१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाहुना टोलीलाई हराएर संकटा सेमिफाइनलमा

पोखरा-सिएमजी संकटा क्लब यहाँ जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पाहुना टोली बंगलादेशको नारायणगन्ज फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो।

तुलनात्मक रुपमा सुरुदेखि नै केही बलियो देखिएको संकटाले गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । ५३ औं मिनेटमा विश्वास श्रेष्ठको कर्नरलाई कोअरा लार्बा फ्लोरेन्टले दिएको छोटो हेडपासमा निराजन खड्काले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

निर्धारित समयमा १–० ले पछि परेको नारायणगन्जमाथि इन्जुरी समयको पहिलो मिनेटमा संकटाका विश्वास श्रेष्ठले अर्को गोल गरेर विजय निश्चित गरेका थिए । विश्व अधिकारीको पासमा विश्वासले पेनाल्टी बक्सबाट गोल गरेका थिए । मंगलबारको खेलमा संकटाका लोअल अफिज म्यान अफ दि म्याच घोषित भए । मंगलबार विजयी संकटाले सेमिफाइनलमा साबिक विजेता लक्ष्मीहुन्डाई मनाङमस्र्याङदी क्लबसँग खेल्नेछ ।

सोमबार राति मात्र पोखरा आइपुगेको पाहुना टोली नारायणगन्जले पाएका अवसरलाई उपयोग गर्न नसक्दा पहिलो यात्रामै पूर्णबिराम लगाएर फर्कनु परेको छ । १५ औं मिनेटमा नारायणगन्जका राजोन मिहको सशक्त प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले पञ्च गरेर जोगाएका थिए । पहिलो हाफको इन्जुरी समयमै नारायणगन्जका टोनी बरमोनको पासमा मोहम्मद रोनीले पेनाल्टी बक्स नजिकबाट गरेको सशक्त प्रहार आकासिँदा पाहुना टोलीले गोलको राम्रो अवसर चुकाएको थियो । ६५ औं मिनेटमा रोनीले गरेको लामो प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो पटक पोखरामा खेल्न आएको बंगलादेशी टोलीका म्यानेजर सैफुल इस्लामले ढिलो आइपुग्दा खेलाडीले आवश्यक आराम र अभ्यास गर्न नपाउँदा पराजित हुनुपरेको बताए । उनका अनुसार नारायणगन्ज बंगलादेशको राजधानी ढाकामा खेल्ने ‘ए’ डिभिजन क्लब हो । टिममा ४ जना राष्ट्रिय खेलाडी रहेको उनले बताए । तीमध्ये ३ जनाले मात्र पोखरामा खेलेका थिए ।

‘हामी केही ढिलो पोखरा आइपुग्यौं । आराम समेत गर्न पाएका थिएनौं,’ उनले भने, ‘अभ्यास त झन् गर्नै पाएनौं । लामो यात्राले खेलाडी थाकेका थिए । पहिलो रोजाइका गोलरक्षक घाइते भएकाले पनि समस्या भयो ।’ खेलको १८ औं मिनेटमै पहिलो रोजाइका गोलरक्षक मोहम्मद राजीब संकटाका खेलाडीसँग ठोक्किएर घाइते भएपछि उनको स्थानमा स्वरब सरकारलाई खेलाइएको थियो ।

‘हामी पोखरा खेल्न आउनुपर्ने थाहै थिएन । अन्तिम समयमा मात्र हामीले जानकारी पायौं । त्यसले गर्दा तयारी पनि गर्न पाएनौं,’ उनले भने । बंगलादेशी टोली सोमबार रातिमात्र पोखरा आएको थियो । आयोजक सहारा क्लबले यसअघि बंगलादेशकै फारसगन्ज स्पोर्ट्स क्लब आउने बताउँदै आए पनि अन्तिम समयमा नारायणगन्ज आएको थियो । फारसगन्ज आउन नसकेपछि उसको साटो नारायणगन्ज आएको सहाराले जनाएको छ ।

विजयी भए पनि संकटाले पाहुना टोलीसँग सशक्त खेल प्रदर्शन गर्न सकेन । यसअघि तेस्रो र १२ औं आहा–रारामा सहभागी भएको संकटा क्लबले दुवै सहभागितामा मनाङमस्र्याङदीसँग समान २–० गोलले क्वार्टरफाइनलमा पराजय भोगेको थियो । यसपटक सेमिफाइनलमा उसको भिडन्त पुरानै प्रतिद्वन्द्वी मनाङमस्र्याङदीसँग हुँदैछ ।

संकटाका प्रशिक्षक सल्यान खड्कीले बंगलादेशसँगको खेलमा पहिलो हाफमा गोल गर्न नसक्दा दोस्रो हाफ केही दबाबमा खेल्नु परेको बताए । ‘पहिलो हाफमा गोल निस्केन । त्यसले गर्दा दोस्रो हाफमा हाम्रा खेलाडीले केही दबाबमा खेल्नुप¥यो,’ उनले भने, ‘बंगलादेशी टिम पनि सशक्त नै हो । हामीले कमजोर ठानेर खेलेको होइन ।’ उनले विपक्षी टिमलाई कहिल्यै पनि कमजोर ठान्न नहुने बताए । अबका खेलमा भने फरक रणनीति बनाएर खेल्ने उनले बताए । बुधबार आयोजक सहारा क्लब र आर्मीबीच खेल हुनेछ ।

 

प्रकाशित: १२ माघ २०७३ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App