८ वैशाख २०८१ शनिबार
अर्थ

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

काठमाडौं- यसपालि माघे संक्रान्तिमा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने भएको छ। नुवाकोट र रसुवामा बर्सेनि माघे संक्रान्तिका दिन हुने 'बुलफाइट'बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउने तयारी लगभग पूरा भएको जानकारी दिए।

तारुका माघे संक्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यका अनुसार लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा जुध्ने गोरु छनोट गरिसकिएको छ। जुध्ने क्रममा कुनै गोरु मरिहाल्यो भने गोरुधनीलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था समितिले मिलाएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए।

रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले गोरु घाइते भए १० हजार र मरेमा २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था मिलाएको जानकारी दिए। तारुकाको चन्दनीस्थित कटहरबोटको ठूलोपाटो र बेत्रावतीमा हरेक माघे संक्रान्तिका दिन नेपाली संस्करणको 'बुलफाइट' हुन्छ।

बुलफाइट हेर्न जाने दर्शकका लागि खानपिन र आवासको प्रबन्ध मिलाइसकिएको दुवैतिरका आयोजकले जनाएका छन्।

स्थानीयका अनुसार तारुकाको बुलफाइट सयौं वर्ष पुरानो परम्परा हो। बझाङी राजा जयपृथ्वीबहादुर सिंहको समयदेखि यो निरन्तर चलिरहेको छ। सिंह मावली गाउँ तारुका आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेको र पछि त्यो परम्परा नै बनेको उनीहरुको भनाइ छ। विगतमा तारुकाको कोडाँडा, चन्दनी, ठूलोपोखरी लगायत ठाउँमा हुने बुलफाइट एक दशकयता सबैतिरकोलाई समेटेर तारुका–२, चन्दनीमा हुँदै आएको छ। बुलफाइट हेर्न नुवाकोट र वरपरका जिल्लाबाट हजारौंको संख्यामा दर्शक तारुका र वेत्रावती पुग्छन्।

तारुकाको बुलफाइट हेर्न काठमाडौंबाट गल्छी हुँदै जान सकिन्छ। काठमाडौंबाट ५७ किलोमिटर दुरीमा पर्ने तारुकाघाटसम्म काठमाडौं–त्रिशूली चल्ने बस वा माइक्रो बसमा जान सकिन्छ। तारुकाघाटको झोलुंगे पुल तरेर पारी गएपछि मेलास्थल पुग्न लोकल गाडी पाइन्छ। तारुकाको मेलास्थलसम्म गाडीमै जान चाहनेले देवीघाटबाट बुहुनी बेसी जोड्ने पक्की पुल तरेर खडकाभञ्ज्याङ, बुधसिङ हुँदै जानु पर्छ।

मोटरसाइकलमा जाँदा तारुकाघाटको झोलुंगे पुल तारेर कार्यक्रमस्थलमै लैजान सकिन्छ। बसबाट ओर्लेपछि पैदलै गए पहाडी बाटो १ घन्टा हिँड्नुपर्ने स्थानीय बताउँछन्। बेत्रावतीको हकमा काठमाडौंबाट मेलास्थलसम्मै पक्की सडक र सार्वजनिक यातायातका साधनको सुविधा छ।

प्रकाशित: २८ पुस २०७३ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App