७ वैशाख २०८१ शुक्रबार
खेल

ह्वाटमोर राजधानीमा

काठमाडौं- श्रीलंकालाई १९९६ मा एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका प्रशिक्षक डेभ ह्वाटमोरले सोमबार ‘ब्याट एन्ड बल फाउन्डेसन’ (बिटुएफ)को उद्घाटन गरेका छन्। भावना घिमिरे कार्यकारी निर्देशक रहेको ब्याट एन्ड बल फाउन्डेसन नेपाली क्रिकेट विकासमा सहयोग पुर्‍याउन स्थापना गरिएको हो। यही फाउन्डेसनको निमन्त्रणामा ह्वाटमोर नेपाल आएका हुन्। दुई साता नेपाल बसाइमा ह्वाटमोरलेे ‘हाई पर्फरमेन्स ट्रेनिङ’अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण दिनेछन्।

अस्ट्रेलियाबाट १९८० देखि १९९० सम्म ७ टेस्ट खेलेका ह्वाटमोरले उद्घाटनमा नेपाली टोलीसँग समय बिताउन उत्सुक रहेको बताए। उनले भने, ‘नेपालमा प्रतिभाको कमी छैन। आशा गरौं यो बसाइले उनीहरूको प्रतिभा र क्षमता विकासमा सहयोग पुग्नेछ।’

पाकिस्तान र बंगलादेशलाई समेत प्रशिक्षण दिइसकेका ह्वाटमोरले माघ १२ देखि २५ सम्म नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिनेछन्। नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारी गरिरहँदा ह्वाटमोरको आगमन महत्वपूर्ण रहेको बताए।

‘यो संस्थाले खेलाडीलाई उत्कृष्ट अवसर दिलाउँदै क्रिकेट संस्कार विकासमा सघाउँछ भन्ने मलाई लागेको छ। एकेडेमी बनाउने र सिड्नी क्रिकेट क्लबसँगको सहकार्यले दीर्घकालीन रुपमा नेपालको क्रिकेट विकासमा सहयोग पुग्नेछ,’ पारसले भने, ‘वर्ल्ड क्रिकेट लिगअन्तर्गत केन्याविरुद्ध हुने खेलको तयारी गरिरहेका बेला ह्वाटमोर यहाँ आएका छन्। उनको उपस्थितिको सकेसम्म फाइदा उठाउनेछौं।’

फाउन्डेसनका अध्यक्ष पारस शाक्यले बल एन्ड ब्याट फाउन्डेसनले क्रिकेट विकासमा काम गर्ने भन्दै क्रिकेट क्लब स्थापना गर्ने योजना रहेको बताए। शाक्यले खेलाडी उत्पादनका फाउन्डेसनले विशेष काम गर्ने बताए। फाउन्डेसनले युवा खेलाडीको विकासमा ध्यान दिने भावना घिमिरेले बताइन्।

प्रकाशित: ११ माघ २०७३ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App