coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास : प्रधानमन्त्री

काठमाडौं- सरकारको ध्यान दलहरुबीच राजनीतिक समझदारी बनाउने र निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास गर्नेतर्फ केन्द्रित रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ६६औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७३ को उद्घाटन गर्दै उनले सरकारको ध्यान दलहरुबीच राजनीतिक समझदारी बनाउने र निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन्।

उनले संविधान कार्यान्वयन गर्न हिमाल पहाड र तराई मिलाएर लैजाने आफ्नो कोसिस रहेको बताउँदै नेपाल चेम्बर अफ कमर्सले विगत ६६ वर्षदेखि नै सरकारको थिंक ट्यांकको रुपमा काम गर्दै आएकोमा खुसी व्यक्त गरे।

उनले चेम्बरले सरकार र निजी क्षेत्रबीच सेतुको काम गर्दै आएको तथा आर्थिक कुटनीतिमार्फत अन्तर्राष्ट्रिय समुदायमा समेत प्रभावकारी भूमिका निर्वाह गरेकोमा चेम्बरको प्रंशशा गरे।

प्रधानमन्त्री दाहालले राज्यका संयत्रहरुलाई प्रभावकारी परिचालनमा सरकारले जोड दिँदै आएको बताउँदै राष्ट्रिय गौरवको आयोजनाहरुमा सरकारले अनुगमन कार्यको सुरुआत गरेको बताए। उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) हालै पारित भएको र आर्थिक विषयसँग सम्बन्धित ऐनहरु छिटै पारित भई निजी क्षेत्रको प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास पनि व्यक्त गरे।

सरकारले विद्युतभार कटौती गरी आम सर्वसाधारण र उद्योगी व्यवसायीको मनोबल उच्च बनाउन सफल भएको बताउँदै जलाशयुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनामार्फत विद्युत उत्पादनमा सरकारको ध्यान केन्द्रित भएको बताए।

प्रध्ानमन्त्रीले निर्यात प्रवर्द्धन गर्न छिमेकी राष्ट्र भारत, चीन लगायतका मित्र राष्ट्रसँग सडक र हवाई सञ्जालमार्फत जोडिनु पर्ने बताउँदै यसका लागि आफू प्रयासरत रहेको बताए। उनले निजी क्षेत्रको सहकार्यबिना सरकारको एकल प्रयासले आर्थिक विकास सम्भव नहुने भएकाले योजना बनाउँदा निजी क्षेत्रसँग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताए।

यस्तै, साधारणसभामा उपस्थितलाई स्वागत गर्दैं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारको आर्थिक विकासको लक्ष्य प्राप्तिमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए। अध्यक्ष श्रेष्ठले विशेष आर्थिक क्षेत्र ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) जस्ता आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन पारित भएकोमा खुसी व्यक्त गर्दै संसदमा विचाराधीन आर्थिक क्षेत्रसँग समबन्धित बाँकी ऐनहरुलाई यथाशिघ्र पारित गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरे।

श्रेष्ठले विकास बजेट खर्च नभएकोमा चिन्ता व्यक्त गर्दै विप्रेषणले मुलुकको दिगो आर्थिक विकास सम्भव नभएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। उनले निर्यात प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन अनुरोध समेत गरे। उनले निजी क्षेत्र बलियो भयो भने मात्र सरकार बलियो हुने बताउँदै नयाँ संविधान जारी भइसके पश्चात पनि नीतिगत अन्योलता कायमै रहनु विडम्बना भएको बताए।

अध्यक्ष श्रेष्ठले स्थापनाकालदेखि नै चेम्बरले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको बताउँदै निजी क्षेत्रमैत्री वातावरण निर्माण भए मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्र सक्षम रहेको बताए। उनले मुलुकमा प्राप्त प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग गर्न सके आर्थिक समृद्धि टाढा नरहेको समेत बताए। उनले मुलुकको आर्थिक समृद्धिका लागि चेम्बरले सरकार, राजनीतिक दल र सरोकारवाला निकायसमक्ष दिएका सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै पूर्वाधारको विकास, औद्योगिक उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि, अनुकूल औद्योगिक वातावरण, बजार सूचना प्रवाह सुदृढीकरण, आर्थिक कूटनीतिको प्रभावकारी परिचालन, जस्ता मूलभूत कुरामा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरे।

शुभकामना मन्तव्य दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले चेम्बर आन्दोलनको अभियन्ता नेपाल चेम्बर अफ कमर्सको भूमिकाको प्रशंशा गर्दै चेम्बरको उत्तरोत्तर प्रगतिको कामना गरे। उनले राजनैतिक स्थायित्व हुनु पर्नेमा जोड दिँदै राजनैतिक दलहरुबीच साझा आर्थिक एजेन्डा कायम गर्न अनुरोध गरे।

नेपाल चेम्बर अफ कमर्सले चेम्बरको ६६औं वार्षिक साधारण सभा तथा चेम्बर दिवस २०७३ का अवसरमा मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो। चेम्बरले तेसो मुलुकतर्फ निर्यात गर्ने कार्गाेतर्फ श्री मुक्तिनाथ दि कार्गाे, राइजिङ स्टार कार्गाे, ग्लोबल सिपिङ लजिस्टिक, कार्पेटतर्फ हिमालय कार्पेट, काजु आटर््स रग, डेजे कार्पेट प्रालि, पारामाउन्ट कार्पेट इन्डस्ट्रिज प्रालि, दी सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट इन्डस्ट्रिज, गार्मेन्टतर्फ युनाइटेड कलर्स फेसन प्रालि, नेपाल फेसन प्रालि ह्यान्डिक्राफ्टतर्फ अष्टमंगल हस्तकला उद्योग, फेल्टतर्फ एभरेस्ट फेसन, इन्डियातर्फ किरण सुज म्यानुफेक्चरर्स, चाइनातर्फ न्यु इशा इन्टरप्राइजेजलाई सम्मान गरियो। यस्तै चेम्बर एक्सिलेन्स अवार्ड २०१६ नेपाल निर्यात परिषद र बेस्ट मेनेजमेन्ट अवार्ड नेपाल विद्युत प्राधिकरणका मनेजिङ डाइरेक्टर कुलमान घिसिङलाई प्रदान गरियो।

त्यस्तै पूर्व स्वर्गीय अध्यक्षको स्मृतिमा उनीहरुको परिवारका तर्फबाट चेम्बरले ईश्वरलाल टाइम अचिभमेन्ट अवार्ड उद्योगपति व्यवसायी तथा समाजसेवी लक्ष्मीदास मानन्धरलाई, ईश्वरभक्त मेमोरियल अवार्ड व्यवसाय प्रवर्द्धनमा योगदान पुर्‍याएका चन्द्रगिरी हिल्स लिमिटेडका सञ्चालक चन्द्रप्रसाद ढकाललाई र बनवारीलाल ममोरियल अवार्ड सूचना तथा प्रविधिको माध्यमद्वारा मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने इन्फो डेभलपर्स प्रालिलाई प्रदान गरिएको थियो।

प्रकाशित: २८ पुस २०७३ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App