएर फर्किसक्नुपर्ने हुन्छ। त्यसैगरी बिहान ९–११ बजे र बेलुका ४–६ बजेसम्म पेट्रोलियम पदार्थ र पानी बोक्नेबाहेक अन्य कुनै साना ठूला सवारीसाधनले चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन्। यसअघि कार्यालय समयमा मालवाहक ट्रक चक्रपथभित्र प्रवेश निषेध गरेकोमा अब भने मिनी टाटा र डेलिभरी भ्यान सबै निषेध गरिएको हो।

‘चक्रपथ बाहिर नै ट्राफिक व्यवस्थापन चुनौती भइसक्यो,’ यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘चक्रपथभित्र कति चुनौती छ, कुरै नगरौं,’ उनले थपे, ‘चुनौती घटाउने प्रयासस्वरुप केही गरौं भनेर नयाँ नियम लागू गर्न लागेका हौं।’ पाण्डेका अनुसार विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ट्राफिक निर्देशनालय, उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंलगायत सम्बद्ध निकायको संयुक्त छलफलले चक्रपथभित्र नयाँ नियम लागू गर्ने निर्णय गरेको हो।

नयाँ नियम लागू भएपछि चक्रपथ भित्रबाट विद्यार्थी बोक्ने सवारीसाधन समस्यामा पर्ने देखिन्छ। ‘नियम लागू भएपछि चक्रपथ भित्रबाट विद्यार्थी बोक्ने सवारीसाधनले समय परिवर्तन गर्नुपर्ने हुन्छ,’ प्रवक्ता डा. पाण्डेले भने, ‘नियम उल्लंघन गरे कारबाही हुन्छ। तसर्थ विद्यालयले नै बुझेर अध्यापन समय फेरबदल गर्नुपर्‍यो।’ उनले नियम कार्यान्वयन गर्न ट्राफिक प्रहरी महाशाखालाई विभागले पत्र पठाइसकेको जानकारी दिए। परिपत्र भइसकेकाले चाँडै नै नियम कार्यान्वयनमा आउने पाण्डेले जनाए।

ट्राफिक प्रहरी महाशाखाले भने नियम लागू भइसकेको जनायो। ‘नियम लागू भइसक्यो,’ महाशाखाका डिएसपी सविन  प्रधानले भने, ‘अहिले हामी सबैलाई जानकारी गराउने चरणमा छौं। नियम लागू गरे पनि कारबाही भने थालको छैनौं।’ प्रधानले आगामी सातादेखि नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिने जनाए। यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रवेश निषेध समयमा प्रवेश गरे ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ।

त्यसैगरी महाशाखाले सार्वजनिक सवारीसाधनमा यात्रु उभ्याउन नपाइने नियम पनि कडाइपूर्वक लागू गर्न लागेको प्रधानले जानकारी दिए। उनले यात्रुलाई जम्पर (सवारीसाधनको खाली ठाउँमा आवश्यकता अनुसार फोल्ड गर्न मिल्ने) सिट राखी बस्ने व्यवस्था गर्नुपर्ने बताए।

२० वर्षे सवारीसाधन फागुन १९ बाट हटाइने

विभागका अनुसार देशभर साना ठूला निजी तथा सार्वजनिक गरी २२ लाख बढी सवारीसाधन दर्ता भएका छन्। तीमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् करिब १२ लाख सवारीसाधन काठमाडौं उपत्यकामा गुड्छन्। सवारी दर्ता बढीरहे पनि नयाँ सडक निर्माण र विस्तार हुन सकेको छैन। अर्कोतिर पुराना सार्वजनिक सवारीसाधनले सहर कुरुप बनाउनुका साथै ट्राफिक जाम, प्रदूषण र दुघर्टना बढाइरहेकाले फागुन १९ गतेदेखि २० वर्षे पुराना सवारीसाधन सडकमा गुड्न नदिने विभागले दाबी गरेको छ।

‘२०७१ फागुन १८ मा २ वर्षभित्र २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउने सूचना राजपत्रमा प्रकाशित गरिएको थियो,’ प्रवक्ता पाण्डेले भने, ‘आगामी फागुन १८ गते सूचना जारी भएको २ वर्ष पुग्छ। १९ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन पनि गुड्न दिइने छैन।’ २० वर्षे पुराना सवारीसाधन हटेपछि भने ट्राफिक व्यवस्थापन केही सहज हुने विभागले जनाएको छ। नेपालमा हुने कुल मृत्यु हुनेमध्ये ७ प्रतिशत मृत्यु सवारी दुघर्टनाले हुने गरेको छ। अधिकांश दुघर्टना पुराना सवारीसाधनका कारण हुने गरेको बताउँदै २० वर्षे सवारीसाधन हटेपछि दुघर्टना प्रदूषण समेत घट्ने विभागले जनायो।

प्रकाशित: २१ मंसिर २०७३ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App