coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एनओसी विवाद चर्कंदै

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)को वैधानिकता विवादले ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर मंगलबार दिनभर तनावपूर्ण भयो ।
सर्वोच्च अदालतले पुनःस्थापित गरेको रुक्मशमशेर राणा अध्यक्षताको एनओसीले सातदोबाटोस्थित ओलम्पिक कमिटी भवनमा ताल्चा लगाएपछि परिसर दुवै पक्षको शक्ति प्रदर्शनस्थलमा परिणत भएको थियो । सर्वोच्चको निर्णय कार्यान्वयन गराउने क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयले एनओसी मुख्यालयमा प्रवेश गराउन राणा समूहलाई लेखेको पत्रका आधारमा उनीहरूले सोमबार ताल्चा लगाएको थियो ।
तर जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले पत्रकार सम्मेलन गरेर राणा समूहलाई अन्तर्राष्ट्रिय मान्यता ल्याउन चुनौती दियो । ‘भवन कब्जा गर्दैमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले उहाँलाई मान्यता दिँदैनन् । आइओसी  र ओसिएबाट आधिकारिकता पाए हामी उहाँहरूलाई फूलमालाले स्वागत गर्छौं,’ श्रेष्ठले मंगलबार एनओसी भवन परिसरमा गरेको पत्रकार सम्मेलनमा राणालाई चुनौती दिए ।
श्रेष्ठले एनओसी भवन रहेको जग्गा सरकारले उपलब्ध गराए पनि आइओसीको सहयोगमा निर्माण भएको बताए । उनले भने, ‘हामी यो विवाद अन्त्य गर्न उहाँहरूसँग वार्तामा बस्न तयार छौं । यो विवादका कारण नेपालले आयोजना गर्ने १३ औं साग प्रभावित हुने निश्चित छ ।’
सम्मेलनपछि श्रेष्ठ पक्ष कार्यालय परिसरमा बसिरहेका बेला राणा नेतृत्वको समूह कार्यालयमा पस्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले दुवै पक्षबीच छलफल गराउने भन्दै राणा समूहलाई दिउँसो ३ः३० बजे कार्यालय प्रवेश गरायो ।  
हात मिलाउँदै श्रेष्ठले राणालाई ‘वेलकम’ भन्दै कार्यालय परिसरभित्र स्वागत गरे । जबाफमा राणाले श्रेष्ठलाई ‘वेलकम टु यु टु’ भन्दै कार्यालय प्रवेश गरेका थिए । अदालतको अवहेलना हुने जनाउँदै राणा समूहले अवैधानिक एनओसी पदाधिकारीसँग वार्तामा नबस्ने भन्दै बाहिर निस्केर पत्रकार सम्मेलन ग¥यो ।
राणाले बाहिर गरेको पत्रकार सम्मेलनमा अदालतको निर्णय कार्यान्वयन गराउन आफ्नो समूह लागिपर्ने प्रतिबद्धता जनाए । उनले छिट्टै भावी योजनाबारे जानकारी गराउने बताए । उनले भने, ‘उहाँहरू मिलेर काम गरौं भन्नु हुन्छ । त्यसको अर्थ उहाँहरूले चाहेको वातावरणमा काम गर्ने हो ।’
२०६३ मा भएको निर्वाचन वैधानिक नभएको दाबी पनि अध्यक्ष राणाले गरे । उनले भने, ‘तत्कालीन महासचिव ध्रुवबहादुर प्रधानले आइओसी र ओसिएका पदाधिकारी आएको भन्दै मलाई हायात होटलमा भेट्न बोलाउनु भयो । तर त्यहाँ निर्वाचनको तयारी भैरहेको रहेछ । मलगायत केही साथीले त्यसमा हस्ताक्षर नगरी होटलबाट फर्कियौं । त्यही अवैधानिक साधारणसभालाई आधार बनाएर मुद्दा दायर ग¥यौं ।’
राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशरबहादुर सिंहले श्रेष्ठ नेतृत्वलाई सरकारले मान्यता दिए उनीहरूलाई स्वागत गर्ने बताए । उनले भने, ‘कानुनी राज्यमा सरकारको निर्णय मान्न उहाँहरू तयार हुनुहुन्न । त्यसमा उहाँहरूलाई प्रहरी प्रशासनले पनि सहयोग गरिरहेको छ ।’

परिसरमा जे देखियो....
अघिल्लो दिन राणा समूहले लगाएको ताल्चा श्रेष्ठ पक्षले फुटाउन प्रयास गर्दा सम्भावित झडप रोक्न पुलिसले रोकेको थियो । त्यसपछि श्रेष्ठ पक्षले भवनबाहिरै पत्रकार सम्मेलन गरेको थियो । राणा पक्षलाई पनि पुलिसले झडप हुनसक्ने आशंकाले एनओसी परिसरमा प्रवेश गर्न दिएको थिएन ।
विवाद समाधानका लागि दुई पक्षबीच वार्ता गर्न तयार राणा पक्षले ताल्चा खोलेपछि अध्यक्ष श्रेष्ठ र महासचिव लामा टेण्डी कार्यालय प्रवेश गरे । तर सबैलाई भित्र छिर्न नदिएपछि राणा पक्षले आफूहरू अदालतको फैसला कार्यान्वयन गराउन आएको र कार्यालयमा पदबहाली गर्ने भनेपछि विवाद फेरि चर्किएको थियो ।
श्रेष्ठ पक्ष भित्र बसिरहेका बेला राणा समूह पनि कार्यालय प्रवेश गर्न प्रयास ग¥यो । दिउँसो करिब २ बजे राणासहित राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव किशोरबहादुर सिंह सहितको समूह कार्यालय पुगेको थियो । तर प्रहरीले राणा समूहलाई रोक्यो र भित्र प्रवेश गर्न दिएन । केहीबेर राणा समूह मूलद्वार बाहिर उभियो । प्रहरीले दुवै पक्षबीच छलफल गराउने भन्दै राणा समूहलाई दिउँसो ३ः३० बजे कार्यालय प्रवेश गरायो ।  
राणा समूहसँग वार्ता गर्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीबाट अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा, उपाध्यक्षद्वय ज्योती राणा र पुरेन्द्रविक्रम लाखे तथा सदस्य समिममिँया अन्सारीसहित पाँच जनाको नाम अघि सारिएको थियो ।
दुवै पक्षबीच वार्ता नभएपछि राणा समूहले श्रेष्ठ पक्षलाई कार्यालयबाट बाहिर निकाल्न प्रहरीमाथि दबाब दियो ।
श्रेष्ठ र शेर्पा कार्यालयबाट बाहिरिएपछि राणा समूहले मूलद्वारमा फेरि ताल्चा लगाउने प्रयास गरेका थिए । तर प्रहरीले उनीहरूलाई ताल्चा लगाउन दिएन ।
एनओसी कार्यालय प्रवेश गर्ने दुई वटा ढोकामध्ये एउटामा राणा समूहले ताल्चा लगाएको छ भने अर्कोमा मंगलबार बेलुका श्रेष्ठ अध्यक्ष रहेको कमिटीका कर्मचारीले ताल्चा लगाए । त्यसपछि राणा समूहले फेरि ताल्चा लगाउन प्रयास गर्दा प्रहरीले रोक्यो ।
साँझ दुवै पक्षलाई प्रहरीले कार्यालय बाहिर पठायो । श्रेष्ठ पक्षका पदाधिकारी अखिल नेपाल लन टेनिस संघ कार्यालयनजिक र राणा समूहका पदाधिकारी पौडी पोखरी परिसर पछाडि उभिए ।
डिएसपी श्यामकुमार राईले बिहान कर्मचारी नआउन्जेल सुरक्षा दिने बताएपछि श्रेष्ठ र शेर्पा टेनिस संघ परिसरबाट बाहिरिएका थिए ।

प्रकाशित: १२ माघ २०७३ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App