७ वैशाख २०८१ शुक्रबार
समाज

बन्दले जनजीवन ठप्प

पूर्वेली ब्युरो

विराटनगर-  सप्तरी घटनाको विरोधमा बुधबार दोस्रो दिन पनि मध्यपूर्वी तराई–मधेसका जिल्लाको जनजीवन ठप्प  भयो। मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्ला दुई दिनदेखि ठप्प छन्। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

 सप्तरी घटनापछि संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तराई–मधेस बन्दले विराटनगरको जनजीवन प्रभावित बनेको छ। यातायात, विद्यालय, कलकारखाना, व्यापार व्यवसाय  बुधबार पनि ठप्प भए।

बन्दक्रममा मोरङमा कुनै अप्रिय घटना नभए पनि बुधबार भने केही सिटी सफारीमा तोडफोड र आगजनी भएको छ। सिटी सफारी समेत सञ्चालन गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले एउटामा आगजनी गरे भने एउटा तोडफोड गरे। मोर्चाले भने शान्तिपूर्ण आन्दोलन भएकाले तोडफोड र आगजनी गर्ने कुनै नीति नभएको जनाएको छ। 

मोर्चाको शान्तिपूर्ण बन्द कार्यक्रममा घुसपैठ गरी सिटी सफारी जलाउने र तोडफोड गर्ने काम भएको संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले बताए। मोरङ प्रहरीले भने बन्द शान्तिपूर्ण भएको दाबी गरेको छ।

राजमार्ग ठप्प

 इटहरी– दुई दिनअघि सप्तरीमा भएको घटनाको विरोधमा मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण दोस्रो दिन बुधबार पनि सुनसरीका विभिन्न राजमार्गमा सवारी साधन ठप्प भए।

 बन्दले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवादेखि कोसी ब्यारेजसम्म सवारी साधन बिहानैदेखि चलेनन्। यस्तै, इटहरीदेखि इनरुवा सडक खण्डमा पनि फाटफुट म्याजिक र टेम्पो मात्र सञ्चालन भए। सुनसरीकै दुहबीमा मोर्चाका कार्यकर्ताले अबरोध गरेपछि इटहरी–विराटनगर खण्डमा पनि सवारी साधन चलेनन्।  मोर्चाका कार्यकर्ताले इनरुवामा दिउँसो जुलुस प्रदर्शन गरे।

बन्द अनुगमन गर्दै मोर्चा

 जनकपुर– जनकपुरमा मोर्चाले आधा दर्जन टोली बनाएर बन्दको अनुगमन गरिरहेको छ। सद्भावना पार्टी धनुषा अध्यक्ष सञ्जय सिंहले विभिन्न टोली बनाएर बन्दको अनुगमन गरिएको जनाए। ‘बुधबार दिनभर बन्दको प्रभाव नघटोस् भनेर विभिन्न टोली बनाएर नगरमा परिचालन गरेका छौं,’ सिंहले भने।

 बन्दले जनकपुरलगायत जिल्लाका ग्रामीण भेगमा  बजार, शिक्षण संस्था, व्यापारिक प्रतिष्ठान र यातायात ठप्प भयो।

मंगलबारसम्म बन्दको समान्य प्रभाव नपरेको महोत्तरीको बर्दिवास बजार पनि बुधबार बन्द भयो। शरतसिंह भण्डारी नेतृत्वको रामसपा कार्यकर्ताले जुलुस निकाले बर्दिवास बजार बन्द गराएका हुन्।

जनजीवन कष्टकर

 महोत्तरी– सप्तरी घटनाको विरोधमा मोर्चाले आह्वान गरेको बन्दका कारण बुधबार पनि महोत्तरीको जनजीवन कष्टकर बन्यो। बन्दका कारण प्रमुख व्यापारिक केन्द्र, शैक्षिक तथा वित्तीय संस्था, कलकारखाना तथा  लामो र छोटो दुरीका यातायात साधन ठप्प भए।

 यातायातका साधन नचल्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन्। बुधबार बिहानैदेखि जलेश्वरमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरे।

 बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षा गस्ती बढाइएको महोत्तरीका डिएसपी दीपक पोखरेलले बताए ।

उदयपुरमा चक्काजाम

 उदयपुर– मोर्चाले गाईघाटमा पनि बुधबार २ घन्टा सडक जाम गर्‍यो। संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भाना पार्टी गजेन्द्रवादीका कार्यकर्ताले बिहान १० देखि १२ बजेसम्म चक्का जाम गरेका हुन्।

बन्दकर्ता–व्यवसायी झडप

वीरगन्ज–  तराई–मधेस बन्दको दोस्रो दिन बुधबार बन्द आह्वानकर्ता मोर्चाका कार्यकर्ता र तरकारी ब्यवसायीबीच वीरगन्जको मिनाबजारमा झडप भएको छ। बिहानैदेखि घन्टाघरचोकमा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ता करिब ११ बजे मिनाबजार क्षेत्रमा पसल बन्द गराउन  पसेपछि तरकारी व्यवसायीले प्र्रतिवाद गर्दा झडप भएको हो। 

'तरकारी बजारमा एकछिन तनाव भयो, केहीबेरपछि अवस्था समान्य बन्यो,' पर्सा प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, 'कसैलाई चोट पटक लागेको वा कुटपिटको कुनै सूचना हामीकहाँ छैन।' मोर्चाका स्थानीय नेताले यसलाई 'समान्य घट्ना' भनेका छन्। 'केहीबेर तनाव भएको चाहिँ हो, पछि हामीले तरकारी बजारमा हस्तक्षेप नगर्न  कार्यकर्तालाई निर्देश दिएपछि अवस्था सामान्य बनेको छ,' संघीय समाजवादी फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादवले भने, 'आन्दोलन शान्तिपूर्ण छ, भीडभाडमा कहिलेकाहीं सानोतिनो घट्ना हुनु समान्य हो।' यसै क्रममा राष्ट्रिय मधेस समाजवादी पार्टी पर्सा अध्यक्ष प्रेमबाबबु पटेलमाथि हातपात भएको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App