coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

काठमाडौं–प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।

निगमले मर्मतपछि आइतबार (माघ २ गते) तयार पारेको १८ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको एकथान चिनियाँ जहाजलाई सोमबार (माघ ३ गते) काठमाडौंबाट पोखरा र भैरहवा उड्ने तालिका बनाइयो । जहाज उडाउन क्याप्टेन उद्धव घिमिरे र को–पाइलट प्रचण्ड खड्का तम्तयार भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

तर, विडम्बना चिनियाँ जहाजमा यात्रा गर्न एकजना यात्रु पनि विमानस्थलमा थिएनन् । चिनियाँ जहाजबाट दुईटै गन्तव्यमा जान यात्रु नभएपछि निगम व्यवस्थापनले बाध्य भएर उडानै रद्द ग¥यो । फेरि भोलिपल्ट मंगलबार (माघ ४ गते) उक्त जहाजलाई पोखरा उडाउने तालिका बनाइयो । जसअनुसार क्याप्टेन उद्धव घिमिरे र को–पाइलट राकेश काफ्लेलाई जहाज उडाउने जिम्मेवारी दिइयो ।

‘दुवैजना पाइलट जहाज उडाउन ककपिटभित्र त छिरे तर, पछाडि यात्रु सिट सबै खालि थियो,’ सम्बद्ध स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘आफ्नो पछाडिका सिट खालि देखेपछि पाइलट तीनछक्क परे । अनि व्यवस्थापनले फेरि उडान रद्द ग¥यो ।’

निगमका एक अधिकारीका अनुसार प्राविधिक समस्याका कारण ४३ दिनदेखि त्रिभुवन विमानस्थलमा थन्किएको वाई१२–ई जहाजमा चीनबाट ल्याइएको सामान जडान गरेपछि गत आइतबार उडानयोग्य भएको थियो । त्यसपछि सोमबार बिहान ८ बजे पोखरा र उताबाट फर्केपछि १० बजे भैरहवा जाने तालिका बनाइएको थियो । तर, ती दुइटै उडानमा जान यात्रु भने कोही थिएनन् । मंगलबार बिहान ८ बजे पोखरा उड्ने तालिका बन्यो । त्यसमा उडानमा पनि हालत उही।

‘रित्तो जहाज उडाउने कुरा भएन, एकजना पनि यात्रु छैनन् भनेपछि चालकदललाई विमानस्थलसम्म नबोलाएको भए हुन्थ्यो,’ ती अधिकारीले लाचारी पोखे, ‘यसबाट हाम्रो बजारीकरण (मार्केटिङ) कति सुस्त र निष्प्रभावी रहेछ भन्ने पुष्टि हुन्छ । अर्को छुटाउनै नहुने तथ्य के हो भने गएको साउनदेखि पुसभित्र वाई१२–ई जहाजले मुश्किलले १० उडान पनि गरेको छैन।’

निगमले भने चीनमा तयारी अवस्थामा रहेका बाँकी चारथान चिनियाँ जहाज चाँडै ल्याउने प्रतिबद्धत दोहोर्‍याइसकेको छ। तर, यहीँ भएका जहाज भने पाइलट अभाव वा यात्रु अभावसँगै प्राविधिक समस्याका कारण उडाउन सकेको छैन।

गत पुस ११ मा निगमले ‘चिनियाँ जहाज निर्माता कम्पनीका अधिकारीसँग भएका छलफल एवं बैठकका माइन्युटलाई दृष्टिगत गर्दा एमए–६० र वाई१२–ईको सञ्चालन सम्बन्धमा देखा परेका मर्मत–सम्भार, पुर्जा तथा तालिमको मूल्य, बिमालगायत समस्या समाधान गर्न चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रत्याभूति दिएपछि बाँकी जहाज ल्याउन लागिएको’ पुनः घोषणा गरेको थियो।

अर्को चिनियाँ जहाज एमए–६० को सिट भराइ दर (अकुपेन्सी) २५ प्रतिशतभन्दा माथि नजानुलगायत कारण चिनियाँ जहाजले निगमलाई डुबाउने निश्चित भएको निगमकै अधिकारीहरूो भनाइ छ ।

सम्बद्ध अधिकारीका अनुसार ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको एक थान र १८ सिटे एक थान वाई१२–ईले काठमाडौंबाट दैनिक दुई–दुई उडान गर्ने तालिका छ । एमए–६० ले विराटनगर, धनगढी, भद्रपुर र नेपालगन्ज तथा वाई१२–ईले सिमरा, भैरहवा र पोखरा उडान गर्ने तालिका छ ।

अहिले निगमसँग रहेका दुइटै चिनियाँ जहाज चीनबाट अनुदानमा प्राप्त भएका हुन् । ल्याउन बाँकी चारथान भने सहुलियत ऋणमा खरिद गरिएका हुन् । निगमको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले मन्त्रिपरिषदको निर्णयपछि गत कात्तिकमा बाँकी जहाज ल्याउन निगमलाई निर्देशन दिएको थियो । निगमले पहिलो चरणमा एकथान एमए–६० र एकथान वाई१२–ई मात्र ल्याउने तयारी गरेको छ । ‘अरू उपाय नै छैन, बाध्य भएर बाँकी जहाज ल्याउनैपर्ने अवस्था आयो,’ निगमका एक उच्च अधिकारीले भने ।

वाई१२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । तर, उक्त एक वर्ष वाई१२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो । चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले वाई१२–ईको नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको थियो ।  
 

प्रकाशित: ५ माघ २०७३ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App