८ वैशाख २०८१ शनिबार
राजनीति

'संविधान कार्यान्वयन नभए संकट'

काठमाडौं- प्रमुख राजनीतिक दलका नेताहरूले संविधान कार्यान्वयन हुन नसके आन्दोलनबाट प्राप्त उपलब्धि नै संकटमा पर्ने बताएका छन्। महिला नेत्री मंगलादेवी सिंह स्मृति प्रतिष्ठाले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलका नेताहरूले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको पनि औंल्याए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधानको सफल कार्यान्वयनका लागि संशोधन जरुरी रहेको बताए। ९१ प्रतिशतको हस्ताक्षर रहेको यो संविधान कार्यान्वयनमा नआए संकट पैदा हुने जिकिर गर्दै सिंहले भने, 'नौ प्रतिशतलाई चित्त बुझाउन संशोधन दर्ता गरिएको हो। अहिलेको सवाल संविधान कार्यान्वयन गरेर व्यवस्था जोगाउने कि नजोगाउने भन्ने हो।'

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतासहितका उपलब्धि जोगाउन पनि संविधान कार्यान्वन आवश्यक रहेको बताउँदै उनले भने, 'संविधान जेछ त्यो तलमाथि गर्नै हुन्न भन्ने होइन। अहिलेको संविधान लचिलो छ। समय र जनताको मागअनुसार संशोधन हुँदै जान्छ।'

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले वर्तमान संविधान अपूर्ण रहेको बताइन्। 'मधेसी र थारुलाई सहमतिमा नल्याएसम्म संविधान कार्यान्वयन सम्भव छैन,' उनले भनिन्, 'संविधान संशोधन नगरे मुलुकमा फेरि अर्को द्वन्द्व निम्तिन्छ।'

प्रदेश सीमांकन हेरफेर गर्नु भनेको देश टुक्र्याउनु नभएको उनले बताइन्। उनले भनिन्, 'प्रदेश बनाउने भनेको बर्लिनको पर्खाल लगाउने होइन।'

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधानले आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित गराएको आरोप लगाए। विश्वले नेपालको संविधानलाई उत्कृष्ट माने पनि जनताले अधिकार पाएनौं भनेर अधिकार मागिरहेको जनाउँदै कर्णले भने, 'संघीयता भनेको पहाड र मधेस छुट्याउने भन्ने होइन, आफ्नो ठाउँमा आफैं शासन गर्ने भनेको हो।'

सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव पनि अपूर्ण रहेको जनाउँदै उनले भने, 'बीचको बाटोबाट समाधान खोजौं भनेर लागेका हौं।' संविधान बनाउन सक्ने संसदले संशोधन गर्नै नसक्ने तर्क बेतुकको भएको जिकिर उनले गरे।

एमाले उपाध्यक्ष वामदेव गौतमले मिलेर बसेका जनतालाई सरकारले संशोधनमार्फत विभाजन गर्न खोजेको आरोप लगाए। जनताको भावनाविपरीत कोही अघि बढ्न नसक्ने जनाउँदै गौतमले संशोधन प्रस्ताव र्फिता लिन आग्रह गरे।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले अँध्यारो कोठामा बसेर गरेको निर्णयलाई जनताले स्वीकार नगर्ने दाबी गरे।

प्रकाशित: ७ पुस २०७३ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App