coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘अपराधीका लागि लुक्ने देश छैन’

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सदस्य बनेको ५० वर्षयता नेपालले दोस्रोपटक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएको छ। २७ वर्षअघि नेपालले पहिलोपटक इन्टरपोलको १०औं एसिया क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो। आपराधिक समूहको जालो च्यात्न क्रियाशील विश्वका एक सय ९० मुलुकका प्रहरी र कानुन कार्यान्वयन निकायका समकक्षीलाई नेपालीले दोस्रोपटक राजधानीमा स्वागत गर्ने अवसरका लागि भने  वर्षौं कुर्नुपर्योा। यही सन्दर्भमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग नागरिकका दीपक खरेलले गरेको कुराकानी।

नेपालले २७ वर्षपछि क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएको छ । किन यति लामो समय लाग्यो?

एसिया क्षेत्रीय सम्मेलन आयोजनाका लागि विगतमा पनि प्रयास भएका हुन् । यो एउटा बृहत सम्मेलन हो । यसको आयोजक हुन इन्टरपोलमा रहेका सदस्यराष्ट्रको समेत समर्थन आवश्यक थियो । सिंगापुरमा सम्पन्न अघिल्लो सम्मेलनमा मात्र हामीले औपचारिक रुपमा प्रस्ताव गरेका थियौँ । सदस्यराष्ट्रको सहयोग प्राप्त भयो र यो अवसर नेपाल प्रहरीले प्राप्त गरेको छ । 

नेपाल प्रहरीले सम्मेलनलाई अवसरका रुपमा स्थापित गर्न के गर्दैछ ?

एसिया प्रान्तमा रहेका इन्टरपोल सदस्यराष्ट्रहरुको सम्मेलनमा नेपालले आफ्ना अजेन्डा जोडतोडले राख्ने तयारी गरेको छ । मुख्य अजेन्डा रहेको मानवतस्करीका विविध आयाम, अपराधले ओगटेको क्षेत्र र त्यसभित्र गाभिएका सदस्यराष्ट्रका बीच विषय प्रस्तुति म आफैँले दिँदैछु । यसबाहेक विश्वभरबाट सहभागी हुने कानुन कार्यान्वयन इकाइमा आबद्ध अधिकारीसँग प्रविधिजन्य अपराध, लागुऔषध, अवैध व्यापार, वित्तीय अपराध र जुवाका विषयमा छलफल र अनुभव आदानप्रदान हुनेछ ।

नेपालसँग सुपर्दगी सन्धि नभएका देशबाट अपराधी ल्याउन र पठाउन जुन कठिनाइ छ, के यो सम्मेलनले त्यसको मध्यमार्ग खोज्ला?

हामीले यस सम्मेलनलाई अपराध नियन्त्रण र अपराधका विविध स्वरुप र भोगेका कठिनाइका विषयमा छलफल गर्ने फोरमका रुपमा लिएका छौं । नेपालमा अपराध गर्ने र छिमेकी राष्ट्रमा लुक्ने प्रवृत्तिका विषयमा भन्दा पनि अपराधीका लागि भाग्ने जमिन र लुक्ने देश नै नहुने अवस्थाको सिर्जना गर्न सम्मेलन केन्द्रित हुनेछ ।

पछिल्लो समय अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल आउनेभन्दा पनि एसिया प्रान्त, अस्ट्रेलिया, अमेरिका र युरोपसम्म पुग्ने गरेको अनुसन्धानमा देखिएको छ । त्यस्ता अपराधीलाई ढिलोचाँडो कानुनको कडघरामा उभ्याउन हाम्रो छलफल केन्द्रित रहनेछ ।

सर्वोच्च अदालतका न्यायाधीश रण्बहादुर बमको हत्याआरोपी जति चाँडो इन्टरपोलको सहयोगमा नेपाल ल्याइए, अन्य घटनामा त्यो तदारुकता देखिएन । इन्टरपोलको सहयोग पनि घटना प्रदान हुने हो ?

इन्टरपोल सदस्यराष्ट्रले गर्ने सहयोग त्यस देशको कानुनमा निर्भर हुन्छ । यस्तै, नेपाल र सम्बन्धित राष्ट्रबीच भएका अपराधी हस्तान्तरण सम्बन्धी कानुनले मुख्य भूमिका राख्छन् । यसमा घटनाप्रदान हुने होइन । इन्टरपोल सदस्यराष्ट्र र हाम्रो कानुन प्रमुख हुन्छ ।

नेपालको आग्रहमा रेडकर्नर नोटिसमा राखिएका इयान बेकरलाई इन्टरपोलले एकाएक नोटिसबाट हटायो, किन ?

नेपालले वन्यजन्तुसम्बन्धी अपराधमा सर्वाधिक खोजी गरेका व्यक्ति हुन् इयान बेकर । रेड कर्नर नोटिसमा राखिसकेपछि इयान भाग्दै हिँडे, हामीले पच्छ्याइरह्यो । केही समयअघि इयानले आफूलाई फसाइएको भन्दै इन्टरपोलमा निवेदन हाले । इन्टरपोलले केही समयका लागि नोटिस हटाएको होइन, सार्वजनिक नगरी लुकायो । त्यसपछि निरन्तर हामीसँग इन्टरपोल मुख्यालयले सोध्यो । नेपाल एनसिबीले प्रमाणसहित पत्राचार गरिरह्यो । केही दिनअघि मात्र इन्टरपोलले समेत दोषी ठहर गरी हाल इयान हाम्रो रेड कर्नर नोटिसमा छन् ।  इयान नागरिक रहेको देश र हामीबीच कानुनी अप्ठ्याराका कारण ल्याउन सकेका छैनौँ, चाँडै ल्याउँछौँ ।

नेपालको उत्तर र दक्षिणमा रहेका शक्तिशाली देशलाई आधार बनाएर वित्तीय र संगठित अपराध वृद्धि भएको छ  । सम्मेलनमा यस विषयले महत्वव पाउला ?

मैले अघि पनि भनेँ– यो सम्मेलन दुई देशबीच भन्दा पनि मुद्दाको अन्तर्राष्ट्रिय फोरममा छलफल गर्ने अवसर हो । अनौपचारिक रुपमा यस विषयमा कुराकानी हुनेछ । औपचारिक रुपमा सदस्यराष्ट्रबीच विषयलाई महŒवसाथ नेपालले राख्नेछ ।

आयोजकका हैसियतले सम्मेलनबाट नेपालले विश्वमा दिने सन्देश के हो ?

विश्वका प्रहरी र कानुन कार्यान्वयन इकाइ सम्बन्धित देशको ऐननियम र भौगोलिक परिधिमा बाँधिएका हुन्छन् तर अपराध गर्ने व्यक्तिका हकमा यो लागू हुँदैैन । सम्मेलनले अपराधको अन्तर्राष्ट्रियकरण, प्रविधिको प्रयोग र अपराधी लुक्ने भौगोलिक अवस्था अन्त्य हुने विश्वाससाथ नेपाल प्रहरीले सम्मेलन आयोजना गरेको हो ।

नेपाल प्रहरीले नेपालमा अपराध गरेर अन्य देशमा सुरक्षित छु भन्ने अपराधीका लागि इन्टरपोलको सहयोग र सहकार्यमा अन्त्य गर्नेछ । अहिले विश्वका कुनै पनि भूभागमा बसेर चाहेको देशमा अपराध गर्ने प्रविधिको विकास भएको छ । त्यसविरुद्ध लड्न हामी सक्षम छौं भन्ने सन्देश यो सम्मेलनले दिनेछ । कानुनमा रहेको सहुलियतको अन्त्य र अपराधीलाई ढिलोचाँडो कानुनको कठघरामा उभ्याउन नेपाल सक्षम छ भन्ने सन्देश सम्मेलनले दिनेछ ।

प्रकाशित: ५ माघ २०७३ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App