८ वैशाख २०८१ शनिबार
अर्थ

'पर्यटन संघसंस्थामा राजनीतिकरण बढ्दो'

काठमाडौं- ट्रेकिङ व्यवसायीहरूले पर्यटन संघसंस्थामा पछिल्लो पटक राजनीतिकरण झन् तीव्र गतिले अगाडि बढेको बताएका छन्। ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना कार्यक्रम मूल्यांकन तथा नयाँ कार्यक्रम तर्जुमा गर्न सदस्यसँग कम्पनीको उपस्थितिमा मंगलबार आयोजना गरेको कार्यक्रममा व्यवसायीले राजनीतिकरणबाट पर्यटन क्षेत्र थप पछाडि धकेलिएको बताएका हुन्।

टानका वरिष्ठ उपाध्यक्ष टासील्हाक्पा शेर्पाले पर्यटन संघसंस्थामा बढ्दो राजनीतिकरण दुःखद भएको बताए। 'बरु आफ्नो राजनीतिक पहुँचलाइ समग्र पर्यटन क्षेत्रको समस्या तथा चुनौति समाधान गर्न प्रयोग गर्दा राम्रो हुन्छ,' उनले भने, 'हामीसँग प्रचुर पर्यटन सम्भावना छ तर उपभोग गर्न पूर्वाधार छैन। हाम्रा कार्यक्रमलाई भाषणमा सीमित नराखी कार्यान्वयनमा लान ढिलो भइसक्यो। सबै संघसंस्था मिलेर सरकारलाई सुझाव दिन र त्यसको कार्यान्वयनमा संयुक्त दबाब दिने बेला भइसकेको छ।'

टानको ३८औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा पूर्वअध्यक्षहरू सुमन पाण्डे, दीपक महत, ज्योति अधिकारी र महेन्›सिंह थापालगायत पूर्वपदाधिकारी, टान सदस्य, नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य कृष्णकुमार अर्याल र पूर्णबहादुर कुँवर, सदस्य कम्पनीका प्रतिनिधि, वर्तमान कार्यसमिति सदस्यलगायत उपस्थित थिए।

कार्यक्रममा टानका अध्यक्ष चन्›प्रसाद रिजालले वर्तमान कार्यसमितिले ल्याएका कार्यक्रम मूल्यांकन तथा आगामी वर्षको कार्यक्रम तर्जुमाका लागि कार्यक्रम गरिए पनि सदस्य कम्पनीको उत्साहप्रद उपस्थिति नभएको गुनासो गरे।

'यो दुःखद हो। सदस्य कम्पनीले गल्ती औंल्याएर सुझाव नदिए टानलाइ चुस्त बनाउन सकिन्नँ,' उनले भने 'कर्मचारी नियमावली र आर्थिक नियमावली टान सचिवालयलाइ प्रभावकारी र आर्थिक अनुशासन कायम गर्न ल्याउन लागिएका कारण मस्यौदामा सुझाव दिएर सहयोग गर्नुहोला।'

प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले पहिलो वर्ष गरेको कार्यक्रम तथा गतिविधि प्रस्तुत गरेका थिए। पूर्वअध्यक्ष थापाले टान कार्यसमितिले कुनै आग्रह/पूर्वाग्रह नराखी पुराना कार्यसमितिबाट भएका त्रुटिलाई कमजोरीका रूपमा चित्रण नगरी त्यसलाई सच्याएर अगाडि बढ्न आग्रह गरे।

अर्का पूर्वअध्यक्ष अधिकारीले वर्तमान कार्यसमितिले एकदमै खटेर काम गरेको भए पनि सरकारको नेतृत्व र नीतिगत अस्थिरताले प्रतिफल प्रभावित भएको बताए। 'बाहिर बसेर आलोचना गर्न सजिलो छ तर संस्थामा बसेर कार्यसम्पादन गर्न असाध्यै गाह्रो छ। मिडियामा फोटो छापेर, पुरस्कार थापेको आधारमा मात्रै मूल्यांकन हुँदैन,' उनले भने, 'व्यवसायीको पीडा–गुनासा कत्तिको सम्बोधन भएका छन्, पदयात्रा क्षेत्र कत्तिको मार्यादित र व्यवस्थित भएका छन्, त्यसका आधारमा मूल्यांकन गरिनुपर्छ।'

सचिवालयको कामकारबाही प्रभावकारी बनाउन 'हायर एनड फायर' नीति ल्याउनुपर्ने भन्दै अधिकारीले कार्यसम्पादन चित्त नबुझे कर्मचारी निकालेर योग्य कर्मचारी भर्ना गर्न कार्यसमिति तयार हुनुपर्ने सुझाव दिए।

त्यस्तै पूर्वअध्यक्ष महतले वार्षिक साधारणसभाअघि सदस्यमाझ कार्ययोजना तर्जुमाबारे छलफल गर्नु प्रशंसनीय भए पनि पुरानो कार्यक्रमलाई निरन्तरता दिएर नयाँ सुरुवात गर्न नसकेकोमा कार्यसमितिको आलोचना गरे।

कार्यक्रममा अर्थबाउन्ड एक्सपिडिसनका राजन सिंखडा, पूर्वमहासचिव सागर पाण्डे, फर्स्ट इन्भाइरोन्मेन्टल ट्रेकिङका ठाकुरराज पाण्डे, पूर्ववरिष्ठ उपाध्यक्ष केशव पाण्डे, पूर्वकोषाध्यक्ष अन्जन थापा, पूर्वप्रथम उपाध्यक्ष बच्चुनारायण श्रेष्ठ, हिमा ट्रेक्सका प्रशान्त रेग्मी, सातोरी एडभेन्चरका ऋषि भण्डारी, महासचिब कर्णबहादुर लामा, कोषाध्यक्ष लिलाबल्लभ दाहाल लगायतले धारणा राखेका थिए।

प्रकाशित: ७ पुस २०७३ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App