५ वैशाख २०८१ बुधबार
समाज

बाह्रैमास हात्ती आक्रमणको त्रास

मनाउँ (बर्दिया)- मनाउँ गाविसका खगेन्द्र गौतमले विद्यालय र आफन्तको पक्की घरमा शरण लिन थालेको एक साता भयो। सुनसान घरमा चोरी हुने त्रासले रात काट्न मुस्किल भए पनि उनी राति विद्यालय वा आफन्तकहाँ सुत्न जानु बाध्यता हो। ज्यान जोगाउन घर छाड्नुपर्ने बाध्यता उनलाई छ। 'बन्यजन्तुको संरक्षणले बर्दिया देशविदेशमा चिनिएको छ भन्ने सुन्छु’, उनले नागरिकसँग भने, 'हात्तीको आक्रमणमा परेर मरिन्छ कि भन्ने चिन्ताले सताइरहन्छ। बाह्रैमास हात्तीको सम्भावित आक्रमणबाट डराईडराई बाँच्नुपरेको छ।’ धान पाक्ने बेला राति आउने जंगली हात्ती हिजोआज भने दिउँसै गाउँ डुल्न थालेको उनले बताए।

मनाउँकै हात्तीखल्लाकी ३२ वर्षीया विमला परियारलाई पुस १३ गते बिहान परसेनी बजारमा जंगली हात्तीले कुल्चेर मार्‍यो। परसेनी बजारमा टेलरिङ व्यवसाय चलाउँदै आएकी परियार बच्न भाग्दै गर्दा बजारमै हात्तीले कुल्चिएको थियो। अजंगको हात्तीले मुखमा कुल्चिँदा उनको घटनास्थलमै ज्यान गयो। त्यही दिन पढ्न विद्यालय हिँडेका विमल सिंह र स्थानीय विद्यालयका प्रधानअध्यापक रामप्रसाद लामीछाने हात्तीको आक्रमणबाट गम्भीर घाइते भए। अन्य पाँच स्थानीयलाई पनि हात्तीले आक्रमण गरेको थियो। हात्तीबाट ज्यान जोगाउन पक्की घरको छतमा चढ्दा खसेका परसेनीकै मंग्रा थारूको उपचारका क्रममा शुक्रबार बिहान  मृत्यु भयो।

हुल बाँधेर गाउँ पसेका हात्तीका कारण भागदौड गर्दा दर्जनभन्दा बढी घाइते भए। गाउँभरि जंगली हात्तीले घर भत्काउँदा पक्की घरमा गएर स्थानीयले ज्यान जोगाएका थिए।

हुस्सुले ढाकेका कारण हात्ती लेखेट्न गरिएको पटकपटकको प्रयास विफल हुँदा राजापुर क्षेत्र नै त्रस्त भयो। ओखरिया, बन्जरिया र ठाकुरद्वाराबाट घटनास्थल पुगेको नेपाली सेनाको टोलीले फायरिङ खोलेपछि  हात्ती भारतको कतरनिया सेन्चुरीको जंगलतर्फ भागे।

यसअघि भदौ अन्तिममा विद्यालयबाट साइकलमा घर फर्कने क्रममा दिउँसो २ बजे १५ वर्षीय युवराज थारूको हात्तीको आक्रमणबाट ज्यान गएको थियो। सोही दिन ७२ वर्षीय पुरई थारूलाई धानबाली हेर्न गएका बेला हात्तीले मारेको थियो।

गाउँका अधिकांश घर कच्ची भएका कारण स्थानीय त्रसित छन्। साँझ पर्नेबित्तिकै स्थानीय सर्वसाधारण वासका लागि सामुदायिक विद्यालय भवन र छिमेकीका पक्की घरमा शरण लिन पुग्छन्। गाउँका झन्डै एक सय ४० घर हात्तीले भत्काइसकेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार बितेको तीन महिनामा हात्ती आक्रमणमा परेर चार जनाको मृत्यु भइसकेको छ। भारतीय पक्षले मुर्तिहा—कतरनिया सेन्चुरी घोषणा गरेसँगै दर्जनौं गाउँमा हात्ती आक्रमण बढेको छ। निकुञ्जबाट निस्कने जंगली हात्ती र भारतबाट आउँने जंगली हात्तीको दोहोरो मार सहन सर्वसाधारण बाध्य छन्। ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्ज र भारत सेन्चुरीसँग जोडिएको क्षेत्रका निर्धक्क हिँडडुल गर्न सकिने अवस्था नहुँदा उनीहरू मर्कामा परेका छन्।

सरकारले बेवास्ता गरेको आरोप

मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाइ छ। २०५२ सालमा मनाउँ, सूर्यपटुवालगायत आधादर्जन गाविस समावेश गरेर मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउधनको सुरक्षासँगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो। बन्यजन्तु संरक्षणसँगै आयआर्जन कार्यक्रमले गाउँ सुखी हुनेमा सर्वसाधारण विश्वस्त थिए। मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ। स्थानीयको सुरक्षाका लागि सरकारले गर्नुपर्ने व्यवस्था नगर्दा उनीहरू दुःखी छन्।

स्थानीय कमला भट्टले भनिन्, 'जंगली हात्तीको आक्रमण त्रास बढ्दै गएको छ। अरू काम छाडेर कसरी बाँच्ने भन्ने उपाय खोज्नुपरेको छ,’ उनले भनिन्।

सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ। जंगली जनावर नियन्त्रणका लागि गरिएको तारबार मर्मत गर्न सरोकारवाला निकायले तदारुकता देखाएका छैनन्।

संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि  डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। कार्यक्रममा बर्सेनि ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुँदा स्थानीय सन्तुष्ट छैनन्। बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरूको गुनासो छ।

२०५६ सालयता हात्तीको आक्रमणबाट ३६, गैंडाबाट पाँच, चितुवाबाट चार, बाघबाट चार, बँदेलबाट एक गरी ४९ जनाको मृत्यु भएको निकुञ्जको तथ्यांक छ।

हात्तीले पुर्खा हिँडेको बाटो पहिल्याएर हिँड्ने हुनाले जंगलका हात्ती बस्ती पस्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए। 'आहाराका लागि पुर्खाको बाटो पहिल्याएर हिँड्ने हात्तीका कारण सर्वसाधारणले दुःख पाएका छन्’, उनले भने, 'आक्रमण नियन्त्रणका लागि निकुञ्जले हरसम्भव प्रयास गरिरहेको छ।’ प्रभावित क्षेत्रमा निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले सुरक्षित तरिकाले हात्ती लखेट्ने काम गरिरहेको उनले बताए।

प्रकाशित: २४ पुस २०७३ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App