६ वैशाख २०८१ बिहीबार
खेल

भलिबलमा अन्तर्राष्ट्रिय पदक लक्ष्य

काठमाडौं- कप्तान इम रानाले भलिबल खेल्न सुरु गरेको एक दशक भयो । इमले राष्ट्रिय टोली र नेपाल पुलिस क्लबजस्ता सफल टोलीको कप्तानको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। इमको कप्तानीमा पुलिसले घरेलु प्रतियोगितामा सफल टोलीको छविलाई निरन्तरता दिइरहेको छ। तर अन्तर्राष्ट्रिय प्रतियोगितामा भने इमले सफलता हासिल गर्न सकिरहेको छैनन्। एक दशकको करियरमा उनले आधिकारिक प्रतियोगिताको पदक भने उचाल्ने सौभाग्य पाएनन्। सुस्त गतिमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउँदै छ। तर सफलता भने हात लागेको छैन।

माल्दिभ्समा बुधबारदेखि हुन लागेको तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता आधिकारिक पदक जित्ने उत्कृष्ट अवसर भएको इम बताउँछन्। इमले भने, 'घरेलु प्रतियोगितामा नम्बर एक भए पनि आधिकारिक अन्तर्राष्ट्रिय पदक जित्न नसक्दा दुख लाग्छ। जब अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कुरा आउँछ। हामी खुसी हुन्छौं, आधिकारिक पदक जित्ने मौका आयो भनेर।'

राष्ट्रिय टोली तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल खेल्न सोमबार माल्दिभ्स जाँदै छ। ३० वर्षे कप्तान इम टोलीका अनुभवी खेलाडी हुन्। उनले २०१० को ११औं दक्षिण एसियाली खेलकुद र यसै वर्ष भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा सहभागी थिए। इमपछि टोलीका स्पाइकरद्वय कुलबहादुर थापा र उपकप्तान महेन्द्र श्रेष्ठ अनुभवी हुन्। उनीहरू दुवैले १२औं साग खेलेका थिए।

इम तेस्रो संस्करण नेपालका लागि अहिलेसम्मकै उत्कृष्ट अवसर भएको बताउँछन्। उनले भने, 'चार टोलीले मात्र भाग लिने भएकाले पदक जित्ने सम्भावना बढी छ। हामीले प्रतियोगिता खेल्न लागेको किर्गिस्तानसँग खेल्दा एक सेट जितेको छौं। माल्दिभ्सलाई हराएका पनि छौं। यी दुई खेलले पनि हामीले सफलता हासिल गर्ने सम्भावना बढ्दो छ भन्ने देखाउँछ।'

एसियन भलिबल महासंघले स्तरअनुसारका टोलीबीचको प्रतिस्पर्धा गराउन सेन्ट्रल जोन भलिबल अवधारणा अघि सारेको हो। दक्षिण एसियाका  भारत, श्रीलंका र पाकिस्तानजस्ता बलिया टोलीले सेन्ट्रल जोन भलिबल खेल्दैनन्।

चैत ९ देखि माल्दिभ्समा हुन लागेको सेन्ट्रल जोनको तेस्रो संस्करणमा चार टोलीले भाग लिएका छन्। प्रतियोगितामा नेपालसहित आयोजक माल्दिभ्स, तुर्कमेनिस्तान र किर्गिस्तानले खेल्नेछन्। प्रतियोगिता राउन्डरोबिन लिगको आधारमा हुनेछ। लिगको शीर्ष टोली फाइनल पुग्नेछ। दोस्रो र तेस्रोबीचको विजेताले फाइनल खेल्ने अवसर पाउँछ।

इमजस्तै राष्ट्रिय टोलीका प्रशिक्षक वीरेन्द्र चौधरी र जगदीश भट्ट पनि माल्दिभ्स यात्रालाई उपलब्धिमूलक बनाउने लक्ष्यमा छन्। प्रशिक्षक भट्ट दोस्रो पटक सेन्ट्रल जोन प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षकका रूपमा सहभागी हँुदै छन्। उनी प्रतियोगिता नेपालको स्तर बढाउने अवसर भएको बताउँछन्। उनले भने, 'हाम्रा लागि प्रतियोगिता दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदभन्दा महत्वपूर्ण छ। सेन्ट्रल जोन एउटै स्तरका टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो। यस्ता प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउँछ। तयारी राम्रो भएको छ। हाम्रो लक्ष्य पदक जित्ने हो।'

प्रतियोगिताको तयारी नेपालले फागुन १० देखि बन्द प्रशिक्षण गरेर सुरु गरेको थियो। आर्मीको लगनखेलस्थित कभर्डहलमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि नेपाल भलिबल संघले बोलाएको थियो। एक साताअघि छानिएको टोलीमा चार नयाँ खेलाडीलाई समावेश गरिएको छ।

दुर्गा महतो, दिल सुनार, राजकुमार निरौला र हरि थापाले पहिलोपल्ट राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर पाइसकेका छन्। टोलीमा इमपछि उपकप्तान महेन्द्र श्रेष्ठ र कुलबहादुर थापा अनुभवी खेलाडी हुन्। इमपछि महेन्द्र र कुलबहादुरसँग साग र अन्य अन्तर्राष्ट्रिय बिच खेलेको अनुभव छ। महेन्द्र भन्छन्, 'स्तर पहिलाको भन्दा राम्रो भएको छ। तर त्यसलाई प्रमाणित गर्न हामी च्याम्पियन हुनुपर्छ। टिम मिश्रित छ। समन्वय मिलेको छ। यसले च्याम्पियन हुने सम्भावना बढाएको छ।'

चैतको १७ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल चैत १० गते

तुर्कमेनिस्तानसँग खेल्नेछ भने ११ गते आयोजक माल्दिभ्स र १४ गते किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। तीन वर्षअघि सुरु भएको सेन्ट्रल जोन भलिबलका दुई संस्करण बंगलादेशको ढाकामा भएका थिए। दुवै पटक नेपाल सेमिफाइनलसम्म पुग्न सकेको थियो।

२०७२ सालमा कपिलकिशोर श्रेष्ठको प्रशिक्षणमा नेपालले प्रतियोगिता खेलेको थियो। सात टोलीले प्रतिस्पर्धा गरेको पहिलो संस्करणमा नेपाल सेमिफाइनलमा तुर्कमेनिस्तानसँग पराजित भएको थियो। पछि तुर्कमेनिस्तान प्रतियोगितामा च्याम्पियन भएको थियो। भट्टको प्रशिक्षणमा नेपालले दोस्रो संस्करण खेल्दा पनि नेपालको यात्रा सेमिफाइनलमा पुगेर टुङ्गिएको थियो। दोस्रो संस्करणमा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रशिक्षक भट्ट विगतको भन्दा नेपालको स्तर बढेको दाबी गर्छन्। भट्टले भने, 'गत वर्ष ब्लक र रिसिभका कारण हामी चुकेको थियौं। रिसिभ भएन भने त्यसले स्पाइकमा असर गर्छ। रिसिभले स्पाइकरलाई साथ दिन्छ। अहिले हाम्रो सर्भिस, स्पाइक राम्रो छ। ओपन स्पाइक थप बलियो भएको छ।'

नेपाली भलिबललाई सक्रिय बनाउन संघभन्दा विभागीय टोली र क्लब अगाडि छन्। संघको वार्षिक कार्यक्रमले निरन्तरता पाउँदैन। जिल्लामा  प्रतियोगिता नियमित हुन्छन्। संघ अन्तर्राष्ट्रिय सहभागिता बढाउने प्रयासमा छ। तर सहभागिता औपचारिकतामा मात्र सीमित हुँदै आएको छ। यसै वर्ष महिला टोलीले विश्वकप छनोटजस्तो इतिहासकै उच्चस्तरको प्रतियोगिता खेल्न जाँदा तयारी फितलो थियो। छनोट प्रतियोगिता नगरेरै नेपालको महिला टोली छानियो। १२औं साग खेलेका खेलाडीले विश्वकप छनोट खेलेर आए। राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक कपिलकिशोर श्रेष्ठ संघले योजनाबद्ध प्रशिक्षण राख्न नसक्दा आधिकारिक पदक जित्न असफल भइरहेको बताउँछन्। 'संघले औपचारिकताका लागि मात्र बन्द प्रशिक्षण राख्ने गरेको छ। एक महिनामा तयारी पूरा हँुदैन। अहिले नयाँ खेलाडी उचाइ र क्षमता भएका छन्। तर उनीहरूलाई राष्ट्रिय टोलीसम्म आउने वातावरण नै हामीले बनाउन सकेका छैनौं,' श्रेष्ठले भने, 'एक महिनाको प्रशिक्षण राख्दा नयाँ खेलाडीले कसरी अवसर पाउँछन्। छोटो प्रशिक्षण राख्नु भनेको जे छ त्यसमै काम चलाउने हो। सेन्ट्रल जोन हाम्रा लागि महत्वपूर्ण प्रतियोगिता हो। तर फितलो तयारीले हामी सफलता हात पार्न सक्दैनौं।'

नेपाली टिम :  इम रानामगर (कप्तान), महेन्द्र श्रेष्ठ (उपकप्तान), कुलबहादुर थापा, ईश्वर थापा, नरेन्द्र गिरी, भैरव बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, दुर्गा महतो, दिल सुनार, राजकुमार निरौला र हरि थापा।

 

 

प्रकाशित: ६ चैत्र २०७३ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App