coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी गोलीले तीनको मृत्यु

राजविराज- प्रमुख विपक्षी नेकपा एमालेको शनिबारबाट जारी मेची–महाकाली अभियान क्रममा मंगलबार सप्तरीको मलेठ गाविसमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरी गोलीले अन्य दर्जनभन्दा बढी घाइते छन्।

मृत्यु हुनेमा सप्तरी, मलेठ–२ का सञ्जन मेहता, मलेठ–३ का पीताम्बर मण्डल र परसबन्नीका आनन्द साह छन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले प्रहरीले चलाएको गोली टाउकोमा लागेका सञ्जनको घटनास्थलमै, पेटमा गोली लागेका पीताम्बरको उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै र आनन्दको उपचार क्रममा धरानस्थित बिपी अस्पतालमा मृत्यु भएको हो।

एमालेले आयोजना गरेको सभा बिथोल्न आएका मोर्चाका कार्यकर्ताले पेट्रोल बमसहित घरेलु हतियार र ढुंगामुढा प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाएको प्रहरी दाबी छ।

प्रहरीको गोली लागेर दर्जनभन्दा बढी मोर्चा कार्यकर्ता घाइते भएको मधेसी मोर्चा सप्तरी संयोजक दिनेशकुमार यादवले जानकारी दिए। उनका अनुसार थप २५ नेता–कार्यकर्ता प्रहरीको लाठी चार्जबाट घाइते छन्। प्रदर्शनकारीको ढुंगामुढाबाट आधा दर्जन प्रहरीसमेत घाइते छन्।

सगरमाथा अञ्चल अस्पतालले गोली लागेका १४ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जानकारी दियो।

घटनापछि सदरमुकाम राजविराज तनाबग्रस्त छ। सम्भावित दुर्घटना मध्यनजर गर्दै स्थानीय प्रशासनले नगर क्षेत्र  र आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। मेची–महाकाली अभियानअन्तर्गत एमालेका नेता मलेठ–३ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र मञ्च बनाएर कार्यक्रम गरिरहँदा प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप भएको हो।

एमाले नेता औद्योगिक क्षेत्र पुगिसकेको र कार्यक्रम जारी राखेको जानकारी पाएलगत्तै मलेठका स्थानीय तथा वरपरका जमुनीमधेपुरा, छपकी, राजविराजसहित जिल्लाका अन्य स्थानबाट समेत ठूलो संख्यामा मोर्चाका नेता–कार्यकर्ता तथा सर्वसाधारण प्रदर्शनमा ओइरिएका थिए। ढुंगामुढा, बाँस, रुखका हाँगा, टाट र टायर बोकेर आएका प्रदर्शनकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गर्दै कार्यक्रमस्थलमा आगजनी सुरु गरेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोज्दा दुवैतिरबाट ढुंगा हानाहान सुरु भएको थियो। सुरुमा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास तथा हवाइ फायर गरेको थियो।

स्थिति भयावह बन्दै गएपछि प्रहरीले गोली चलाएको थियो। घटनापछि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाको मोबाइल स्विच अफ छ भने सप्तरीका प्रहरी प्रमुख एसपी देवेश लोहनीले पनि फोन उठाएका छैनन्।

मोर्चाको कडा चेतावनी

संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले दमनको बदला लिने चेतावनी दिएको छ। सप्तरी संयोजक यादवले घटनाको विरोधमा मंगलबारदेखि अनिश्चितकालीन सप्तरी बन्द घोषणा गरेका छन्। 'एमाले र ओली पहिले पनि मधेसमा नरसंहारकै लागि चिनिएका हुन्, आज पनि त्यही गर्न उनी आएका थिए', यादवले भने, 'नरसंहारविरुद्ध मोर्चा चुप लाग्नेछैन, यसको गम्भीर मोल एमालेले चुकाउनुपर्छ।'

मंगलबारको घटनामा स्थानीय प्रशासन र एमाले मात्र नभई गृहमन्त्री विमलेन्द्र निधिलाई आफूहरुले मुख्य दोषी ठानेको उनको भनाइ छ। 'निधि मधेसीमूलका हुन् र आज उनकै कार्यकालमा यस्तो क्रूर घटना भएको छ', यादवले भने, 'यसको जवाफ निधिले नदिइहुँदैन।'

'एमाले मधेसविरोधी होइन'

यता, मेची–महाकाली अभियानलाई सम्बोधन गर्दै एमाले नेताले आफ्नो पार्टी मधेसविरोधी नरहेको दाबी गरेका छन्।

मधेसमा एमालेविरुद्ध भ्रामक प्रचार भइरहेको जनाउँदै वरिष्ठ नेता माधव नेपालले सभामा भने, 'एमाले मधेसविरोधी हो भन्ने प्रमाण दिनुस्, नत्र भ्रामक प्रचार नगरिदिनुस्।'

मधेसीलाई बाहिरी भन्नेहरुले कहिल्यै मुलुकको हित नचाहेको भन्दै नेता नेपालले भने, 'मधेसीहरु बाहिरी होइनन्, उनीहरु मुलुकका सच्चा सपुत हुन्, भूमिपुत्र हुन्, देशको रक्षाका लागि मरिमेट्ने राष्ट्रभक्त हुन्।' मैथिलीमा भाषण थालेका नेता नेपालले भाषणको प्रारम्भमै तिलाठीको चर्चा गर्दै तिलाठीले समग्र नेपालीका लागि राष्ट्रियताको सन्देश प्रवाह गरेको टिप्पणी गरेका थिए।

 एमाले अध्यक्ष केपी शर्मा ओलीले कालोझन्डा देखाएर एमाले नतर्सने बताए। 'हामी कालो झन्डा देखेर तर्सिने पार्टी होइनौं', उनले भने, 'एमाले पाहुना होइन, रैथाने पार्टी हो, कालो झन्डा देखाउँदैमा तर्सिंदैन।'

उनले 'हामीलाई किन कालोझन्डा देखाएको' भन्ने प्रश्न गर्दै थपे, 'एमाले सरकारले मधेसका लागि गरेको काम देखेर तर्सिएर हो कि?' लोकतान्त्रिक परिपाटीबाट एमालेको सामना गर्न अन्य दललाई आग्रह गर्दै ओलीले लोकतन्त्रमा निषेधको राजनीति उपयुक्त नहुने तर्क गरे।

 एमालेको नेतृत्वमा रहेको सरकारले तराईका २० हजार गरिबलाई आवास बनाएर बाँड्ने, तराईमधेस सिँचाइ कार्यक्रम, आधुनिक कृषि प्रणाली, छ लेनको राजमार्ग र विद्युतिय रेललगायत योजना ल्याएको बताउँदै ओलीले तराईको विकास नभई मुलुकको विकास सम्भव नरहेको टिप्पणी गरे।

प्रायःजसो दौरा, सुरुवाल र ढाका टोपीमा देखिने ओली सप्तरी पुग्दा कुर्ता, पाइजामा र बन्डीमा देखिएका थिए। उनको काँधमा गम्छासमेत थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सभामा एमाले नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल, लालबाबु पण्डित, योगेश भट्टराई, गोकर्ण विष्टलगायत थिए। एमालेका शीर्ष नेता मञ्चमा पुग्दा सबैका का“धमा मधेसको परम्परागत पहिचान झल्किने गम्छा देखिन्थ्यो।

प्रकाशित: २४ फाल्गुन २०७३ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App