७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं- सुनील रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले दोस्रो दृष्टिविहिन ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार नयाँदिल्लीमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो।

दिल्ली विकास प्राधिकरण (डिडिए) को मैदानमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। जवाफमा नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपाल यसअघि अस्टे्रलियासँग १० विकेट र बंगलादेशसँग ५९ रनले पराजित भएको थियो। जारी प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलिया तथा दोस्रो खेलमा बंगलादेशसँग टोली पराजित भएको थियो। दक्षिण अफ्रिकाविरुद्ध नेपालले विजय हासिल गरेको पनि यो पहिलो पटक हो। २०१२ मा भएको पहिलो संस्करणमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको थियो। ट्वान्टी–२० विश्वकप प्रतियोगितामा नेपालले जितेको यो दोस्रो खेल हो। यसअघि २०१२ मा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको थियो। नेपालले त्यसयता विश्वकपमा ११ तथा समग्रमा १५ खेल खेलेको छ। विश्वकपवाहेक नेपालले ४ खेल एसिया कपमा खेलेको हो।

नेपालको जितमा म्यान अफ दी म्याच समेत रहेका सुनीलले ३५ बलमा ३८ रन बनाउनुका साथै २ विकेट लिए। उनीवाहेक नेपालका सुनील सुवेदी क्षेत्रीले ३३ बलमा ४६ रनको योगदान दिए। उनले विजयी चौका प्रहार गर्दै नेपालको जित पक्का गरेका थिए। सुनील राना ‘बी’ टु (५ मिटरसम्म देख्न सक्ने) तथा सुनिल सुवेदी ‘बी’ वान (पूरै आँखा नदेख्ने) खेलाडी हुन्।

त्यस्तै, ओपनर रमेशबहादुर बानियाले २८ बलमा १ चौकासहित २४ रन बनाए। लोकबहादुर थापाले ९ र सुनील थापामगरले ५ रन जाडे। नेपालले २७ अतिरिक्त रन पायो। दक्षिण अफ्रिकाका बुहले भिड्ला, सोनवाबाईल बिडला, डक्टर विलियम र टेफो लेस्लेले १/१ विकेट लिए।

दक्षिण अफ्रिकाका लागि बिडलाले ५७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। डोमिनिक स्कटले ३३ रन बनाउँदा भिड्लाले ३२ रन बनाए। अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन। नेपालका सुनीलले चार ओभरमा २६ रन दिएर दुई विकेट लिएका थिए। कप्तान दुवालले १ विकेट लिए। 

प्रशिक्षक रिजन प्रजुले रणनीति परीवर्तन गर्दा जित सम्भव भएको प्रतिक्रिया दिए। 'आज बलरहरूले राम्रो प्रदर्शन गरे। दक्षिण अफ्रिकाजस्तो टोलीलाई १ सय ५० रन भित्र रोक्न सफल भयौं,’ प्रशिक्षक प्रजुले भने, 'ब्याट्सम्यानले पनि संयमित भएर खेले। ओपनरहरुले जिम्मेवारीपूर्वक खेल्दा जित सम्भव भयो। ब्याटिङ लाइनअपमा गरिएको परीवर्तनले सकारात्मक नतिजा दियो।'

नेपालले आफ्नो चौथो खेलमा शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। अघिल्लो २ खेलमा पराजित भएपछि नेपालले दक्षिण अफ्रिकाविरुद्ध सुनील रानामगर र रमेशबहादुर बानियालाई ओपनिङमा पठाएको थियो।

प्रकाशित: २१ माघ २०७३ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App