६ वैशाख २०८१ बिहीबार
कला

भोलिदेखि मानवअधिकार फिल्म मेला

काठमाडौं– बिहीबारदेखि राजधानीमा मानवअधिकार फिल्म मेला लाग्ने भएको छ । मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त जानकारी गराएको हो ।

‘मेरो पनि अधिकार छ’  भन्ने मूल नारासहित हुन लागेको मेलामा मानव अधिकारको विषयसँग नजिक रहेका फिल्महरुको प्रदर्शन हुनेछन् । आयोजकका अनुसार ३८ देशका फिल्महरु पर्यटन बोर्डमा बिहीबारदेखि चार दिनसम्म देखाइनेछन् ।  

देवकी विष्टले निर्देशन गरेको ‘देउकी’को प्रदर्शनसँगै सुरु हुनेछ । फिल्ममा नेपालको पश्चिम र सूदुरपश्चिमाञ्चल क्षेत्रमा परम्परागतरुपमा धर्म र परम्पराका नाममा युवतीलाई मन्दिरमा चढाउने (देवीका नाममा छोडिदिने) परम्परागतको चित्रण गरिएको छ । 

महोत्सवमा विश्वभरिका विभिन्न देशबाट आएका फिल्मको प्रदर्शनसँगै ‘मानवअधिकार र नेपाली चलचित्र’ र ‘नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण’ शीर्षकका दुई विषयमा छलफल पनि आयोजना गरिने आयोजकले जानकारी गराए । यसका साथै एक दिन भारतीय फिल्मका निर्देशक गिरिस कासरावल्लीले मास्टर क्लास पनि लिनेछन् । 

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली फिल्मका चर्चित निर्देशक तुलसी घिमिरे, भारतीय निर्देशक कासरावल्ली र बंगलादेशका फिल्म समीक्षक अमेद मुज्ताब जामल र डच फिल्म निर्माता क्लेमेन्टाइन इड्रिभनले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । 

महोत्सवको समापनमा निर्णायकहरुले छनोट गरेका चार वटा फिल्मलाई ‘राइनो अवार्ड’ प्रदान गरिनेछ । छनोटमा परेका उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म र वृत्तचित्रका साथै उत्कृष्ट नेपाली फिल्म र वृत्तचित्रका साथै एउटा जुरी अवार्ड प्रदान गरिनेछ । जुरी अवार्डबाहेक फिल्मले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । जुरी अवार्डमा भने रकम नराखिएको फेस्टिभल निर्देशक अरुणदेओ जोशीले बताए ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको यो पाँचौ संस्करण हो । महोत्सव अवधिभर ९० भन्दा ज्यादा फिल्म प्रदर्शन हुनेछन् भने सहभागीले यसका लागि कुनै शुल्क तिर्नु पर्ने छैन । 

 

प्रकाशित: २ चैत्र २०७३ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App