४ वैशाख २०८१ मंगलबार
राजनीति

भोट खसाल्ने प्रतीक्षा

नेपालगन्ज- पहिलो पटक स्थानीय चुनावमा सहभागी हुने अवसर आउँदा आयाज हल्वाई उत्साहित छन्। नेपालगन्ज–८ निवासी ३० वर्षीय आयाजले स्थानीय चुनावमा पहिलो पटक भोट खसाल्ने अवसर पाउन लागेका हुन्। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि जनप्रतिनिधि निर्वाचित गर्ने व्यग्र प्रतीक्षामा छन् हल्वाई।

निर्वाचन मिति घोषणाले एकातिर सर्वसाधारणलाई उत्साहित बनाएको छ भने अर्कोतिर उम्मेदवारमा पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ताले पनि सताएको छ।

‘अहिले स्थानीय निकाय जताततै जनप्रतिनिधिविहीन बनेको छ। चुनाव भएपछि हाम्रा जनप्रतिनिधि चुनिन्छन् र हामीलाई नै काम गराउन सजिलो हुन्छ,’ उनले भने। लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा जनताले धेरै दुःख पाएको उनको भनाइ छ। उनले थपे, ‘जनप्रतिनिधि नभएकै कारण हाम्रा कुरा कसैले सुन्दैन।’

मतदाता नामावलीमा समावेश भए पनि २०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्ज–७ का नजर मोहम्मद मतदान गर्नबाट वञ्चित भए। त्यसयता लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन सकेन र स्थानीय निकाय जनप्रतिनिधिविहीन बन्न पुग्यो। सरकारले निर्वाचन घोषणासँगै आवश्यक तयारी गरिरहँदा मोहम्मद हर्षित बनेका छन्। ‘सरकारले चुनावको मिति घोषणा गरिसक्यो, अब चुनाव हुने वातावरण झन् बलियो बनेर गएको छ,’ उनले भने। लामो समयसम्म स्थानीय निर्वाचन नहुँदाको परिणाम जनताले धेरै दुःख पाएको उनी बताउँछन्। आफूसहित घरमा १८ जना मतदाता रहेको सुनाए।

निर्वाचन मिति घोषणाले एकातिर सर्वसाधारणलाई उत्साहित बनाएको छ भने अर्कोतिर उम्मेदवारमा पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ताले पनि सताएको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई चुनाव जिताउने उनीहरुको आयोजना छ। ‘म धेरै निर्वाचनमा सहभागी हुन पाएँ तर जुनसुकै निर्वाचनमा पनि भोट पाएर जितिसकेपछि उम्मेदवारले चटक्कै बिर्सिए,’ नेपालगन्ज–५ का ७५ वर्षीय सदिक हल्वाईले भने, ‘अबको स्थानीय निर्वाचनमा यस्तो नहोस्।’

मुस्लिम समुदायको बाहुल्य रहेको नेपालगन्जमा बिस्तारै चुनावी चहलपहल बढ्न थालेको छ। चोक तथा गल्लीमा स्थानीय तहको चुनावी चर्चा हुन थालेको छ। हरेक चुनावमा यहाँका मुस्लिम समुदायको मतलाई राजनीतिक दलले महŒवका साथ हेर्ने गरेका छन््। राज्य पुनःसंरचना आयोगसमक्ष बुझाइएको प्रतिवेदनअनुसार बाँकेमा दुई नगरपालिका र ६ गाउँपालिका हुनेछन्।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेपछि बाँकेमा निर्वाचन व्यवस्थापनको काम पनि सँगसँगै अगाडि बढेको छ। क्षेत्रीय जिल्ला निर्वाचन कार्यालयका प्रमुख वसन्त अधिकारीले निर्वाचन आयोगको निर्देशनअनुसार सरकारी कर्मचारीको विवरण संकलन गरेर पठाइएको छ। साथै चरणबद्ध रुपले निर्वाचन व्यवस्थापन काम अगाडि बढाएको उनले बताए। ‘निर्वाचन व्यवस्थापनको काम धमाधम भइरहेको छ,’ अधिकारीले भने, ‘केन्द्रीय स्तरबाट नीतिगत कुरामात्र मिल्नुपर्‍यो।’

कार्यालयका अनुसार बाँकेमा २ लाख ४० हजार मतदाता छन्। मतदाता नामवलीमा रहेका त्रुटि सच्याउने काम भइरहेको अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यालयमा २६ राजनीतिक दल दर्ता छन्।

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App