७ वैशाख २०८१ शुक्रबार
अर्थ

माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर

काठमाडौं– नेपाल टेलिकमले माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा समेत फोरजी सेवा उपलब्ध गराउने जनाएको छ। गत पुस १७ गते(जनवरी १)देखि १८०० मेगाहर्ज ब्याण्डमा काठमाडौं उपत्यका र पोखराबाट पोष्टपेड मोबाइलमा फोरजी सेवा सुरु गरेको टेलिकमले माघ २२ बाट भने प्रिपेड मोबाइलमा समेत यस्तो सेवा विस्तार गर्ने भएको हो।

‘माघ २२ गते पर्ने टेलिकमको वार्षिकोत्सवको अवसरमा प्रिपेड मोबाइलमा समेत फोरजी सेवा विस्तार गर्ने तयारी छ,’ नेपाल टेलिकमकी महाप्रबन्धक कामीनी राजभण्डारीले भनिन्, ‘१ वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गरिने छ।’

व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै महाप्रबन्धक राजभण्डारीले पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको बताइन्।

एप्पल कम्पनीको आइफोन–६ र आइफोन–७ सिरिजका मोबाइलमा फोरजी सपोर्ट गरेकाे छैन। आइफोनमा फोरजी सेवा नै सुचारु नहुँदा उक्त कम्पनीका मोबाइल फोन प्रयोगकर्ता टेलिककमो फोरजी सेवा लिनबाट बञ्चित भएका हुन्।

‘आइफोनका प्रमुख कार्यकारी अधिकृत(सिईओ)लाई पत्राचार गरी उक्त मोबाइलमा फोरजी सेवा सुचारु गर्नु पर्ने विषयमा हामीले जानकारी गराइसकेका छौं,’ राजभण्डारीले भनिन्, ‘चाँडै नै सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरेका छौं।’ टेलिकमले सबै प्रक्रिया पूरा गरी चाँडोमा अबको एक वर्षभित्र देशैभर फोरजी सेवा पु¥याइसक्ने पनि उनले बताइन्।

उनका अनुसार वार्षिकोत्सवकै अवसर पारेर टेलिकमले कल रिङ ब्याक टोन(सिआरबिटी)सेवा समेत पुनः सुचारु गर्ने तयारी गरेको छ। केही समयअघि सञ्चालनमा रहेको उक्त सेवा बन्द भएको थियो।

टेलिकमले करिब ३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो। कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो।

प्रकाशित: ५ माघ २०७३ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App