७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिलाले खोले गाउँमै सेनेटरी प्याड उद्योग

सेमजोङमा सञ्चालित सेनेटरी प्याड उद्योगमा काम गर्दै महिलाहरु। महिलाले मात्रै सञ्चालनमा ल्याएको उद्योगमा कामदार पनि महिला मात्रै छन्। तस्बिरः शंकर श्रेष्ठ

धादिङ–धादिङको धादिङ गाविसका महिलाहरुले महिनावारी हँदा प्रयोग गरिने सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याएका छन्।

भूकम्पपछि पुरानो पेशा व्यवसाय लथालिङ्ग भएपछि महिलाहरुले कृषि सहकारी मार्फत उद्योग संचालनमा ल्याएका हुन्। गाउँमा नै प्याड उत्पादन गरेर बिक्री वितरण सुरु भएपछि यहाँका महिलाहरुको आम्दानीमा समेत वृद्धि भएको साना किसान कृषि सहकारी संस्था सेमजोङकी अध्यक्ष मीना तामाङले बताइन्।

महिलाहरुले महिनावारी हुँदा लगाउने स्यानिटरी प्याड गाउँमै उत्पादन हुन थालेपछि धादिङको सेमजोङका महिलाहरुलाई दोहोरो फाइदा पुगेको छ। गाउँमै प्याड उत्पादन सुरु भएदेखि महिनावारी भएको बेला थाङ्नो कपडा प्रयोग गर्ने महिलाहरुले पनि प्याड नै प्रयोग गर्न थालेका छन्। अध्यक्ष तामाङले भनिन्– ‘एक त सबैले प्याड प्रयोग गर्न थालेका छन्, अर्काेतर्फ महिलाहरुमा नै रोजगारीको अवस्था सिर्जना भएको छ।’

यहाँका महिलाहरुले बजारमा पाइने प्याडभन्दा सस्तो मूल्यमा बिक्री गर्न सकिने र बजारको भन्दा गुणस्तरीय प्याड उत्पादन गरी बिक्री वितरण गरिएको महिलाहरुले दावी गरेका छन्। महिलालाई आत्मनिर्भर बनाउन समेजोङमा उद्योग नै खोलेर प्याडको उत्पादन सुरु भएको हो।

प्याड उत्पादनका लागि जर्मन विकास सहयोग जिआइजेडले सहयोग गरेको छ। गाउँमै प्याड बनाउने तालिम लिएपछि महिलाहरु मिलेर उद्योग खोलेका हुन्। उद्योगले हरेक दिन तीन सय प्याड उत्पादन गर्ने गरेको छ।

गाउँमै उत्पादन भएको एक प्याकेट प्याडको ६० रुपैयाँमा बिक्री गर्दै आएका छन्। आयातित प्याडभन्दा सस्तो र गुणस्तरिय भएको स्थानीय छिरिङ तामाङले अनुभव बताइन्। ‘बजारमा किनेको केही समयमै भिजेर काम नलाग्ने हुन्छ तर यो त धेरै समयसम्म टिक्दो रहेछ,’ उनले भनिन्। महिलाहरुले मात्रै सञ्चालनमा ल्याएको उद्योग जिल्लाकै नमुना उद्योग भएको छ।

 

प्रकाशित: ५ माघ २०७३ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App