७ वैशाख २०८१ शुक्रबार
राजनीति

गगनलाई ‘रोक्ने’ तयारी

सात महिनाअघि मन्त्रीको पदभार ग्रहण गर्दै गगन थापा। फाइल तस्विरः केशव थोकर

काठमाडौं— विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचैमा टुंगिने खतरा बढेको छ। 

फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो।
मन्त्री थापाले नीतिगतसँगै स्वास्थ्य सेवाको वृहत सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् । थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लोपटक मात्रै करिव डेढ अर्वभन्दा बढीको स्रोत थप गरिदिएका छन्।

दीर्घकालीन सुधारका लागि सेवा विस्तारसँगै स्वास्थ्य बिमा ऐन, जनस्वास्थ्य ऐन, आयुर्वेद नीति, प्रजनन स्वास्थ्य ऐन, मेडिकल काउन्सिल ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चित गर्ने ऐन, इथिकल बोड गठन, मानसिक  र आर्युवेद स्वास्थ्य नीति प्रक्रियामा छन्। 

थापाले अब्बल स्तरको स्वास्थ्य सेवा घरदैलोमा पुग्ने गरी भन्दै प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय तहका अस्पतालसम्मको पूर्वाधार, जनशक्ति र उपलब्ध हुने सेवासम्बन्धी बृहत योजनै बनाएर काम थालेका छन्।

गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेको सार्वजनिक भएको छ। गच्छदारले पार्टीभित्रको आन्तरिक राजनीति मिलाउन चौधरीलाई रोजेको मन्त्रालय दिनुपर्ने र चौधरीले स्वास्थ्य रोजेको जानकारी प्रधामन्त्रीलाई गराइसकेका छन्। 

प्रधानमन्त्री दाहालले गच्छदारलाई थापालाई स्वास्थ्यबाट हटाउनेबारे वचन भने दिइनसकेको फोरम लोकतान्त्रिकका एक नेताले बताए । चौधरीले भने आफू पुनः स्वास्थ्यमा आउने संकेत स्वास्थ्यका कतिपय निर्देशकलाई फोनबाटै गराइसकेका छन्।

गगनलाई मन्त्रीबाट फिर्ता बोलाउने विषय बाहिर आएपछि कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले पार्टी सभापति शेरबहादुर देउवासमक्ष यसबारे जानकारी मागेका छन् । सिटौलाले नागरिकसँग पनि गगनलाई फिर्ता बोलाइँदैछ भन्ने ‘हल्लाका पछाडि नलाग्न’ भनेका थिए। ‘यस्तो कुराको पछाडि नलागौं, व्यक्तिले रोज्दै जाने, कोकोलाई खानेपिने मन्त्रालय चाहिन्छ, दिँदै जाने भन्ने हुन्छ ?’ 

मन्त्री थापाले आफूले गरेको सोचअनुसार नतिजाको सुरुआत देखिन केही महिना लाग्ने बताउँदै आएका छन्। पछिल्लोपटक दीर्घकालीन सुधारका लागि सेवा विस्तारसँगै स्वास्थ्य बिमा ऐन, जनस्वास्थ्य ऐन, आयुर्वेद नीति, प्रजनन स्वास्थ्य ऐन, मेडिकल काउन्सिल ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चित गर्ने ऐन, इथिकल बोड गठन, मानसिक  र आर्युवेद स्वास्थ्य नीति प्रक्रियामा छन्। 

कांग्रेसका तर्फबाट सरकारमा गएर काम गर्ने प्रभावकारी मन्त्रीमध्ये एक थापालाई पनि हटाइँदा पार्टीलाई पर्न सक्ने नकारात्मक प्रभावबारे सोच्नसमेत पार्टी सभापति देउवालाई समेत दबाब पर्न थालेको छ। सिटौलाले स्वास्थ्यमन्त्री थापाले सुधारसँगै ‘क्लिन इमेज’ पनि दिएको सबैलाई थाहा भएको बताए। 

‘स्वास्थ्य क्षेत्रमा विपन्न वर्गका मान्छेलाई क्यान्सर, लिभर, मुटु किड्नीजस्ता गम्भीर रोगमा नयाँ कदम सार्न भएको छ’, सिटौलाले भने  सिटौलाले मन्त्री थापाले सरकारी अस्पतालमा सुधार ल्याउन थुपै्र मेहनत गरिरहेको भन्दै केही समय काम गर्न पाउँदा स्वास्थ्य सेवामा सुधार आउँछ भन्ने आम जतनामा विश्वास जागेको बताए। 

‘यस्तो अवस्थामा गगन थापालाई नै फिर्ता बोलाइँदैछ भन्ने हल्ला चलाइएको छ, यो षड्यन्त्र हो,’ उनले भने, ‘हल्ला चलेपछि सभापतिलाई फोन गरेर पनि सोधेँ, उहाँले पनि यो हल्ला हो भनिसक्नुभएको छ।’

पछिल्लो समयमा थापा आएसँगै ठूला अस्पतालमा उपकरण खरिदसँगै सुधारका लागि खर्च हुन नसकेको बजेट रकमान्तरसहित डेढ अर्बभन्दा बढी बजेट आएकाले पनि यसमा मन्त्री बन्न चाहनेका लागि स्वास्थ्य आकर्षक मन्त्रालय बनेको अधिकारी बताउँछन्।  

पछिल्लोपटक थप बजेट र रकमान्तर भएको बजेट गरी करोडौंको खरिद हुँदैछ। मन्त्रालयका अनुसार अर्थले अञ्चल अस्पतालमा आइसियु विस्तार सिटी इक्यान खरिदका लागि ३५ करोड, मिर्गौला उपचारमा प्रयोग हुने फ्याब्रोइक्यान मेसिन किन्न २० करोड, ६ नम्बर प्रदेशमा प्रयोगशाला खोल्न ५ करोड, भिआए र ब्रेस्ट क्यान्सर उपचारका लागि १२ करोड, प्रसूति गृहको उपकरण खरिद गर्न ३ करोड, गंगालालको सेवा नेपालगन्ज र जनकपुरमा विस्तारका लागि १३ करोड, कान्ति अस्पताल सुदृढीकरण गर्न १० करोड, जिल्ला अस्पताल स्तारोन्नति गर्न १३ करोडसमेत दिएको छ। त्यसबाहेक करोडौं रुपैयाँ कर कोषबाट र स्वास्थ्य बजेटकै रकमान्तर भएको छ । स्वास्थ्यमा हुने बजेटको अधिकांश हिस्सा वस्तु वा सेवा खरिदमा जाने भएकाले त्यसबाट आउने कमिसन प्रलोभनमा सुधारका थुप्रै कार्यक्रम अवरोध हुने भएको स्वास्थ्य बद्नाम मन्त्रालयमा गनिने गरेको छ।

मन्त्रालयबाट हुने खरिदबिक्रीमा समेत मन्त्रीहरुकै चलखेल हुने गर्छ । मन्त्रालयको नेतृत्व सम्हालेसँगै मन्त्री थापाले अनियमितता पनि नगर्ने र हुन पनि नदिने प्रतिबद्धता दोहोर्‍याउँ आएका छन्। ‘अहिले मन्त्रीको ध्यान अनुचित लाभमा गएको छैन’, स्वास्थ्यका एक उच्च अधिकारीले भने, ‘यो बेला मन्त्री परिवर्तन हुँदा स्वास्थ्य क्षेत्रको सुधारका लागि साढे ६ महिनामा भएका पहललाई शून्यमा झार्छ ।’ 

यस अवधिमा मन्त्रालयले थुप्रै सेवा सेवा निःशुल्क घोषणासँगै र स्वास्थ्यमा हुने नियुक्तिसम्बन्धी मापदण्ड निर्धारण, भिआइपी उपचारसम्बन्धी मापदण्डसँगै निजी अस्पताल नियमन, एम्बुलेन्स, प्रयोगशाला, खोप नियमावली र चिकित्सक सेवा व्यवस्थित गर्नेजस्ता दर्जनौं नियम र निर्देशिका पास गराइसकेका छन्। पछिल्लो समयमा दीर्घकालीन रुपमा स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चित गर्ने र स्वास्थ्य सेवाको गुणस्तर बढाउन काम जारी राखेका छन् ।

 

प्रकाशित: १ चैत्र २०७३ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App