८ वैशाख २०८१ शनिबार
समाज

अझै देखेन सरकारले

जितेन्द्रकुमार झा/मिथिलेश यादव

राजविराज/लहान- नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का नेता विकास तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा अनशन सुरु गरेको १६ दिन पुगे पनि उनका मागप्रति सरकारले वास्ता गरेको छैन।

राज्यको बेवास्ताले कुनै बेलाको व्यवस्थित सगरमाथा अञ्चल अस्पताल 'रेफरल सेन्टर' मा परिणत भएको भन्दै सुधारका लागि उनले मंसिर ८ देखि आमरण अनशन थालेका हुन्। 

राज्यको निरीहता र प्रशासनको हैकमवादी रबैयाले अस्पतालको अवस्था दयनीय भएको उनले बताए।

छोराको उपचारकै क्रममा तिवारीले असोज ३ गते विभिन्न मागसहित अस्पताल प्रशासनलाई पहिलो ज्ञापनपत्र बुझाए। त्यसयता अनशन थाल्नुअघिसम्म उनले चारपटक ज्ञापनपत्र बुझाए पनि उनको माग सुनुवाइ भएन।

'गरिब, विपन्न र अन्यत्र पहुँच नभएका मात्रै यस अस्पतालमा उपचार गराउन आउने हुँदा नेता र ठूलाबडाले चासो व्यक्त गर्न छाडेका छन्,' उनले भने।

अस्पताल सुधारका लागि तिवारीले २६ बुँदे माग अघि सारेका छन्। यसमा अस्पतालमा भइरहेको आर्थिक अनियमितता छानबिनदेखि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, सरसफाइ, बिरामीको खानाको गुणस्तरलगायत छन्।

भदौ २९ गते तिवारी र उनकी पत्नी १६ महिने छोरा सौर्यन आर्सको उपचारका लागि अञ्चल अस्पताल पुगेका थिए। निमोनियाबाट पीडित छोराको उपचारका निम्ति उनी १० दिन अस्पताल बसे। '१० दिनको बसाइमा अस्पतालमा भोग्नुपरेको पीडा १६ दिनको भोकहडतालभन्दा बढी थियो,' तिवारीले भने, 'त्यति बेलै मैले यस्तो पीडा अरू अभिभावकले भोग्नु नपरोस् भनेर त्यसका लागि प्रयास गर्ने प्रण गरेँ।'

निमोनिया उपचार क्रममा बालरोग चिकित्सक डा. सरोजकुमार यादवले छोरालाई दिनको चारपटक 'नेमोलाइज' गर्न भनेकोमा अस्पतालमा उक्त सुविधासमेत नपाएको तिवारीले बताए। 'डा. यादवले नेमोलाइज गर्न २५ रुपैयाँको औषधि लाग्ने बताए पनि त्यो समेत पाइएन,' उनले भने।

यसबारे निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहलाई सोध्दा पनि समस्या समाधान नभएको, अस्पतालको सरसफाइ तथा बिरामीलाई दिने खानाको गुणस्तर तथा परिमाणमा अनियमितता रहेको तिवारीको भनाइ छ।

छोराको उपचारकै क्रममा तिवारीले असोज ३ गते विभिन्न मागसहित अस्पताल प्रशासनलाई पहिलो ज्ञापनपत्र बुझाए। त्यसयता अनशन थाल्नुअघिसम्म उनले चारपटक ज्ञापनपत्र बुझाए पनि उनको माग सुनुवाइ भएन।

अञ्चल अस्पतालको बेथिति छानबिन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउनुपर्ने, आफूले उठाएका अन्य माग पूरा गर्नुपर्ने र त्यो जानकारी दिन स्वास्थ्यमन्त्री गगन थापा आउनुपर्ने मागमा उनी अडिग छन्।

तिवारीले भने, 'जनताले सरकारी स्वास्थ्य सेवा सुलभ रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले अनशन थालेको हुँ, त्यो पूरा नभएसम्म बसिरहन्छु।'

सप्तरी नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव  तिवारीले सामूहिक हितका मुद्दा उठाएर सत्याग्रह थालेको बताउँछन्। उनी भन्छन्, ‘आफ्नो जीवन दाउमा लगाएर दुनियाँको हितका लागि लड्ने व्यक्ति मधेसमा थोरै छन्।’

 राष्ट्रिय मानवाधिकार आयोग, नागरिक समाज सप्तरी, नागरिक सञ्जाल सप्तरी, मधेसी नागरिक समाज सप्तरी, गैरसरकारी संस्था महासंघ, संयुक्त मधेसी लोकतान्त्रीक मोर्चा लगायतले तिवारीको ज्यान रक्षाका लागि उनले उठाएका माग अविलम्ब सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।  राजविराजस्थित विभिन्न उच्चमावि तथा क्याम्पसका विद्यार्थीले दिनहुँ तिवारीको समर्थनमा र्‍याली प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित: २४ मंसिर २०७३ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App