७ वैशाख २०८१ शुक्रबार
अर्थ

मागेजति दिएन भारतले भारु

काठमाडौं–भारत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु नोट दिन छाडेको छ । उसले ठूला नोटमा लगाएको प्रतिबन्धपछि भारतमै साना दर (सय, पचास) का नोट अभाव भएको भन्दै नेपालले मागजति नदिएको हो ।

नेपालमा भारु नोटको अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब २० करोड रुपैयाँ बराबर भारु नोट ल्याउने तयारी केन्द्रीय बैंकले गरेको थियो । तर, भारतले सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु नोट मात्र दिएको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बताए । ‘१ अर्ब २० करोड रुपैयाँ बराबरका भारु नोट माग गरेका थियौं,’ उनले भने, ‘भारतले १ अर्ब रुपैयाँ बराबर मात्र दिएको छ ।’

केही वर्ष अघिसम्म केन्द्रीय बैंकले भारतबाट सय रुपैयाँ दरका ६ अर्ब रुपैयाँ बराबर भारु नोट वार्षिक रुपमा ल्याउने गरेको थियो । पोहोर सालदेखि भारतले सय दरका भारु नोटमा कटौती गर्दै आएको छ ।

गत साल त्यसको आधा ३ अर्ब रुपैयाँ बराबरका भारु नोट दिएको जानकारी पनि उनले दिए । ‘यो वर्ष अझै कम भारु नोट आउने सम्भावना देखिएको छ,’ उनले भने, ‘पछिल्लो पटक समेत गरेर चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब २० करोड रुपैयाँ बराबर भारु नोटमात्र आएको छ ।’
नेपाल राष्ट्र बैंकको एक टोली सय दरका भारु लिन भारत गएको छ । उक्त टोली भारतबाट बुधबार (आज) सम्म भारु नोट लिएर आउने जानकारी पनि कार्यकारी निर्देशक अधिकारीले दिए ।

भारतबाट ल्याइने सय दरका नोट नेपाल राष्ट्र बैंकका उपत्याका बाहिरका शाखामा पठाइने जानकारी पनि उनले दिए । ‘धनगढी लगायत राष्ट्र बैंकका शाखाको ढुकुटीमा शनिबारसम्म पुगिसक्ने छन्,’ उनले भने, ‘बाहिरी जिल्लामा भएको भारु नोटको समस्या उक्त नोट पुगेपछि समाधान हुने छ ।’

उपत्यकाको भारु नोट अभाव हटाउन पुनः अर्को टोली नोट लिन भारत पठाउने तयारी केन्द्रीय बैंकले गरेको छ । तर, भारत थप नोट दिन तयार भएको छैन । ‘भारतले भारु नोट दिने संकेत देखाउनेबित्तिकै अर्को टोली पठाउने तयारीमा छौं,’ कार्यकारी निर्देशक अधिकारीले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र हजार दरका भारु नोटमाथि प्रतिबन्ध लगाएपछि रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले आफ्नो देशको नोट व्यवस्थापन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकलाई साना दरका भारु नोट दिन आनाकानी गर्दै आएको छ ।

भारत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकको थापाथलीमा भारु साट्नेको भीड लाग्ने गरेको छ । दिनहुँ भारु साट्नेको चाप बढ्दो छ । धेरै मानिसलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बढीमा २५ हजारमात्र दिने व्यवस्था गरेको छ ।

अवस्था हेरी २ हजार, १० हजार र बढीमा २५ हजारसम्म उपलब्ध गराउँदै आएको  र्कायकारी निर्देशक अधिकारीले बताए । ‘नागरिकता वा परिचयपत्र खुल्नेलाई मागेका बखत २ हजार भारु साटिदिने गरेका छौं,’ उनले भने, ‘घुम्न जानेलाई होटल बुक गरेको कागज, हवाई टिकट ल्याउनेलाई बढीमा १० हजार भारुसम्म साटिदिने गरेका छौं ।’ उपचार गर्न जानेलाई डाक्टरको सिफारिसमा बढीमा २५ हजारसम्म साटिदिने गरेको पनि उनले जानकारी दिए ।

सयभन्दा साना दरका भारु नोट दैनिक १ करोडभन्दा बढी साट्ने गरेको उनको भनाइ छ । अहिले तीर्थाटनको समय भएकाले तीर्थ जानेबाट धेरै रकम माग आएको छ ।
राष्ट्र बैंकले उनीहरुलाई एटिएम प्रयोग गर्न सुझाव दिएको छ । ‘नगद बोक्दा चोरी, हराउने र लुटिने डर हुन्छ त्यसैले मुद्राविहीन (क्यासलेस) जमाना आएको छ,’ र्कायकारी निर्देशक अधिकारीले भने, ‘एटिएम प्रयोगलाई बढी प्राथमिकता दिनुपर्छ ।’

नेपाल राष्ट्र बैंकसँग अहिले करिब ३ अर्ब भारु नोट मौज्दात छ । वाणिज्य बैंकमार्फत पनि सर्वसाधारणलाई भारु नोट साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘वाणिज्य बैंकलाई बढीमा ३ लाख भारु नोट दिने गरेका छौं,’ उनले भने । नेपाल बैंकलाई सबैभन्दा बढी ३ लाखसम्म भारु नोट दिने गरेको र्कायकारी निर्देशक अधिकारीले बताए ।
बैंकले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय दरका नोट साट्न कम गरेको छ । करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो ।

भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो । यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गते बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए । भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न भन्दै भारत सरकारले यस्तो निर्णय गरेको थियो । ठूला दरका नोट प्रतिबन्धको असर साना दरका भारु नोट सटहीमा पनि परेको देखिएको छ ।

प्रकाशित: ५ माघ २०७३ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App