४ वैशाख २०८१ मंगलबार
समाज

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान्

काठमाडौं–तपाइँको सम्पर्कमा आउने कुनै ब्यक्तिले आफ्नो निकटका सरकारका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी वा त्यस्तै प्रभावशाली ब्यक्तिसँग रहेको बारम्बार देखाउँछ भने होसियार हुनुहोस। यस्ता ब्यक्तिले लगाउने पोशाक र मोटरगाडीको आवरणमा तपाइँ ठगिन सक्नुहुन्छ।
प्रहरीले पछिल्लो समय उच्च पदमा रहेका ब्यक्तिसँगको भेटघाट, सम्पर्क र तस्बिरका आडमा ठगिनेको सख्या दिनुहँ बढेको जनाएको छ। काठमाडौं र ललितपुर प्रहरीले केही दिनयता कारवाही चलाई रहेका दुई ब्यक्ति बाहेक यसअघिका विभिन्न घटनामासमेत ठगले प्रभावशाली ब्यक्तिसँगको निकटतालाई ठगीको हतियार बनाएको खुलेको छ।

काठमाडौं प्रहरी हिरासतमा रहेका नवलपरासीका इश्वरीप्रसाद पोखरेलले ब्यक्ति ठग्न स्थान अनुसारको परिचय दिन्थे। फोनमा माओवादी केन्द्रीय नेताको स्वर र हाउभाउमा कुरागर्ने पोखरेलले २०६७ यता बर्षेनी देशका विभिन्न भागका फरक प्रकारका ठगी गरेको तथ्याँक प्रहरीले केलाउँदै छ।

प्रहरी अनुसन्धानमा पोखरेल २०७२ को सुरुवातदेखि केही महिना कांग्रसश नेता तथा पूर्व मन्त्री भक्तबहादुर बलायरको निकट रहेको समेत खुलेको छ। तत्कालीन गृहमन्त्री बामदेब गौतमको नाममा दर्जनौं युवासँग राष्ट्रिय अनुसन्धान विभागमा जागिरको प्रलोभन देखाएर लाखौं ठगेका पोखरेलले बलायर समेतबाट चारलाख ठगी गरेको खुलेको छ। पोखरेलले आफूले भेटने युवालाई बलायरसँगै रहेका समय भेट्ने र एकपटक बलायरकै निम्तामा धनगढीसम्म पुगेका थिए।

हाल प्रहरीमा दिएको उजुरीमा एक युवाले बलायरको निकट देखेपछि आफूहरुले विश्वासमा रकम दिएको उल्लेख गरेका छन्। बलायरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल एक युवाले उठाउँदै आफू छोरा भएको र केही थाहा नभएको बताए। महानगरीय अपराध महाशाखाले बिहीबार पक्राउ गर्दा पोखरेलले काठमाडौं बाहेक बुटवल, तौलिहवा, सुनसरी, नेपालगञ्ज र धनगढीमा ठगी गरेको र सजाय पाएको यकिन तथ्याँक थियो।

ललितपुर प्रहरीको हिरासतमा रहेका मनोजकुमार सिंहको ठाँट नै उनको ठगीको हतियार बनेको थियो। आफूलाई दरबारको सदस्य भएको बताउने उनले सरकारका मन्त्रीलाई दिएको महँगो फूलको गुच्छासँगै खिचेको तस्बिरले धेरै युवायुवतीलाई झुक्काएको खुल्दैछ। सिंह पनि फौजदारी अभियोगमा प्रहरी हिरासतको अनुभव गरिसकेका पेशेवर हुन्।

ललितपुर प्रहरीले नै गत वर्ष असोजमा पक्राउ गरेका राजकुमार चापागार्इंले त आफूलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पिए बसन्त गौतमको नाममा ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई नै फोन गरेका थिए। चापागाईंले ठगेका युवायुवतीले बयानमा आफूलाई तत्कालीन समान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सिंहदरबारस्थित मन्त्रालय र पुल्चोकस्थित निवासमा बोलाउने गरेको बताएका थिए।

यस्तै प्रहरी कारवाहीमा परेका कराते महासँघका महासचिव केदार सिवाकोटी, बैकुण्ठ बेल्बासे, अम्मर बिक, बलराम परियार र लक्ष्मी परियार यस्ता नाम हुन जसले ठगीका लागि प्रधानमन्त्री, मन्त्री र सरकारी उच्च ओहदामा रहेका ब्यक्तिसँगको निकटता र सम्पर्कलाई हतियार बनाएका थिए।

‘जिम्मेबार पदमा रहेका ब्यक्तिले आफू निकट आउने ब्यक्तिका बिषयमा जानकारी राख्नुपर्ने देखियो, सर्वसाधारणले प्रभावशाली ब्यक्तिसँग सम्पर्क हुँदैमा गैरकानुनी काम हुँदैन भन्ने जान्नु पर्यो,’ ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने। उनले प्रहरीमा आउने ठगीका घटनामा अधिकांशले फलानो ब्यक्तिसँगको निकटता देखायो, विश्वास गरियो भन्ने जवाफ दिने गरेको बताए। ललितपुर प्रहरीमा सिंह बिरुद्ध उजुरी दिनेको सख्या दिनहुँ बढिरहेको छ। उजुरीको सख्या अझै बढनसक्ने प्रहरीको भनाइ छ।

महाशाखाले २०६७ माघ १८ मा सार्वजनिक गरेका पोखरेलले सोही वर्ष   मंसिर १४ गते किष्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत कमल ज्ञवालीलाई माओवादीको डेपुटी कमाण्डर जर्नादन शर्माको आवाजमा फोनगर्दै  नेत्रबिक्रम चन्द विप्लबको बैंक खातामा १२ लाख जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका थिए। महाशाखाका अनुसार जर्नादन शर्मा, चन्द, हिमाल शर्मा र प्रविण ढकालका नाममा बैंक खाता खोलेका पोखरेलले नेताकै नाममा देशभर रकम असुलेका थिए।
महाशाखाले काठमाडौं जिल्ला अदालतमा बुझाएको ठगी मुद्दामा  २१ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका पोखरेलको नाम दुई वर्षपछि कपिलवस्तुमा भएको अर्को ठगीमा मुछियो।  

उनै पोखरेल कपिलवस्तुमा माओवादी नेता अग्नी सापकोटा र लेखराज भट्टको जस्तो बोली बनाएर फोनबाट पैसा मागेर लाखौं रुपैया ठगी गरेको आरोपमा प्रहरीले पोख्रेललाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो । पोखरेलले यसपटक गुण्डा नाइके दिपक मनांगेसँग आफू माओवादी नेता लेखराज भट्ट हो भनी २ लाख रुपैयाँ आइएमई मार्फत माग गरी ठगी गरेको प्रहरीले त्यतीबेला जानकारी दिएको थियो। कपिलवस्तुको गोरुसिंगेका मनी ट्रान्सफर संचालक पुष्पराज न्यौपानेसँग टेलिफोनबाट रकम माग गरेपछि न्यौपानेले प्रहरीलाई खबर गरेका थिए ।

कपिलवस्तुमा केही महिना कारागारमा बिताएका उनै पोखरेल माघ ५, २०७१ मा सुनसरीको झुम्का कारागारमा नक्कली डिएसपी बनेर कैदी भेटन गएका समय पक्राउ परे । बा १ च १८१६ नम्बरको निजी गाडीमा श्रीमती र छोराछोरीसँगै कारागार पुगेका पोखरेलले आफू डिएसपी प्रविण पोखरेल भएको बताउँदै कारागारमा रहेका नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेललाई भेट्न गएका थिए।

अपहरण मुद्दामा कारागारमा रहेका पौडेललाई पोखरेलले आफू राजु अर्याल भएको बताउँदै फोनसमेत गर्ने गरेको अनुसन्धानमा खुलेको थियो। सुनसरीमा सार्वजनिक अपराधमा केही दिन थुनामा बसेका पोखरेलले त्यसको केही समय पछि नै काठमाडौंमा बलायरसँग सम्पर्क बढाएको अनुसन्धानमा खुलेको हो। यस्तै पोखरेल बिरुद्ध जर्वजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी भै रहेको महाशाखाले जनाएको छ । पोखरेलको सम्पर्कमा रहेकी एक महिलाले आफूलाई बारबम्बार विभिन्न प्रलोभन देखाउदै करणी गरेको उजुरी महाशाखामा दिएकी हुन।

‘आरोपी बिरुद्ध काठमाडौं, बुटवल, तौलिहवा, नेपालगञ्ज र धनगढीसम्म कारवाही भएको प्रमाण फेला परेको छ, थप खोजी भै रहेको छ,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने। पोखरेलले काठमाडौंमा दुई नाम चलेका बैंक संचालकलाई आफू नेकपा माओवादीका प्रभावशाली नेता भएको बताउँदै ठगेका थिए। उनका अनुसार वैदेशिक रोजगार, सरकारी जागिर र सुरक्षा निकायमा भर्नाका सम्बन्धमा महाशाखामा दिनहुँ  उजुरी आउने गरेको छ। खनालले यसरी आउने उजुरीमा आरोपीले सर्वसाधारण ठग्न आफ्नो पहुँच प्रभावशाली ब्यक्ती र संस्थासँग रहेको देखाउने गरेको खुलेको हो।

प्रकाशित: २१ मंसिर २०७३ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App