४ वैशाख २०८१ मंगलबार
कला

जेठमा देखिनेछ ‘हिटलर’

काठमाडौं– दोस्रो विश्वयुद्धको खलनायकका रुपमा परिचित जर्मनी तानाशाह हिटलरको नाम सापटी लिँदै तयार भएको नेपाली फिल्म ‘हिटलर’ कोे पोस्टर सार्वजनिक भएको छ । बालाजुको अष्टनारायण हलले निर्माण गरेको फिल्मले सोमबार औपचारिक कार्यक्रम गर्दै पोस्टर सार्वजनिक गरेको हो । सोही अवसरमा फिल्मको प्रदर्शन मिति पनि घोषणा गरियो । फिल्म जेठको १२ गते लाग्नेछ । 

फिल्ममा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङलगायतका कलाकारको अभिनय छ । सामियाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । फिल्मभित्र सामिया राणा खानदानकी छोरी रहेको कार्यक्रममा जानकारी गराइयो । 

फिल्ममा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको द्वन्द्व, अरुणराज पौडेलको छायांकन, कृष्ण के अछामीको कोरियोग्राफी रहेको छ । फिल्मको छायांकन मुगु र काठमाडौंमा गरिएको हो ।  

कार्यक्रममा निर्देशक सौरभ ढकालले फिल्म प्रेम र कमेडीको मिश्रण रहेको बताए । ‘प्रेम भइसकेपछि आउने विभिन्न समस्या फिल्ममा देखाइएको छ । दर्शकले, नाम र कथावस्तुको मेल पक्कै पनि फिल्ममा पाउनुहुनेछ’, ढकालले भने ।

यस्तै, अभिनेता सोहित मानन्धरले फिल्ममा आफू फरक भूमिकामा देखिएको बताए । नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन् । उनले भनिन्, ‘यो चलचित्रमा म राणा खानदानकी छोरीको भूमिकामा छु । फिल्मको अफर धेरै आएपनि कथावस्तु मन परेपछि बल्ल यो

फिल्ममा काम गरेकी हुँ ।’ फिल्ममा अभिनेता सोहित मानन्धर नेवार युवाको भूमिकामा देखिनेछन् । 

प्रकाशित: १ चैत्र २०७३ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App