७ वैशाख २०८१ शुक्रबार
प्रवास

आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्ने इच्छा

काठमाडौं- थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वेच्छिकरुपमा हस्तान्तरण गर्ने इच्छा देखाएका छन्।  

नेपालमा सीप हस्तान्तरणको आवश्यकता र संभावनाबारे पथुम्थानीस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा हालै आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा जनाएका हुन्।  

कार्यक्रममा बैंककस्थित संयुक्त राष्ट्र संघीय नियोगदेखि विभिन्न संस्थामा कार्यरत कर्मचारी, गैरआवासीय नेपाली संघ थाइल्याण्डका पदाधिकारी, अध्यापन क्षेत्रमा लागेका प्राध्यापक एवं कर्मचारीहरु, एआइटीका प्रतिनिधि सहभागी थिए।

कार्यक्रमको अध्यक्षता बेनीमाधव लेखकले गरेका थिए भने अनिलकुमार अनलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। लेखकले थाइल्याण्डमा बसोबास गर्दै आएका विज्ञ एवं व्यवसायीहरु मिलेर तत्काल नेपालमा केही गतिविधि गर्ने उपाय खोज्नुपर्ने कुरामा जोड दिएका थिए।

गत महिना (फेब्रुअरी १०मा) पनि एआइटीले एआइटी एल्मुनाई एशोसियशनसँग मिलेर काठमाडौंमा यसै विषयमा केन्द्रीत भएर गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीमा सरकारी अधिकारीदेखि दाता, निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए।

अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालको संभावना र समस्या समाधानका बारेमा आआफ्नो धारणा राखेका थिए।

मुख्य गरेर चार विषयहरु विप्रेषणको सही व्यवस्थापन, नवीकरणीय उर्जाको विकास, मूल्यमा आधारित कृषि तथा जडिबुटी उद्योग र निर्माण क्षेत्रलाई प्राथमिकता दिइएको यस अन्तरक्रियामा सहभागी विज्ञ एवं व्यवसायीले मिलेर काम  गर्न सकिने क्षेत्रहरुको खोजी गरेका थिए।

त्यसका लागि नौ सदस्य कार्यसमिति समेत गठन गरिएको छ। समितिले सीप तथा ज्ञान हस्तान्तरण र आगामी कार्ययोजना निर्माणको काम गर्नेछ । स्कुल अफ इन्भाइरोमेन्ट, रिसोर्स एण्ड डेभलपमेन्ट (सेर्ड)का डिन राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमितिमा बैंककस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)मा काम गर्ने विश्वनाथ तिवारी, सिएच कार्चङ कम्पनीका बेनीमाधव लेखक, एआइटीका ज्ञानेन्द्र स्थापित, अनिलकुमार अनल, शोभाकर ढकाल, यनेस्केपका मदनबन्धु रेग्मी, किङ मोङकुट्स युनिभर्सिटी अफ टेक्नोलोजीका खगेन्द्र ढकाल, एनआएनए थाइल्याण्डका गाबो गुरुङ सदस्य छन्।

प्रकाशित: ४ चैत्र २०७३ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App