८ वैशाख २०८१ शनिबार
खेल

घरेलु मैदानमा झापाको सफलता निरन्तर

झापा- घरेलु मैदानमा लगातार सफलता आत्मसात गर्ने क्रमलाई शुक्रबार सेमिफाइनलमा निरन्तरता दिँदै आयोजक झापाले लगातार दोस्रो वर्ष रमपम झापा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ। डोमालाल रंगशालामा कर्ण लिम्बुले दुई गोल गरेपछि हिमालयन शेर्पा क्लबमाथि ४–० को नतिजा निकाल्दै झापा फाइनल पुग्न सफल भएको थियो। झापाको फराकिलो जितमा थप गोल बुद्ध चेम्जोङ र खमिर गिल्सन कन्दङवाले गरे। गतवर्ष फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग पराजित भएको झापाले यसपाली पनि फाइनलमा उही प्रतिद्वन्द्वी पाउने सम्भावना छ। शनिबार हुने अर्को सेमिफाइनलमा आर्मीले लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लबसँग खेल्नेछ।

२८औं मिनेटमा कर्णको गोलबाट झापाले अग्रता लिएको थियो। रजिन धिमालले लामो दुरीबाट दिएको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै कर्णले झापालाई अघि बढाएका थिए। समय सकिन ११ मिनेट बाँकी रहँदा कर्णले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। बुद्धको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गर्दै कर्णले अग्रता दोब्बर पारेका थिए।

दोस्रो गोलका लागि कर्णलाई पास मिलाएका बुद्धले समय सकिन तीन मिनेट बाँकी रहँदा व्यक्तिगत गोलको खाता खोले। दिलेन लोक्तामको पासमा गोल गर्दै बुद्धले झापाको जित पक्का पारेका थिए। जहाँ इन्जुरी समयमा वैकल्पिक खेलाडी कन्दङवाले गोल गर्दै जित अन्तर थप फराकिलो पारे। पुजन उपरकोटीको पासलाई कन्दङवाले पेनाल्टी बक्स भित्रबाट गोलमा परिणत गरेका थिए।

यसअघि खेलको छैटौं मिनेटमा कप्तान नगेन्द्रमणि लिम्बूले गोल लाइनको नजिकैबाट 'पुस' गरेको बल बाहिरिँदा झापा अग्रता लिने मौकाबाट चुकेको थियो। थुप्रै अन्य मौका पनि खेर फालेको झापाका सञ्जोग राईले २२औं मिनेटमा गरेको लामो प्रहारले पनि शही दिशा लिन सकेन।  यसैगरी विश्वास श्रेष्ठको कडा प्रहार पोस्टमा लागेर फर्किँदा ३३औं मिनेटमा हिमालयन शेर्पा खेल १–१ को बराबरीमा ल्याउने अवसरबाट चुकेको थियो। यसैगरी ७० औं मिनेटमा हिमालयन शेर्पाका निशाल लिम्बूले हेड गरेको बल झापाका गोलरक्षक एलेन न्यौपानेले जोगाए।

झापा–११ र हिमालयन शेर्पाको यसअघि एकपटक मात्र भेट भएको थियो। मंसिरमा सम्पन्न काँकरभिट्टा गोल्डकपमा झापाले टाइ–ब्रेकरमा हिमालयन शेर्पालाई ४–३ को नतिजामा हराएको थियो।

जीतपछि झापाका प्रशिक्षक सञ्जय राईले मेहेनतको फल पाएको प्रतिक्रिया दिए। उनले मिडफिल्डमा कमजोरी देखिएको बताउँदै त्यसलाई फाइनलमा सुधार गर्ने बताए। उता पराजित हिमालयन शेर्पाका प्रशिक्षक विकास गौचनले खेलाडीबीच तालमेल नमिलेका कारण हार बेहोर्नु परेको बताए। झापाले शुरुमै गोल गरेपछि आफ्नो टोली दबाबमा आएर खुलेर खेल्न नसकेको उनको भनाई थियो।

झापाको जितमा मुख्य दुई गोल गरेका कर्ण शुक्रबार सेमिफाइनलको म्यान अफ दी म्याच भए। उनले नगद ७ हजार रुपैयाँ पाए।

प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनलमा साबिक विजेता आर्मी र मनाङ आमने–सामने हुँदा प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आर्मीले मंगलबार रुपन्देही–११ लाई पाखा लगाउँदै अन्तिम चारमास्थान पक्का गरेको थियो भने मनाङले बिहीबार एनआरटीलाई हराएर अन्तिम चारको यात्रा गरेको थियो।

प्रकाशित: २२ माघ २०७३ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App