७ वैशाख २०८१ शुक्रबार
खेल

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

काठमाडौं- सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एपिएफले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष शैलेन्द्र खनालले स्थापनाको एक दशकमा क्लबले धेरै सफलता हासिल गरेको बताए। उनले बिडब्लुएफ र बिएसीको नियमानुसार गराइने ब्याडमिन्टन प्रतियोगितामा विभिन्न १० विधामा खेलाडीले प्रतिस्पर्धा गर्ने बताए। ब्याडमिन्टन र लन टेनिसका प्रत्येक विधामा कम्तीमा ८ जना वा समूहको सहभागिता हुनुपर्ने छ, नभए उक्त विधा स्वतः रद्द हुने छ।

स्वयम्भूको हल्चोकस्थित एपिएफ कभर्ड हलमा माघ २० सम्म हुने प्रतियोगितामा महिला/पुरुष एकल, महिला/पुरुष डबल्स, १७ वर्ष मुनिका किशोर/किशोरी, मिक्स डबल्स, भेट्रान्स डबल्स ४५ वर्ष, भेट्रान्स डबल्स ५५ वर्ष, मास्टर डबल्स ३५ वर्ष माथिको विधामा प्रतिस्पर्धा हुनेछ। एक जनाले ३ वटाभन्दा धेरै विधामा सहभागिता जनाउन पाउनेछैन।

पुरुष एकल र डबल्सको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। पुरुष एकलको क्वार्टरफाइनलमा हार्नेले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। महिला एकलको विजेताले ५० हजार, दोस्रो र तेस्रोले जनही २५ हजार रुपैयाँ नगद पाउनेछन्। महिला डबल्सका विजेताले ४०, दोस्रोले २५ र तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। १७ वर्ष मुनिका (किशोर/किशोरी) विजेताले २५, उपविजेताले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। मिक्स डबल्सका विजेताले ४०, दोस्रोले २५ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद जित्नेछन्। भेट्रान्सतर्फ (४५ र ५५) वर्ष तथा मास्टर ३५ वर्ष माथिको डबल्सका विजेताले १० र दोस्रो हुनेले ८ हजार रुपैयाँ पुरस्कार जित्नेछन्। सेमिफाइनलमा पराजित हुनेले जनही ६/६ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

आइटिएफ र एएनएलटिएको नियमानुसार बेस्ट अफ थ्री सेटमा खेलाइने लन टेनिस माघ १८ गतेसम्म हुनेछ। एपिएफ क्लब र सातदोबाटोस्थित लन टेनिसको कोर्टमा हुने प्रतियोगिताअन्तर्गत १३ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एकजना खेलाडीले २ भन्दा धेरै विधामा प्रतिस्पर्धा गर्न पाउनेछैन।

पुरुष र महिला एकलका विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। पुरुष एकलको क्वार्टरफाइनलमा हार्नेले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। महिला र पुरुष डबल्सका विजेताले ४० हजार, दोस्रो र तेस्रोले जनही २० हजार रुपैयाँ नगद पाउनेछन्। मास्टर एकलका विजेताले ५, दोस्रोले ४ तथा सेमिफाइनलमा पराजित हुनेले ३/३ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। मास्टर डबल्सका विजेताले १०, दोस्रोले ८ र सेमिफाइनलमा पराजित हुनेले ६/६ हजार रुपैयाँ नगद जित्नेछन्। भेट्रान्स एकल (३५, ४५, ५५ र ६५ वर्ष) तर्फका विजेताले ५, दोस्रोले ४ र सेमिफाइनलमा पराजित हुनेले ३/३ हजार रुपैयाँ नगद जित्नेछन्। भेट्रान्स डबल्स (३५, ४५, ५५ र ६५ वर्ष) तर्फको विजेताले १०, दोस्रोले ८ र सेमिफाइनलमा पराजित हुनेले ६/६ हजार नगद जित्नेछन्।

एपिएफको कोर्टमा हुने भलिबल प्रतियोगितामा माघ २० गतेसम्म हुनेछ। फिभको नियमानुसार हुने प्रतियोगिता लिगकम नकआउट प्रणाली अनुसार वेस्ट अफ फाइभका आधारमा खेलाइनेछ। सहभागी टोलीले विदेशी खेलाडी खेलाउन पाउने छैनन्। उपत्यका बाहिरबाट सहभागिता जनाउने टोलीलाई यातायात, भोजन र बसोबास सुविधासहित जनही १ हजार रुपैयाँ भत्ता प्रदान गर्ने अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले बताए। प्रतियोगिताका विजेताले २ लाख ५० हजार, दोस्राले १ लाख २५ हजार, तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।   

प्रकाशित: ११ माघ २०७३ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App