४ वैशाख २०८१ मंगलबार
खेल

सुनीलको कीर्तिमानी प्रदर्शन

काठमाडौं- सुनील थापा मगरले कीर्तिमानी प्रदर्शन गर्नाका बावजुद शनिबार नेपाल दोस्रो दृष्टिबिहिन ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ। जारी प्रतियोगितामा यो नेपालको चौथो हार हो।

वेस्ट इन्डिजले दिएको २ सय ९ रनको लक्ष्य पछाउने क्रममा नेपालले निर्धारित २० ओभर पूरा खेल्दै ३ विकेटको नोक्सानीमा १ सय ६५ रनमात्र जोडन सक्यो।

नेपालको तर्फबाट सुनीलले अर्धसतक पूरा गर्दै टोलीमा हौसला थप्ने काम गरे। 'बी–३' का सुनीलले ५१ बलमा अविजित ७० रनको योगदान गरे। सुनीलले बनाएको स्कोर दृष्टिविहिन अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीको अहिलेसम्मको सबभन्दा धेरै हो। सुनीलले १० चौका प्रहार गरेका थिए। 

प्रतियोगितामा नेपालले यसअघि अस्टे्रलियासँग १० विकेट, बंगलादेशसँग ५९ रन र पाकिस्तानसँग १० विकेटको पराजय भोगिसकेको छ। नेपालले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकालाई भने ६ विकेटले पराजित गरेको थियो। शनिबारअघिका सबै खेल नेपालले दिल्लीमा खेलेको थियो। वेस्ट इन्डिजविरुद्धको खेल भने मुम्बईमा भएको थियो। तर नेपालले मुम्बईमा पनि हारको क्रमलाई रोक्न सकेन।

मुम्बईको बान्द्रा स्थित एमआईजी मैदानमा टस जितेपछि नेपालले फिल्डिङ रोजेको थियो।

ओपनर केभिन एन्ड्रयु डगलसले ९६ रन जोडेपछि वेस्ट इन्डिजले २ सय ८ रन बनाएको थियो। रनआउट हुनु अघि एन्ड्रयुले ५९ बलमा १० चौका प्रहार गर्दै नेपाली बलरमाथी दबाब बढाएका थिए। वेस्ट इन्डिजका कानिल वायने ग्राहम २७ रन जोडेको बेला रिटायर्ड हर्ड भएका थिए।  लिरोय ओरिन फिलिप्सले २३ रन जोडे। नेपालका सुनील, रमेशबहादुर बानिया, विक्रमबहादुर राना र पदमबहादुर बादैलाले समान १ विकेट लिए।

जवाफमा नेपालका ओपनर पदमबहादुर ११ र सुनील राना मगर २५ रनमा आउट भए। सुनिल सुवेदी क्षेत्री ३ रनमा आउट भएपछि नेपालमाथी दबाब बढेको थियो। तर सुनीलले क्रिजमा अन्तिम समय सम्म टिक्दै लक्ष्य हासिल गर्ने आसा जीवित राखेका थिए। सुनीलपछि नेपालका लागि लोकबहादुर  थापाले सर्वाधिक ३६ रन जोडे। अविजित रहेका लोकबहादुरले २९ बलमा ३ चौका प्रहार गरे।

वेस्ट इन्डिजका एन्थोनी फिटराल्ड र गनेश मिथारा सिंहले १/१ विकेट लिए।

नेपाली टोलीका प्रशिक्षक रिरन प्रजुले फिल्डिङ कमजोर हुँदा हार सामना गर्नु परेको बताए। उनले भने, 'वेस्ट इन्डिजविरुद्ध हाम्रो फिल्डिङ कमजोर भयो। त्यसले खेलको सुरुमै दबाब भयो। खेल हारे पनि हामीले बलिङ र ब्याटिङमा राम्रो गर्‍यौं। यसले अर्को खेलका लागि हामीलाई हौसला थपेको छ।'

नेपालले वेस्ट इन्डिजलाई २८ रन अतिरिक्त दिएको थियो। नेपालले प्रतियोगिता अन्तर्गत छैटौं खेल आइतबार श्रीलंकासँग खेल्नेछ।

प्रकाशित: २३ माघ २०७३ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App