१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफलाई संकटाको प्रहार

बारा- विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि २–० को जित हासिल गर्दै सिएमजी संकटा क्लबले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। संकटाको जितमा राज पौडेल र सुशिल केसी गोल गरेका थिए। तर खेलको नायक मार्टिन अजाई भए। उनले दुवै गोलमा पास मिलाएका थिए। टोलीको विजय आधार निर्माण गरेका मार्टिन म्यान अफ दी म्याच भए।

लगातार निराशाजनक नतिजा सामना गरिरहेको एपिएफमाथि शुक्रबारको नतिजाले दबाब थपेको छ। घरेलु प्रतियोगितामा पछिल्लो समय एपिएफको हारको क्रम रोकिएको छैन। माघमा खेलेका तीन महत्वपूर्ण प्रतियोगितामा एपिएफले लगातार निराशाजनक नतिजाको सामना गर्‍यो। पोखरामा सम्पन्न आहा–रारा गोल्डकपमा एपिएफलाई धरान–११ ले १–० ले हराएको थियो। झापामा जारी झापा गोल्डकपको पहिलो चरणको खेलमा पनि एपिएफ हिमालयन शेर्पा क्लबसँग टाइ–ब्रेकरमा पराजित भएको थियो। झापा गोल्डकपमा २–० ले अग्रता लिए पनि अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले हार सामना गर्नुपरेको थियो। टाइ–ब्रेकरमा एपिएफ ३–२ ले स्तब्ध भएको थियो। 

एपिएफ प्रशिक्षक कुमार थापा टोली मानसिक रुपमा कमजोर भएको स्विकार्छन्। 'टोलीको मनोबल घटेको छ। हरेक खेलमा हामी चुकिरहेका छौं। टिम सन्तुलित छ। राम्रो फुटबल खेलिरहेको पनि छ। तर गोल गर्न सकेका छैनौं,' थापाले भने, 'मौका पाएर पनि स्ट्राइकरले गोल गर्न सकिरहेका छैनन्। स्ट्राइकिङमा कमजोरी देखिएको छ। खेलाडीमा गोल गर्ने क्षमताको विकास हुन सकिरहेको छैन। त्यसले गर्दा टोलीको नतिजामा अशर परेको छ। फरवार्डले गोल गर्न नसकेपछि रक्षापंक्तिले धेरैबेर थेगिरहन सक्दैन।'

लगातारको हारपछि टोलीको प्रदर्शनमा समिक्षा गर्नुपर्ने देखिएको थापाले बताए।

'खेलाडीले खेलमा राम्ररी ध्यान केन्द्रित गर्न नसकेको जस्तो देखिन्छ। लगातारको हारले पनि आत्मविश्वास घटेको छ। जुन हाम्रो लागी राम्रो लक्षण होइन। अब आगामी खेलमा राम्रो नतिजा निकाल्ने वारेमा केन्द्रित हुन्छौं,' उनले थपे।

राज पौडेलले मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा मार्टिनको पासमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। इन्जुरी समयमा शुसिलले गोल थपेपछि एपिएफको खेलमा फर्किने सम्भावना सकियो।

सुरुदेखि संकटाले खेलमा नियन्त्रण राखेको थियो। जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनीतिअनुसार खेलेको कारण सफलता हात पारेको बताए। खड्गीले भने, 'विभागीय टोलीलाई हराउन कठिन हुन्छ। आज हामी आफ्नो रणनीतीमा सफल भयौं। एपिएफसँग रक्षात्मक खेल्ने योजना थियो। खेलाडीले योजना अनुसार खेले।'

प्रतियोगितामा शनिबार पोखराको सहारा क्लब र वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २२ माघ २०७३ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App