७ वैशाख २०८१ शुक्रबार
विचार

बडामहाराजा र नेपाली राष्ट्रियता

सदाझैं नेपाली राष्ट्रियता, राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती जस्ता महत्त्वपूर्ण विषयमा छलफल, तर्क–वितर्क तथा विचारविमर्श गर्ने अवसर फेरि आइपुगेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा त्यसबेलाको गोरखाको शक्तिले नेपालमण्डल विजय पूरा गरेको २४७ वर्ष र नेपालको एकीकरणको क्रमलाई पूर्वमा टिष्टा नदीसम्म पु¥याएको २४३ वर्ष बितिसकेछ । पृथ्वीनारायणले अत्यन्त कठोर प्रयत्न र संघर्ष गरेर नेपाल एकीकरणको जग बसाले । हामीचाहिँ त्यस्ता नायकको जयन्तीलाई राष्ट्रिय मान्यताका साथ एकता दिवसका रूपमा मनाउनुप¥यो भनेर अझै संघर्षरत् नै रहनुपरेको दुःखद् स्थितिमा छौं ।

उद्भव अर्थात् कुनै मूल थलोरहित राष्ट्रियता निर्माण हुन सम्भव हुँदैन र नेपाल भन्ने राष्ट्रियता निर्माणमा सर्वथा पृथ्वीनारायण शाहको देन रहेको कुरा अकाट्य हो ।

झण्डै तीन शताब्दीअघिको कठोर सामन्ती र साम्राज्यवादी युगका यी नायक आश्चर्यपूर्ण ढंगले साझा संस्कृति र स्थानीय शक्तिलाई एक ढिक्को बनाई (उनको भाषामा ढुङ्गो बनाउन्या काम) स्वभूमिलाई उपनिवेश बन्नबाट बचाउने काममा ज्यानकै बाजीसमेत लगाएर अघि बढेका थिए । अचम्मै हो, उनका योजनामा समग्रता, समावेशिता र जनता र लोक रिझ्याईंका प्रशस्त उदाहरण थिए । यस सन्दर्भमा बडामहाराजा भन्थे– सबैलाई चेतना भएदेखि यो देश सबैथरी देशबासीले फक्रिन पाउने साझा फूलबारी हो र यहाँ चलेका आआफ्ना कूल धर्म र परम्परा नछोड्नू ।       

विश्वमा अहिले स्वधर्म, स्थानीयता, स्वराष्ट्रकेन्द्रित आर्थिक उन्नति जस्ता कुरामा जोड दिने क्रम बढ्दै गरेको अवस्थामा हामी हाम्रा यी झन्डै तीन शताव्दीअघिका दूरदर्शी राष्ट्र निर्मातालाई सम्झना गर्न पाउँदा गर्वको अनुभूति हुन्छ । यस सन्दर्भमा पृथ्वीनारायण भन्थे– नेपाल देश यस भेककै मानवीय संस्कृति र परम्पराको सुरक्षा र संरक्षण गर्न सक्ने अनुपम स्थल हो र त्यस्ता परम्परा र मान्यतालाई सारा हिन्दुस्तानमा बाहिरबाट आएका (फिरंगी) ले दबाएर राख्यो तर नेपालमा भने जुन यत्न लगाएर भए पनि त्यसरी दबाउन र नष्ट गर्नबाट जोगाउनुपर्छ ।  इशाई संस्कृतिको त्यो बढ्दो शक्तिले यस भेकको सभ्यता, संस्कृति, आर्थिक क्षेत्र आदि सबै नष्ट गर्ने हुँदा त्यसबाट स्वराष्ट्र, स्वसंस्कृति, स्वधर्म र स्थानीय र क्षेत्रीय आर्थिक आस्थालाई जगेर्ना गर्दै समृद्धितर्फ लाग्नुपर्छ ।  अहिले अमेरिका र रसियामा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन जस्ता र बेलायतमा ब्रेक्जिटको धारणा स्थापित गर्नेहरुका क्रियाकलापले स्वराष्ट्र र स्वसंस्कृतिकेन्द्रित पृथ्वीनारायणकै जस्तो नीति नै सम्झाएको छ ।  अझ त्यस युगमा र अहिले पनि नेपाल बन्नु, रहनु र स्वाधीनता बचाएर राख्नु भन्ने कुरा यहाँ उल्लिखित अमेरिका, रसिया र ब्रिटेन जस्ता देशको अवस्थाभन्दा विलकुल फरक हो ।  नेपाल जस्ता देश बन्नु र त्यस्ता देशको छुट्टै चिनारी र राष्ट्रियता बचाउन सक्नु त्यस साम्राज्यवादी युगमा त एउटा असम्भव जस्तै काम थियो र अहिले नै पनि शोच र संवेदनशीलता गुमेको खण्डमा त्यस्तो खतराबाट मुक्त रहन सक्दैनन् यस्ता देशहरु । यो कुराको ज्ञान पृथ्वीनारायण शाहमा त्यसै युगमा विश्वलाई नै सिकाउने जस्तैगरी  थियो भन्न सकिन्छ ।  साना देश, छिमेकी ठूला शक्ति, साम्राज्यवादी वेग र आत्मरक्षाकेन्द्रित राष्ट्रियताका सुपर गुरुका रूपमा हाम्रा पृथ्वीनारायणलाई हामीले पहिले चिन्नुपर्छ र विश्वलाई त्यस कुराको जानकारी दिलाउन सक्नुपर्छ ।  

इमानदारीसाथ भन्ने हो भने अहिलेको नेपाल देश भनेको पृथ्वीनारायण शाहको युग निर्देशित महत्वाकांक्षा र त्यस महत्वाकांक्षालाई वास्तविकतामा ढाल्ने क्रममा बटुलिएका अनुभवले खारिएको दूरदर्शिताको प्रतिफलबाहेक अरु केही होइन भन्दा अतिशयोक्ति नहोला । तिनताका यस भेकमा ससाना स्थानीय शक्तिहरु एक अर्कोमा प्रतिस्पर्धामा थिए । आक्रमण÷प्रत्याक्रमण, खोसमोस, लुटपाट आदि चलिरहन्थ्यो । कुनै पनि राज्य रजौटा आन्तरिक र आपसका कलह तथा द्वन्द्वका कारण सुरक्षित थिएनन् । जनता त्रसित थिए । त्यसैले शान्ति र अमनचयनका निम्ति एउटा बलियो राज्य सञ्चालक तथा देशको निर्माण आवश्यक थियो । त्यसैबेला युरोपका साम्राज्यवादी शक्ति आआफ्ना उपनिवेश विस्तारमा होडवाजी चलाएर सक्रिय थिए । पोर्चुगिज, डच, स्पेनिस र फ्रेन्चलाई उछिनेर ब्रिटिस साम्राज्य सशक्त भयो यस दक्षिण एसिया तथा विश्वका धेरै ठाउँमा । सम्पूर्ण हिन्दुस्तानलाई उद्योग र व्यापार तथा नाविक शक्तिको आडमा बेलायतले विस्तारै अधिनस्त गर्दै थियो ।  

पृथ्वीनाराण भने त्यो चलाख, धूर्त र सामरिक र आर्थिक सम्पन्न शक्तिलाई भरसक यस भेकबाटै नभए पनि उनले देखेको सम्भावित एउटा बलियो हिमाली अधिराज्यको सपना पूरा गर्न अनेकतरहले कटिबद्ध थिए । बाठा अंग्रेजले पृथ्वीनारायणलाई उठ्नै नदिनेगरी अनेक बहानामा यतातिर पस्न खोज्दा फेरि अनेक आक्रमण त हुने नै भए । अंग्रेजको यस्तो साम्राज्य विस्तारको आकांक्षाका कारण पनि यो सारा हिमाली भेग असुरक्षित थियो । तर दूरदर्शी पृथ्वीनारायणले अंग्रेजलाई तराई छिचोलेर माथि चढ्नै दिएनन् । सारा स्थानीय जाति समुदायका योद्धा, शिल्पी आदिलाई हौसल्याएर अंग्रेजलाई नराम्रोसँगमात्र होइन, हतोत्साही नै हुनेगरी धपाइदिए र आफ्नो सपना पूरा गर्ने कामको व्यवधान हटाएका थिए । यो एउटा नेपाली राष्ट्रियता निर्माणको जग खन्ने सफल र सवल काम थियो ।  

यस किसिमले पृथ्वीनारायणको महत्वाकांक्षा र त्यस परिलक्षित अभियानको क्रम आन्तरिक राज्य जित्नुमा मात्र सीमित थिएन, बरु साम्राज्यवादी शक्तिलाई यस भेकमै  प्रवेश हुन् नदिई स्थानीय धर्म, भाषा, संस्कृति र परम्पराले सुरक्षित एउटा स्वराष्ट्रिय भावनाले डो¥याएको टिकाउ हुने बलियो देश निर्माण गर्ने बाटोमा अगाडि बढेको थियो । पृथ्वीनारायणको अवसानपछि उनले शंका गरेजस्तै गरी त्यो साम्राज्यवादी शक्ति नेपालमाथि अक्रमण गर्दै प्रवेश गर्न आयो र नेपालीले राम्रैसँग मुकाविला पनि गरे तर नेतृत्व त्यसबेला पृथ्वीनाराण जस्ता दूरदर्शी र निडर नायकको हातमा थिएन । आन्तरिक द्वन्द्वले दरबार कमजोर बन्दै गएको अवस्था थियो । साधारणतया राष्ट्र भन्नाले एकताको सामूहिक भावनामा निहित रहन्छ तर एउटा राष्ट्र र राष्ट्रियताको निर्माणमा कुनै बलियो देश वा ठाउँको चिनारी त अवश्य आवश्यक हुन्छ । उद्भव अर्थात् कुनै मूल थलोरहित राष्ट्रियता निर्माण हुन सम्भव हुँदैन र नेपाल भन्ने राष्ट्रियता निर्माणमा सर्वथा पृथ्वीनारायण शाहको देन रहेको कुरा अकाट्य हो । देश र ठाउँको आधारभूत चिनारीबिना कुनै पनि जनताको राष्ट्रियताको चिनारीको कुरै उठ्न सक्दैन । यस अर्थमा जुन निश्चित भूखण्डसहितको ठाउँ निर्माणको जग पृथ्वीनारायण शाहले हाले त्यसै आधारमा नेपाली राष्ट्रियता बोकेर अनेक समुदाय, दृष्टिकोण र विचारधाराले साझा फूलबारीको अर्थपूर्ण अवधारणाभित्र ठाउँ पाएको हाम्रो यथार्थ हो । पृथ्वीनारायणलाई बिर्सिएर विविधताभित्र एकताको नेपाली राष्ट्रियताको कल्पनासम्म पनि हुन नसक्ने वास्तविकता कसैको अगाडि छिप्न सक्दैन ।

अहिले नेपालको ऐतिहासिक पृष्ठभूमिको अध्ययन र ज्ञानको अभाव तथा संवेदनशील चिन्तनको अभावमा हामी बाह्य र अनेक नेपाल र बलियो नेपाली राष्ट्रियताका विरोधी तत्वको प्रभावमा फस्दै गरेको स्थिति पनि देखिएको छ । त्यसबाट मुक्ति पाउनका निम्ति सर्वप्रथम हामीले इतिहासको ज्ञान र त्यसले निर्देश गरेको वास्तविकता मनन गर्नु आवश्यक छ । नेपालमा परिवर्तनको नाममा आफ्ना धरोहर, इतिहास र पूर्वजका सच्न्चा देन बिर्सने र बेवास्ता गर्ने होडवाजी चलेको छ हिजोआज । यस्तो अवस्था भनेको असम्भव अवस्थामा निर्मित र बडो मुस्किलले बचाएको यो देशलाई सम्मानका साथ बचाइराख्ने बाटोको विनिर्माण गर्नु हो भनेर बुझ्नु आवश्यक भएको छ ।  
पृथ्वीनारायण वास्तवमा एउटा ऐतिहासिक आवश्यकताले बनाएको आधुनिक नेपालको निर्माता हुन् जसले साम्प्रदायिकतालाई आफ्नो अभियानमा स्थान दिएका थिएनन् । उनी नेपाली साझा संस्कृतिका कुशल र असल अधिनायक हुन् जसले यस दक्षिण एसियाको भूखण्डमा नै साम्राज्यवादी शक्तिको विरोधमा र स्थानीय र क्षेत्रीय मानव परम्परा र संस्कृतिको संरक्षण र सम्वर्धन निम्ति सफल अभियान चलाएका थिए । हामी आज उनका गुनको संस्मरण गर्दै यो देश र यसका परम्परालाई सम्वर्धन गर्दै समयसापेक्षरूपमा मानव हितको लक्ष्यका साथ यस देशको स्वाधीनता र मर्यादा कायम गर्न सदा चिन्तनमा लागौं । पृथ्वीनारायणले रचना गरेको यो देश बचाइराख्ने र नेपालीलाई साझा फूलबारीमा झैं फक्रिएर रहने पवित्रस्थलका रूपमा टिकाइराखौं ।
 

प्रकाशित: २७ पुस २०७३ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App