coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

काठमाडौं- रिड मोडल कलेजले पहिलो सहभागितामै नेपाली भलिबलको चर्चित प्रतियोगिता ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। भारतीय खेलाडीको साथ पाएको रिड मोडलले नेपाली भलिबलका शक्तिशाली टोली एपिएफ, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चललाई पन्छाउँदै ढोरपाटनको उपाधि जित्यो। घरेलु भलिबलको चर्चित प्रतियोगिता ढोरपाटनले एक दशकपछि नयाँ च्याम्पियन पाएको छ।

यसअघि पोखराको ज्ञानुबाबा उमाविले ५ पटक, एपिएफले ४ र नेपाल पुलिसले १ पटक ढोरपाटन भलिबलको उपाधि जितेका छन्।

प्रतियोगिताको १२ औं संस्करण जित्दै एपिएफले ज्ञानुबाबाको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्य बनाएको थियो। एपिएफ राष्ट्रिय टोलीका खेलाडीबहुल टोली हो। न्यू डायमन्डकी प्रतिभा माली, पुलिसकी कमला पुन र पश्चिमाञ्चलकी अरुणा शाहीबाहेक अन्य सबै पहिलो रोजाइका खेलाडी एपिएफबाट खेल्ने गर्छन्। तर प्रतियोगितामा भारतीय खेलाडी बाहुल्य रिड मोडलले एपिएफको लक्ष्य पूरा हुन दिएन। रिड मोडलले प्रतियोगितामा एउटा टोलीसँग पनि पराजित भएन।

जितपछि रिड मोडलका खेलाडी, समर्थक र अफिसियल प्रतियोगितास्थल राजधानीको नयाँ बसपार्कदेखि स्वयम्भूस्थित कलेजको मैदानसम्म शनिबार र्‍यालीसहित खुसीयाली मनाउँदै पुगेका थिए। रिड मोडलका प्रशिक्षक खुम गाउँलेले नेपाली भलिबलमा नयाँ इतिहास बनाउन सफल भएको बताए। उनले भने, 'हामी खुसी छौं। धेरैले भारतीय खेलाडी ल्याएर उपाधि जितेको भनेका छन्। तर त्यसो होइन, ३ भारतीय खेलाडी भएको टोलीले नेपालको सबै दिग्गज टिमलाइ हराउँदा दुःख लागेको छ। हामो टिममा भएका सबै खेलाडी भारतीय टोलीको पहिलो रोजाइका खेलाडी होइनन्। तर उनीहरूले नेपालका सबै विभागीय टोलीलाई सहजै पराजित गरे, कुनै प्रतिस्पर्धा नै भएन। यसमा दुःख लागेको छ।'

रिड मोडलले शनिबार अन्तिम प्रतियोगिताको साबिक उपविजेता न्यू डायमन्ड र विजेता एपिएफसँग प्रतिस्पर्धा गरेको थियो। दुवै खेलमा रिड मोडलले सफलता हासिल गर्‍यो। बिहान भएको डायमन्डविरुद्धको खेलअघि नै रिड मोडल च्याम्पियन बनिसकेको थियो।

रिड मोडलले एपिएफ क्लबलाई २५–२०, २५–१६, २५–२० को सेटमा पराजित गर्‍यो। पहिलो चरणको लिगमा रिड मोडलले एपिएफलाई ३–१ को सेटमा हराएको थियो। रिड मोडलले डायमन्डलाई २५–१९, २५–१६, २३–२५,  २५–१९ ले  हरायो। रिड मोडलले सबै १५ खेल जित्दै ४५ अंकसहित च्याम्पियन बनेको हो।

१५ खेलमा १३ मा जित हासिल गर्दै एपिएफले ३९ अंक र न्यू डायमन्डले ११ जित र ४ हारको सामना गर्दै ३३ अंक जोडेको थियो।

शनिबार भएका अन्य खेलमा न्यू डायमन्डले नेपाल पुलिसलाई २५–२२, २५–१५, २५–२३ ले हरायो। प्रतियोगितामा रिड मोडलकी निर्मल बेस्ट स्पाइकर, बेस्ट लिफ्टर रिड मोडलकै तेरिन, बेस्ट सर्भर एपिएफकी नेविका चौधरी, बेस्ट क्विकर न्यू डायमन्डकी ललितानाथ, बेस्ट डिफेन्स पश्चिमाञ्चलकी एमकली कुँवर र बेस्ट ब्लकर एपिएफकी उषा विष्ट भए। उत्कृष्ट प्रशिक्षक रिडका खुम गाउँले घोषित भए। उत्कृष्ट सबैले ५/५ हजार रुपैयाँ नगद पाए।

विजयी खेलाडीलाई माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कृत गरे।

प्रतियोगिता विजेता रिड मोडलले ३ लाख २० हजार र उपविजेता एपिएफले १ लाख ६० हजार रुपैयाँ नगद, तेस्रो भएको न्यू डायमन्डले ७५ हजार रुपैयाँ नगद पायो। चौथो पुलिसले ४५ हजार, पाँचौं भएको पश्चिमाञ्चलले ३५ हजार, छैटौं स्थानमा रहेको आर्मीले २५ हजार र सातौं भएको आयोजक ढोरपाटन स्पोर्ट्स टोलीले  १५ हजार रुपैयाँ नगद पाए।

ग्रेट एचिभमेन्ट अवार्ड प्रतिभालाई

न्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली ग्रेट एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छन्। १२ औं ढोरपाटन महिला भलिबल लिगको समापनका अवसरमा प्रतिभाले अवार्डसँगै एक थान स्कुटर प्राप्त गरिन्।

लिगको राइजिङ प्लेयर आयोजक ढोरपाटन स्पोर्ट्स् क्लबकी तारा भण्डारी, प्लेयर अफ द सिरिज नेपाल पुलिसकी कामना विष्ट, वर्ष खेलाडी एपिएफकी सरस्वती चौधरी, बेस्ट प्लेयर रिड मोडलकी मिनिमलले प्राप्त गरे। चारैजना खेलाडीले १/१ थान स्कुटर प्राप्त गरे।

प्रकाशित: ९ माघ २०७३ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App