coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गतिमान गगन

काठमाडौं- पाँच बजिसकेको छ। सरकारी कार्यालयमा ताला लागिसक्यो। मन्त्रालयका कति कर्मचारी घर फर्किसके, कति फर्किने हतारोमा छन्। स्वास्थ्य मन्त्रालय पछिल्तिर सानो भवनको २१९ नम्बर कोठामा भने चहलपहल सुरु भएको छ। यो स्वास्थ्यमन्त्री गगनकुमार थापाका सल्लाहकार, स्वयंसेवक र सहयोगीको कक्ष हो, साँझ परेपछि मन्त्रीको मुकाम।

गगनको कार्यशैलीको प्रमुख हिस्सा हो, उनको टिम। मन्त्रालय आएपछि थपिएका विज्ञ ४० भन्दा कम उमेरका छन्। उनी जुन जिम्मेवारीमा पुगे पनि सघाउन 'कोर टिम' साथमा हुन्छ।

मन्त्रालयका महत्वपूर्ण पदाधिकारी एवं सचिवालयमा रहेर काम गरिरहेका करिब एक दर्जन सहयोगी हातहातमा फाइल (प्रगति, योजना, टिप्पणी) बोकेर बसिरहेका छन्। झन्डै साढे ६ महिनाअघि स्वास्थ्यमन्त्रीका रूपमा थापाले जिम्मेवारी सम्हालेपछि नै यो क्रम राति १०/११ बजेसम्म चलिरहेको छ। त्यहाँ दिनभरको कामको समीक्षा हुन्छ र अर्को दिनको योजना बन्छ। मिडियामा आएका र विभिन्न च्यानलबाट प्राप्त गुनासाको समीक्षा हुन्छ।

व्यापक सुधारको अपेक्षा गरिएको क्षेत्र हो, स्वास्थ्य। भदौ १२ गते पदबहाली गरेकै दिन राम्रो काम गरेर युवापुस्तामा विश्वास स्थापित गर्ने बताएका गगनकुमार थापाको कार्यशैली आममन्त्रीका भन्दा 'आक्रामक' र 'पृथक' पनि छ। निराश राजनीति र विरक्त लाग्दा नेताको भीडमा धेरै नेपालीले आशा राखेका थोरै नेतामध्येको एउटा नाम हो– गगन।

उनको काम गर्ने स्पिड र स्पिरिट हेर्दा लाग्छ, उनले बुझेका छन्– आम र परम्परागत शैलीमा काम गरेर मात्रै जनताको चाहना पूरा हुन सक्दैन। 'मेरा लागि समय एकदमै थोरै छ, गर्नुपर्ने काम धेरै,' बुधबार साँझ कामको भीडबाट एकै छिन समय निकालेर नागरिकसँग उनले भने, 'कम्तीमा १२, बढीमा १६ घन्टासम्म खटेको छु।'

बिहान ८ नबज्दै मन्त्रालय पुग्ने उनी दिनभर जहाँसुकै भए पनि साँझ मन्त्रालय पुगेकै हुन्छन्। अबेरसम्म जिल्लादेखि क्षेत्रसम्म भएका कार्यप्रगतिको जानकारी लिन्छन् र भिजन दिन्छन्। उनको टिम उनीभन्दा बढी खट्छ। मन्त्री भएको साढे ६ महिनाकै बीचमा मन्त्रालयमा प्रशस्तै सुधार गरेका छन्। मन्त्रीको जिम्मेवारीले लोकप्रियता बढेको छ। अखिर कसरी यो सम्भव भयो त?

गगनको कार्यशैली बु‰न उनका सल्लाहकारदेखि सहयोगीसम्म र आफन्तदेखि साथीसम्म पुग्नु जरुरी थियो। उनको सफलताको सूत्र हो– संकल्प र दृष्टिकोण।

जुनसुकै काम वा योजना कसरी सफल बनाउने? उनी प्रस्ट्याउँछन्, 'पहिलो कमिटमेन्ट, दोस्रो ओपनमाइन्डेड र तेस्रो टिम। मसँग यी तीन कुरा छन् र भन्न सक्छु म– श्रम मन्त्रालयमै गएको भए पनि यसरी नै काम गर्थें। प्रभावकारी नतिजा दिन पनि सक्थेँ होला।'

स्वास्थ्य क्षेत्रका विकृति हटाउन तथा आमजनतालाई सुविधा दिन अहोरात्र खटिरहँदा उनले यही मर्म आत्मसात गर्दै अगाडि बढेका छन्। भनाइ नै छ– कुनै कुराको 'कमिटमेन्ट' हुनु आधा काम फत्ते हुनु हो। गगनले सुरुमै कमिटमेन्ट गरे– आइसीयुमा रहेको स्वास्थ्य क्षेत्रलाई नयाँ जीवन दिन्छु, युवाको भरोसा मर्न दिन्नँ, अनियमिततामा सरिक हुन्न र त्यसो हुन पनि दिन्नँ।

'मैले सुरुमै स्वास्थ्य सुधारका लागि तीन कमिटमेन्ट गरेँ,' उनी भन्छन्, 'संविधानको भावनाअनुसार स्वास्थ्य क्षेत्र अघि बढाउने ऐन, नीति र नियममा सुधार तथा आधारभूत रुपमा गुणस्तरीय सेवाको सुनिश्चिता।' मन्त्री हुने जिम्मेवारी आउँदा उनी स्वास्थ्यबारे धेरै जानकार थिएनन्। 'डा. गोविन्द केसीको अनशनसँग नजिक भएकाले मैले मुलुकको स्वास्थ्यसेवाबारे केही बुझेँ,' उनी भन्छन्, 'त्यो पनि मेडिकल शिक्षाको पर्स्पेक्टिभबाट।'

मन्त्री हुनुअघि उनी स्वास्थ्य मन्त्रालयमा भनसुनको विषय लिएर पुगेका थिए, अर्जुननरसिंह केसी स्वास्थ्यमन्त्री हुँदा। केसी अहिले त उनका ससुरा हुन्। गगनका हजुरबुवा सौभाग्यजंग कार्की र मन्त्री केसी साथी थिए। सौभाग्यजंग नाति गगनलाई एमबीबीएस पढाउन चाहन्थे। छात्रवृत्तिका लागि आग्रह गर्न उनी गगनलाई लिएर स्वास्थ्य मन्त्रालय पुगेका थिए। गगनलाई भने एमबीबीएस पढ्न मन थिएन, उनी त्रिचन्द्रमा भर्ना भइसकेका थिए।

त्यसपछि आफै मन्त्री भएर गगन स्वास्थ्य मन्त्रालय पुगे, मन्त्री भएर पहिलो दिन मन्त्रालय छिर्दा उनलाई पुरानो दिनको सम्झना भयो, अनि कमिटमेन्ट गरे– स्वास्थ्य क्षेत्र सुधारेरै छोड्छु। सेवाग्राही र कार्यकर्ताका गुनासा हुन् वा विज्ञ, शुभेच्छुकका सुझाव, गगन घन्टौँ सुन्न सक्छन्। जुनसुकै वर्ग, क्षेत्र र राजनीतिक आस्थाको मान्छेले दिएका सुझाव राम्रो लाग्नासाथ टिप्छन् र लागु गर्न कम्मर कसिहाल्छन्।

'औषधिको मूल्य कसरी घटाउन सकिन्छ भन्नेबारे ४० वटाभन्दा बढी साना–ठूला बैठक गरिसकेँ,' उनी भन्छन्, 'मेरो सुन्ने शक्तिमा ठट्टा गर्दै घरबाट निस्किने बेला श्रीमती भन्ने गर्छिन्– कुन बुद्धिमान भेट्ने होला आज!'

मन्त्रीले जहाँ गए पनि अरुको सुन्ने र लागेको आधारमा निर्देशन दिएर हिँड्ने भन्ने परम्परागत तरिका उनको छैन। 'म कुनै मिटिङ डाक्नुअघि त्यो विषयसँग सम्बन्धित व्यक्तिसँग भेटघाट गर्छु, तयारी गर्छु,' उनी भन्छन्, 'सूचना र जानकारी पाएपछि मलाई निष्कर्षमा पुग्न सहज हुन्छ।'

सशक्त टिम

गगनको कार्यशैलीको प्रमुख हिस्सा हो, उनको टिम। मन्त्रालय आएपछि थपिएका विज्ञ ४० भन्दा कम उमेरका छन्। उनी जुन जिम्मेवारीमा पुगे पनि सघाउन 'कोर टिम' साथमा हुन्छ। 'संसद् समितिमा रहँदा पनि यसरी नै काम हुन्थ्यो, तर त्यो काम बाहिर देखिने हुँदैनथ्यो,' गगन भन्छन्, 'धेरैले भन्थे, तपाईं कार्यकारी निर्णय गर्ने ठाउँमा पुगेर यस्तो काम गर्न पाए पो हुन्थ्यो, अहिले त्यस्तै भएको छ।'

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन उनका सल्लाहकारदेखि सचिवालयमा रहेका एक दर्जनभन्दा बढी सहयोगी तथा ठूलो संख्यामा अवैतनिक स्वयंसेवक छन्। सल्लाहकार र सचिवालयले मन्त्रालयसम्बद्ध निकायका कार्यप्रगतिबारे मन्त्रीलाई दैनिक जानकारी गराउँछ। त्यस्तै, मन्त्रीलाई कुनै निर्णय गर्न र कार्यक्रम बनाउन आवश्यक अनुसन्धान र तयारीमा सघाउँछ।

'मैले सोचेको कुरा उनीहरूलाई सुनाउँछु, उनीहरू तथ्य र आइडिया दिन्छन्। भाषण, निर्णय, मन्तव्य उनीहरूकै सहयोगमा बन्छ,' उनी भन्छन्, 'टिमका साथीहरूले विभिन्न काम इन्डिभिज्युअल रूपमा गर्छन्, मैले ती कामलाई जोड्नेमात्रै हो।'

त्यो टिमले उनलाई दैनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल र इमेलमा आएका गुनासादेखि कर्मचारीका कार्यशैलीबारे पनि अपटेड गराउँछ। 'दिनभर त औपचारिक र अनौपचारिक भेटघाटमै समय बित्छ, त्यसको विकल्पमा रातिसम्म काम गर्छु,' गगन भन्छन्, 'मसँग कुनै पनि काम गर्न समय पर्खने सुविधा छैन।' नीति, कार्यक्रम, समय तालिका, गुनासा सुनुवाइ, भेटघाट मिलाउने जिम्मेवारी विभिन्न व्यक्तिलाई दिइएको छ।

मन्त्रीका सल्लाहकार प्रताप पौडेल भन्छन्, 'हामी तोकिएको समयभित्र नेपालको स्वास्थ्य सेवालाई कस्तो बनाउन के के गर्छौं भन्ने क्लिअर भइसकेको छ। सोही स्पि्रट र स्पिडलाई पछ्याउनु हाम्रो ध्येय हो।'

बाहिरबाट झट्ट हेर्दा मन्त्रीको जम्बो टोली सुविधाका लागि थुप्रिएको ठान्नेको कमी छैन। सरकारी सुविधा पाउने निजी र स्वकीय सचिवालयबाहेक सबै टिम स्वयंसेवकका रूपमा खटिएका छन्। 'अधिकांश साथीहरू टेम्पो चढेर आउँछन्, राति टेम्पो पाउँदैनन् र हिँड्दै फर्किन्छन्,' उनी भन्छन्। यसअघि मन्त्रीहरूले प्रमुख सल्लाहकारलाई दाता निकायबाट बु‰ने गरी रकम र सुविधा नदिएका होइनन्।

गगनका प्रमुख सल्लाहकार प्रताप पौडेलले भने कुनै सुविधा लिएका छैनन्। राजनीतिशास्त्र र कानुनका उत्कृष्ट विद्यार्थी पौडेल डेढ दशकदेखि गगनसँगै छन्। उनीसँगै थुप्रै पुस्तकको सहलेखन पनि गरेका छन्।

गगनलाई मन्त्रालय मात्रै होइन, बाहिरबाट समेत सघाउन आउँछन्। कार्यक्रम, बजेट र सुशासनबारे उनलाई सघाउन कृषि अर्थविज्ञ यादव पद्धयोति आफ्नो मन्त्रालयको काम सकेर आइपुग्छन्। पद्धयोति गत वर्षको उत्कृष्ट निजामती पुरस्कार प्राप्त हुन्।

जनस्वास्थ्य विज्ञ अमित अर्याल युनिसेफको कन्सल्टेन्सी छाडेर गगनको सहयोगमा जुटेका छन्। मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला शल्यक्रिया र ओपीडीबाट बचेको समय दिन्छन्। यो टिमले सेवाका आधारमा कस्ता अस्पताल हुनुपर्छ भन्ने अवधारणा बनाएको छ। स्वास्थ्यमन्त्रालयमा क्लिनिकल, जनस्वास्थ्य क्षेत्रका विज्ञ त हुने नै भए, उनको सल्लाहकार र स्वयंसेवक टिम भने यतिमै सीमित छैन। सल्लाहकार टिम पनि त्यत्तिकै मजबुत छ। ख्यातिप्राप्त चिकित्सक डा. भगवान कोइराला, डा. अर्जुन कार्कीदेखि अवकाशप्राप्त जनस्वास्थ्य विज्ञहरू डा. रीता थापा, डा. यशोवर्द्धन प्रधानसम्म उनका उच्चस्तरीय सल्लाहकार समितिका सदस्य हुन्। समिति अध्यक्षमा गगन छन्। जसमा डाक्टर मात्रै होइन, विभिन्न संघसंस्थाको नेतृत्व गरेका हेल्थ फाइनान्सिङका विज्ञसमेत छन्। यो समितिको नीति–निर्देशनमा उनी नयाँ नेपालको स्वास्थ्य संरचनाको खाका कोरेर जग बसाल्दैछन्।

मन्त्रालयबाट हुने काममा पार्टीका मान्छेका अपेक्षा सरुवा, नियुक्तिजस्ता कुरामा उनलाई डिल्ली सुवेदी, कृष्ण रिजालजस्ता युवाले सघाउँछन्। व्यवस्थापन पढेका अनिल अधिकारी, ४० नपुगेका दिनेश सुनार, शंकर थापादेखि इन्जिनियरहरू सुसन वैद्य, सुनील खड्का पनि उनको टिममा छन्। इन्जिनियर टिमले उनलाई पूर्वाधार विकासमा सघाइरहेको छ।

निजी सचिवालयका कर्मचारीसमेत त्यस्तै स्मार्ट छन्। अधिकांश कर्मचारी लोकसेवाकै परीक्षामा टप फाइभभित्र परेका छन्। त्यस्तै, निजामती सेवा उत्कृष्टमध्ये गनिएका तुलसी दाहाल, रामकृष्ण लामिछाने, सुरेश शर्माजस्ता अब्बल अधिकृतको पनि गगनले साथ पाएका छन्। काम गर्ने क्रममा कानुनी झमेला परिरहन्छ। त्यसमा पनि स्वयंसेवकका रुपमा अधिवक्ता राजु कटुवालले सघाइरहेका छन्।

गगन कामसँगै त्यसको डकुमेन्टेसन र डिसिमिनेसनमा पनि उत्तिकै ध्यान दिन्छन्। प्रत्येक सूचना र सेवालाई सेवाग्राहीमैत्री बनाउने नीतिअनुसार उनले 'स्मार्ट हेल्थ' कार्यक्रमका लागि आईटी र स्वास्थ्यविज्ञको छुट्टै टिम बनाएका छन्। सल्लाहकार र विज्ञको छनोटमा उनको चासो पार्टीको मान्छे हो/हैन भन्नेमा पटक्कै छैन। न उनी मन्त्री हुँ भन्दै पोर्टफोलियोको ख्याल गरेर खुम्चिन्छन्। 'मैले पोर्टफोलियो पनि हेरेको छैन, मलाई रिजल्ट दिनु छ,' उनी भन्छन्, 'औषधि शुल्क निर्धारणका लागि बुधबार मात्रै भन्सार र आन्तरिक राजस्वका महानिर्देशकलाई भेटेँ।'

सूचना नै शक्ति

अस्पतालसम्बन्धी योजना बनाउन विज्ञ र डाक्टरमा मात्रै निर्भर छैनन्। चिकित्सा विज्ञान पढेका विद्यार्थी र अन्य सरोकारवाला परिचय लुकाएर वा बदलेर अस्पतालमा बस्छन्। उनीहरूले अस्पतालमा डाक्टर भए/नभएको सूचना दिन्छन्, मन्त्रीले नियुक्त गरेको अध्यक्ष र निर्देशकको कार्यशैली हेर्छन् र मन्त्रीलाई सूचना दिन्छन्। सूचनादातामा उनले आफ्नो पार्टीका मात्रै होइन, अन्य पार्टीका र राजनीतिमा संलग्न नभएका युवालाई समेत खटाएका छन्।

जसले प्रसूति गृह, वीर, कान्तिलगायत अस्पताल गएर समस्या मात्रै हेर्दैनन्, गर्नुपर्ने सुधार लेखेरै दिन्छन्। 'सूचना सम्पत्ति हो,' गगन भन्छन्, 'म त्यही टिमको रिसर्चबाट अगाडि बढ्ने हो।'

सबै वर्ग र समुदायका मान्छेका चाहना र भावनासँग कदम मिलाएर हिँड्न सक्ने क्षमता गगनमा रहेको सल्लाहकार पद्धयोति बताउँछन्। सूचना लिन थापा मन्त्रालय संयन्त्रको मात्रै भर पर्दैनन्। सल्लाहकार पौडेल भन्छन्, 'मन्त्रालयको सिस्टमले ९ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै डाक्टर छैनन् भन्यो। हामीले खोजेर भन्यौँ– ६० वटामा डाक्टर छैनन्। फलानो डाक्टर कहाँ छन्, फलानो नर्स कति समयदेखि उपस्थित छैनन्, त्यो हामीले संकलन गरिसकेको थियौँ।'

सुरुमा गगनले अरुले जस्तै औपचारिकताबाटै काम थाले। स्वास्थ्यकै विभिन्न कार्यक्रम हुन्थे– क्षेत्रीय समीक्षा र विभिन्नखालका गोष्ठी। सरकारी अधिकारी औपचारिक उद्घाटनका लागि मन्त्री खोज्थे, गगनको ध्येय भने अर्कै हुन्थ्यो– विभाग र मन्त्रालयले दिएको सूचना जाँच्ने र फिल्ड तहको सूचना संकलन गर्ने। उनले जहिल्यै फिल्डमा काम गर्नेप्रति भरोसा गरे।

पोखरामा पोषण गोष्ठी थियो, त्यहीँ उनले ७५ जिल्लाका जनस्वास्थ्य प्रमुख, क्षेत्रीय निर्देशकलाई भेटे र देशव्यापी जनशक्तिको विवरण भराए। कर्णालीजस्ता दुर्गम जिल्लाका प्रमुखलाई छुट्टाछुट्टै भेटे र सूचना लिए। उनको यो शैलीले केही महिनामै फरक ढंगबाट सूचना आउन थाल्यो। गगन भन्छन्, 'सिस्टमले त सबै राम्रो भएको बताउने रहेछ।'

मन्त्री भएपछि गगनले परिवारलाई दिने समय निकाल्नै सकेनन्। मन्त्री हुनुअघि उनी सकेसम्म ८ बजेअगावै घर पुगिसक्थे। छोरीहरूलाई कथा सुनाउथे। मन्त्री भएपछि त्यो तालिका खलबलियो। एक दिन उनकी साढे पाँच वर्षीया छोरीले बुवा मन्त्री नभएको भए बरु हामीलाई कथा सुनाउनुहुन्थ्यो भन्दै सुतिछन्। 'यो कुराले मलाई निकै छोयो,' उनी भन्छन्।

मन्त्री भएपछि नै उनका दुई बहिनीको अमेरिकामा विवाह भयो। सबै परिवार उतै थिए, तर उनी जान पाएनन्। 'म जान पाइनँ, बहिनीहरु रिसाएर अझैसम्म राम्रोसँग बोल्दैनन्। यी घटनाले दुःख लागेको छ,' उनले भने। साताको एक दिन उनी जसरी पनि बिदामा बस्छन्। यसबीचमा पनि उनले नगरकोट, गोकर्ण, पोखराजस्ता ठाउँमा परिवारसहित बिताएका छन्।

कामले समय व्यवस्थापन गर्न नसक्दा पार्टी र निर्वाचन क्षेत्रका मान्छे धेरै रिसाएका छन्। 'मन्त्री भएपछि कम्तीमा २५ वटा विदेशका कार्यक्रमका निम्ता आए, म तीन वटामा मात्रै गएँ, त्यो पनि मन्त्री नगई नहुने कार्यक्रममा,' गगन भन्छन्। विदेशका गोष्ठीमा जाँदा केही जानकारी बढ्ने उनी बताउँछन्। चीन जाँदा सिकेको हेल्थ प्रमोसनको अवधारणाअनुसार सहरमा हेल्थ प्रमोसन सेन्टर खोल्ने उनको योजना छ। 'श्रीलंका जाँदा क्यान्सर, मुटु र मिर्गौला रोगका महँगा औषधि सस्तोमा झार्ने उपाय सिकेको छु,' उनी भन्छन्, 'त्यसमा काम गर्दैछु।'

मन्त्री भएपछि उनी हेलिकप्टर पनि चढे। 'समय अभावका कारण हेलिकप्टर पनि चढ्नुपर्छ,' उनी भन्छन्, 'कतिपय ठाउँमा जसरी पनि आइदिनुपर्‍यो भन्छन्। तीन घन्टा दिए पुग्छ, हेलिकप्टरमै लान्छु भन्छन्।'

प्रकाशित: ५ चैत्र २०७३ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App